फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन व्यापारमा पहिरो र कोभिड-१९को अवरोध

(GMT+08:00) 2020-08-14 16:02:35

पहिरो र नेपालमा फैलिएको कोरोनाका कारण नेपाल-चीन व्यापार ठप्प भएको छ। चीनबाट नेपालले वस्तु तथा खाद्यन्न आयात गर्ने प्रमुख दुई नाका तातोपानी र रसुवागढी पहिरोका कारण ठप्प रहेको त्यहाँस्थित भन्सार कार्यालयहरुले जनाएका अनलाइन खबरले लेखेको छ।

चीनतर्फको हिमताल फुट्ने जोखिम र विभिन्न ठाउँमा गएको पहिरोका कारण तोतापानी नाकाबाट एक महिनादेखि खाद्यन्न र लत्ताकपडा आयात नभएको भन्सार कार्यालय तातोपानीले जनाएको छ। पहिरोले बाटो अबरुद्ध भएको र चीनतर्फको हिमताल फुट्ने जोखिमका कारण सवारी साधन नपठाइएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो। 'केही अत्यावश्यक औषधि स्वास्थ्य सामाग्री आएको भएपनि खाद्य वस्तु र अन्य सामग्री आयात भएको छैन,' खत्रीले भन्नुभयो।

यस्तै रसुवागढी नाकाबाट पनि दुई देशबीचमा व्यापार साता दिनदेखि अवरुद्ध रहेको रसुवागढी भन्सार कार्यालयलले जनाएको छ। दुई देशबीचको व्यापारमा कोभिड र पहिरोको अबरोध रहेको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताउनुभयो।'नाका खुले देखिनै नेपालको कोभिड संक्रमणलाई कारण देखाएर व्यापारमा उलेख्य प्रगति थिएन, अहिले त पहिरोको अबरोध छ,' खड्काले भन्नुभयो।

प्राकृतिक कारण र कोभिडलाई बहाना बनाएर चीनतर्फको व्यापारमा अवरोध हुँदा आफूहरु डुब्ने अवस्थामा पुगेको व्यावसायीहरुले बताएका छन्। नेपालमा कोभिड भएको भन्दै भन्सार जाँच पास र सवारी साधन सञ्चालनमा चीनले लिएको नीतिले ८ महिनादेखि १४ सय कन्टेनर चीनतर्फ अडि्कएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। 'गार्मेन्ट, विद्युतीय सामाग्री, लगायतका कन्टेनर अडि्कएको छ, व्यवसायीको अर्बौंको सम्पत्ति फसेको छ,' संघका अध्यक्ष बच्चु पौडेलले भन्नुभयो।

नाकाको व्यापार सहजताकालागि परराष्ट्र मन्त्रालय, भन्सार विभाग लगायतका सरकारी निकाय तथा नेपालस्थित चिनियाँ दूतावासमा जानकारी गराइएपनि समस्या समाधान नभएको अध्यक्ष पौडेलले बताउनुभयो। 'कतैबाट सहयोग पाइएको छैन, व्यवसायीहरु फस्ने अवस्थामा पुग्यौं,' उहाँले भन्नुभयो।

दुई देशबीचको व्यपार सहजीकरणमा नेपाल पक्षले गरेको स्थानीय छलफलमा कोभिड-१९ लाई चिनियाँहरुले मुख्य समस्या मानेको भन्सारका अधिकारी तथा व्यवसायीहरु बताउँछन्। नाकामा व्यापार बढाउन चीनतर्फबाट धेरै सावारी साधन पठाउन आग्रह गरिए पनि चिनियाँ पक्षले अस्वीकार गरेको भन्सारका एक अधिकारीले बताए।

खुलेको बेला दिनमा जम्मा दुई तीनवटा गाडी मात्रै चीनबाट मितेरी पुलसम्म आउने गरेको र त्यसले गर्दा पुरानो कन्टेनरको सामान भित्रिन मात्रै पनि महिनौँ लाग्ने ती अधिकारीले बताए। खुलेको बेला थप सवारी साधनमार्फत ढुवानी सेवा दिन चिनियाँ पक्षले नमानेको उनको भनाइ छ।

व्यापार सहज हुने वातावरणका लागि केरुङ प्रशासनमा गरिएको अनुरोध अस्वीकार भएको सीमापार वाणिज्य संघले जनाएको छ। नेपालमा कोभिड-१९ फैलिएको बेला बढाइएने गतिविधिले चीनमा समस्या उत्पन्न हुने भन्दै चिनियाँहरुले अटेर गरेको संघका एक अधिकारीले बताए। 'व्यापार गर्न नेपालतर्फ नै समस्या छ, हामी अहिले जोखिम लिन्नौं,' केरुङस्थित चिनियाँ अधिकारीको भनाइ उदृत गर्दै एक व्यवसायीले भने।

दुई देशबीचको व्यापार सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले चीनसँग आग्रह गर्ने भएको छ। बुधबार दुई देशबीचको परराष्ट्र सचिव तहमा छलफल हुन भएको र त्यसमा व्यापार अवरोधको मुद्दा पनि प्राथमिकतामा रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

नेपालले व्यापार सहजीकरणका लागि चिनियाँ अधिकारीसँग छलफल गर्ने एक अधिकारीले भने। वाणिज्य व्यापारमा भएको अवरोधबारे परराष्ट्रलाई अवगत गराइएको वाणिज्य मन्त्रालयले जनाएको छ।

जानकारी तथा लेखहरु