फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका कोरोना उपचार दर विकसित मुलुकभन्दा बढी, ७२ प्रतिशत निको

(GMT+08:00) 2020-08-09 19:08:05

राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्।

मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। संक्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ। केहीअघिसम्म निको हुनेभन्दा संक्रमित बढी थिए।

असार १ गते १ हजार ४१ संक्रमित निको भई डिस्चार्ज भएका थिए। त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो। असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना संक्रमणपछि डिस्चार्ज भएका थिए। जब कि त्यस दिनसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ८९ थियो।

कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना संक्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउनुभयो।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीका अनुसार असार २८ देखि सक्रिय संक्रमितभन्दा निको हुने दर बढेको हो। पीसीआर जाँचमा पोजेटिभ देखिएको र पोजेटिभ नै रहेको (निको नभइसको) अवस्थालाई सक्रिय केस भनिन्छ।

अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार संक्रमितको संख्या वृद्धिपछि स्वास्थ्य मन्त्रालयले उपचारका लागि होम आइसोलेसनलाई प्राथमिकतामा राखेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणको कुनै लक्षण वा चिह्न नभएका (एसिम्टोमेटिक) र सामान्य लक्षण भएका तथा चिह्न भएका (माइल्ड) व्यक्तिहरू आआफ्नै घरमा आइसोलेसनमा बस्न सक्नेछन्। घरको आइसोलेसनमा बस्न मञ्जुरीनामा दिनुपर्ने मापदण्ड छ। संक्रमित आफ्नै घरमा बस्न चाहेमा स्वयंले पालन गर्नुपर्ने पक्षबारे अनूसूची तयार पारिएको छ। पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा संक्रमित बस्नु पर्नेछ। उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक पर्ने सामानहरू परिवारका सदस्यबाट मगाउने गर्नुपर्छ।

खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खाना खाने गर्नुपर्छ। आफूले प्रयोग गरेका भाँडा सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्ने गर्नुपर्छ। स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्छ।

जानकारी तथा लेखहरु