फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग प्रदान

(GMT+08:00) 2020-08-13 16:55:32

कोरोना महामारीका समयमा चीनको तिब्बत स्वायत प्रदेशको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ। स्थानीय मितेरी पुलमा हिजो बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको नेपाल समाज अनलाइनले लेखेको छ।

नेपालसँग सीमा जोडिएको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पिपिइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई हजार थान पञ्जा सहयोग गरेको हो। त्यस्तै आइसोलेसन मास्क दुई हजार थान तथा एन नाइन्टीफाइफ मास्क र मेडिकल मास्क पनि पाँच हजार थान दिइएको छ।

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार थान र पिसिआर रिएजेन्ट दुई हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो। जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेका अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै प्रजिअ ढकालले यो अहिलेसम्म नेलम काउन्टीले गरेकोमध्येकै ठूलो सहयोग भएको उल्लेख गर्नुभयो।

नेलम काउन्टीका समकक्षीसँग आफुले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यति धेरै संख्यामा प्राप्त पिपिइ सेट तथा स्वास संकलन गर्ने सामग्री र पिसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठुलो राहत मिलेको ढकालले बताउनुभयो। यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो। प्रजिअ ढकालका अनुसार तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बत, नेलम भन्सार कार्यालयका उपनिर्देशक साङ पुमार्फत सो सामग्री बुझेका हुन्। मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र निर्मलीकरण गर्न एकदुई दिन लाग्नेछ। त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको भण्डारमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा जिल्लामा आवश्यक परेका ठाउँमा तुरुन्तै परिचालन गरिनेछ।

जानकारी तथा लेखहरु