फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैदेशिक रोजगारीमा ३२ लाख १० हजार ८ सय ४८ जना नेपाली नागरिक

(GMT+08:00) 2020-08-05 17:33:27

भारतमा ६ महिनाभन्दा बढी समय रोजगारी गर्ने नेपालीसहित विश्वभर वैदेशिक रोजगारीमा ३२ लाख १० हजार ८ सय ४८ जना नेपाली नागरिक रहेको सरकारी तथ्यांकले देखाएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीको यकिन तथ्यांक सरकारसँग थिएन।विश्वभर ११३ वटा मुलुकमा सरकारी निकायमार्फत गरिएको औपचारिक सर्वेक्षणबाट यो तथ्यांक प्राप्त भएको राष्ट्रिय योजना आयोगले जनाएको छ।

अहिले राष्ट्रिय योजना आयोगले कोरोनापछि वैदेशिकसहित समग्र रोजगारीमा परेको प्रभाव र अर्कोतर्फ कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे दुई छुट्टाछुट्टै अध्ययन गरिरहेको छ। यी अध्ययनको काम अब प्रतिवेदन लेखनको क्रममा रहेको बताइएको छ। 'वैदेशिक रोजगारी र स्वदेशमा रोजगारी सिर्जनाका अवसरबारे गरिएको प्रतिवेदन तयार भइसकेको छ, अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी प्रतिवेदन भने अन्तिम चरणमा छ,' आयोगका सदस्य डा. रामकुमार फुयाँलले भन्नुभयो। आयोगले यो प्रतिवेदन सीसीएमसीमा बुझाउनेछ।

विकास समस्या समाधान समितिको बैठकमा समेत यी दुवै प्रतिवेदन पेश हुनेछन्। आयोगले यो प्रतिवेदन बुझाएसँगै अब वैदेशिक रोजगारीमा रहने नेपालीबारे आधिकारिक तथ्यांक प्राप्त हुनेछ। अनलाइनखबरका अनुसार रोजगारीका सिलसिलामा न्यूनतम ६ महिना पनि भारतमा नबस्ने नागरिकलाई भने वैदेशिक रोजगारीका रुपमा गणना गर्न तथ्यांक नपुगेको बताइएको छ। भारतमा औपचारिक माध्यमबाट गएका र ६ महिनाभन्दा बढी समय रोजगारी गरेका नेपाली नागरिकलाई यो संख्यामा गणना गरिएको छ। उनीहरुसमेत जोड्दा वैदेशिक रोजगारीमा ३२ लाख संख्या भेटिएको हो।

योजना आयोगले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीबाट तत्काल ३ लाख नागरिक फर्कने देखिएको छ । तर, एक वर्षभरमा भने ६ लाखसम्म नेपाली घर फर्कने देखिएको छ। यसरी फर्कनेहरुमा ७० प्रतिशत नेपाली जागिरको सिलसिलामा पुगेका हुन् । ३० प्रतिशत भने अध्ययन तथा अन्य प्रयोजनमा गएका नेपालीले फर्कने चाहना देखाएका छन् । आयोगका अनुसार कामदार आफ्नै कारणले जागिर छाड्ने, कम्पनी बन्द भएर फर्कने संख्या सोचेजतस्तो धेरै नदेखिएको आयोगको निष्कर्ष छ।

अध्ययन अनुसार कोरोना भाइरसका कारण वैदेशिक रोजगारी र रेमिट्यान्समा सबैभन्दा बढी प्रभाव चैत र वैशाखमा देखियो। जेठमा वर्षकै सर्वाधिक ९४ अर्ब रुपैयाँ रेमिट्यान्स आएबाट क्रमशः रेमिट्यान्स सुधारको बाटोमा देखिएको छ। यसले आगामी दिनमा अझ सकारात्मक नतिजा आउने देखिएको छ ।

आयोगले मुलुकभित्र एक वर्षमा कम्तिमा १० लाख रोजगारी सिर्जनाको उपायसमेत सरकारलाई सुझाउँदैछ। यो अध्ययनमा आयोगको निष्कर्ष रोजगारीको क्षेत्र सोचेजस्तो भयावह छैन भन्ने देखिएको छ।

जानकारी तथा लेखहरु