फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा आज परम्परागत गाईजात्रा पर्व मनाइँदै

(GMT+08:00) 2020-08-04 18:30:39

भाद्र कृष्ण प्रतिपदाका दिन मङ्गलबार नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ। काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ। कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ। भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ।

सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ। सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ। विगतमा बालकको सहभागिता अधिक हुने गरे पनि यस वर्ष बालकलाई सहभागी गराउन समस्या भएको गोरखापत्र अनलाइनले खबर लेखेको छ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले आफ्नै टोल छरछिमेकमा पर्व मनाउँदै संस्कृति संरक्षण गर्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले होशियारीपूर्वक पर्व मनाउन आग्रह गरिएको बताउनुभयो।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ । जात्रा परिक्रमा गर्दा गराउँदा मल्लको तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने चलन छ।

जानकारी तथा लेखहरु