फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौं चरणको उद्धार उडान

(GMT+08:00) 2020-08-17 20:13:57
विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज (सोमबार) देखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो ।

सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । भदौ १५ पछि सरकारले नियमित उडान गर्ने जनाइसकेको छ । सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई अनुमति दिइएको छ। यी बाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको कान्तिपुर अनलाइनले जनाएको छ।

दुबईबाट ८ वटा, दोहाबाट ७, क्लालालम्पुरबाट ६, दम्माम र अबुधाबीबाट ५–५, कुवेतबाट ३, रियाद र सारजाहाबाट २–२ र अमेरिका, जापान, जेद्दा, कोरिया र अस्ट्रेलियाबाट १–१ गरी ४३ वटा उडान हुनेछन् । हाल तोकिएका १२ वटा गन्तव्यबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहने नेपालीलाई पनि यिनै उडानबाट स्वदेश फर्किन खुला गरिएको छ । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ। सीसीएमसीका एक सहसचिवका अनुसार नेपाली दूतावासहरूमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेको भन्दै नाम टिपाएका छन् ।

जानकारी तथा लेखहरु