फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल विद्युत प्राधिकरणको गत आर्थिक वर्षको नाफा ११ अर्ब ६ करोड

(GMT+08:00) 2020-08-17 20:14:24
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो। सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो।

आर्थिक वर्ष २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर घटाएर गत आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो। आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आर्थिक वर्ष २०७३/०७४ मा एक अर्व ४७ करोड, आर्थिक वर्ष २०७४/०७५मा २ अर्व ८५ करोड, आर्थिक वर्ष २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो। प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ।

अनलाइनखबरका अनुसार प्रणालीमा रहेको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०७२/०७३मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर घटाएर अहिले १५.२७ प्रतिशतमा झारेको हो। चुहावटलाई आर्थिक वर्ष २०७३/७४मा २२.९, २०७४/७५ मा २०.४५, २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो। चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्रणालीको कूल चुहावटलाई १० प्रतिशतभन्दा पनि तल लग्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।

यसैगरी गत आर्थिक वर्षमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ।

आर्थिक वर्ष २०७२/७३ मा वाषिर्क विद्युत खपत ३ अर्व ७१ करोड ५८ लाख युनिट थियो। अघिल्लो वर्षभन्दा अर्थात् आर्थिक वर्ष २०७१/७२ भन्दा पनि त्यो वर्ष विद्युत उपयोग करिव ०.७ प्रतिशतले कमी भएको थियो। यसरी प्रतिव्यक्ति वाषिर्क विद्युत खपत १३१ युनिट मात्र थियो । तर, त्यस यता विद्युत खपत लगातार बढेको छ। आर्थिक वर्ष २०७३/७४ को कूल विद्युत खपत ४ अर्व ७७ करोड ३८ लाख युनिट, आर्थिक वर्ष २०७४/७५ मा ५ अर्व ५५ करोड ७३ लाख युनिट, आर्थिक वर्ष २०७५/७६ मा कूल खपत ६ अर्व ३३ करोड ८१ लाख र आर्थिक वर्ष २०७६/७७ को कूल खपत ६ अर्व ५२ करोड ८७ लाख युनिट पुगेको छ । यसरी हाल प्रति व्यक्ति प्रति वर्ष विद्युत खपत करिव दुई सय ४५ युनिट पुगेको छ ।

कार्यकारी निर्देशक घिसिङले समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनर्संरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामूलक बनाउन कटिबद्ध रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु