फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्कका माध्यमबाट क्षेत्रीय सहयोग तीव्र बनाउन सकिने अर्थमन्त्रीको भनाइ

(GMT+08:00) 2020-08-08 16:28:50

अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन सकिने बताउनुभएको छ। त्यसका लागि समान भाषा र संस्कृति भएका नेपाल, भारत, बङ्गलादेश र भुटान बीचको उपक्षेत्रीय एकाइ महत्वपूर्ण हुनसक्ने पनि उल्लेख गर्नुभयो।

नेपालमा आफ्नो सात वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले अर्थमन्त्रीसँग शुक्रबार गर्नुभएको बिदाइ भेटमा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकाले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।

मन्त्री खतिवडाले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइँ सराइ, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापनजस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्रीले कोभिड–१९ ले ल्याएको चुनौती र अवसरलाई ध्यानमा राखी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आह्वान गर्नुभयो।

नेपाल र बङ्गलादेश बीच द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा सहकार्य भइरहेको र प्राकृतिक, मानव संसाधनलगायत स्रोतबाट दुवै देश सम्पन्न भएकाले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गर्नुभएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।

नेपाल र बङ्गलादेशले अति कम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै अर्थमन्त्री खतिवडाले बङ्गलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो। उहाँले नेपालले पनि धेरै विषयलाई आत्मसात गरी आर्थिक विकासको गति अघि बढाइरहेको जानकारी दिनुभयो।

लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोबाइल बैङ्किङको विस्तारमा नेपालले बङ्गलादेशबाट धेरै सिकेको उल्लेख गर्दै राजदूत साम्सको नेपालको कार्यकाल सफल रहेकामा खुसी व्यक्त गर्नुभयो।

राजदूत साम्सले बङ्गलादेश र नेपाल क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानीलगायत क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारका माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताउनुभयो । वातावरणीय संवेदनशीलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा संवादजस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै राजदूत साम्सले नेपाल–बङ्गलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु