फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी तीन दिन नेपालभर वर्षा हुने सम्भावना

(GMT+08:00) 2020-08-16 16:54:23

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आज आइतबार नेपालभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको नयाँ पत्रिका अनलाइनले लेखेको छ। विभागले एक बुलेटिन निकालेर मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव सात डिग्री र सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३५ दशमलव तीन डिग्री सेल्सियस रहेको छ।

जानकारी तथा लेखहरु