फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चार वर्षमा २३ प्रतिशत बढ्यो नेपालीहरुको विद्युत्‌मा पहुँच

(GMT+08:00) 2020-08-16 16:48:41

नेपाल विद्युत् प्राधिकरणले चार वर्षमा २३.२८ प्रतिशत घरधुरीमा विद्युत् विस्तार गरेको छ। आर्थिक वर्ष २०७२/७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युत्को पहुँच पुगेको थियो। प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हालेसँगै विद्युत्को पहुँच पुग्ने घरधुरी संख्या ह्वात्तै बढेको नागरिक अनलाइनले लेखेको छ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्म देशभरमा ८६.४४ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। प्राधिकरणका अनुसार आव २०७२/७३ मा ६२.१६ प्रतिशत, आव २०७३/७४ मा ६७.१४ प्रतिशत, ०७४/७५ मा ७३.४० प्रतिशत, २०७५/७६ मा ७७.८२ प्रतिशत र ०७६/७७ मा ८६.४४ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अबको साढे दुई वर्षभित्र सम्पूर्ण नेपाली जनताको घरघरमा बिजुली पुर्‍याइने बताउनु भएको छ। 'चार वर्ष अघिसम्म ६२.१६ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको थियो। अहिले ८६.४४ प्रतिशत घरधुरीमा पुगेको छ,' उहाँले भन्नुभयो, 'चार वर्षको अवधिमा झण्डै एक चौथाइ घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउन सफल भएका छौं।'

प्राधिकरणले आगामी साढे दुई वर्षभित्र हरेक नेपाली जनताको घरमा बिजुलीको पहुँच पुर्‍याउने महत्वाकांक्षी योजना अघि सारेको छ। एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋणमार्फत विद्युतीकरण गर्ने योजना अघि बढाइएको छ। विकास र पूर्वाधारको हिसाबले सबैभन्दा पछाडि रहेको कर्णाली प्रदेशका अधिकांश जनता अझै पनि अँध्यारोमा नै बस्न बाध्य छन्।

प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमार्फत कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत घरधुरीमा मात्रै बिजुलीको पहुँच पुगेको छ। सरकारले बिजुलीको पहुँच नपुगेको क्षेत्रमा विद्युत्का अन्य माध्यमद्वारा विद्युतीकरण गर्दै आएको छ। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बिजुली प्रदेश दुईका घरधुरीमा पुगेको छ। प्रदेश २ मा राष्ट्रिय प्रसारण लाइनमार्फत ९९.०५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ। सरकारले राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली पुग्न नसकेका स्थानमा ऊर्जाका वैकल्पिक स्रोतमार्फत विद्युतीकरण गर्दै आएको दाबी गरेको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत, वायुऊर्जा लगायतमार्फत जनताको घरदैलोमा बिजुली पुर्‍याउँदै आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांक अनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ। सरकारले २०७९ भित्र सम्पूर्ण नेपालीको घरदैलोमा बिजुली पुर्‍याउने लक्ष्य राखेको छ।

बागमती प्रदेशमा ९४.४४, गण्डकी प्रदेशमा ९२.७९ र प्रदेश ५ मा ९१ प्रतिशत जनताको घरमा बिजुलीको पहुँच पुगेको छ। प्रदेश १ मा ८२.४३ र सुदूरपश्चिम प्रदेशमा ६४.६९ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ।

जानकारी तथा लेखहरु