फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै

(GMT+08:00) 2020-08-22 20:35:17
नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ। देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुँदै गएको हो। सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन। शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुई सय सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताउनुभयो। योसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ। तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार १३२ रहेको गोरखापत्र अनलाइनमा खबर छ।

सङ्क्रमितको तुलनामा दैनिक निको हुनेको सङ्ख्या भने कम छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १८ हजार २१४ पुगेको छ। देशभरका क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् भने होम क्वारेन्टाइनमा मात्रै तीन हजार ५८६ जना छन्। मन्त्रालयका अनुसार यस्तै पछिल्लो समय काठमडौँमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

जानकारी तथा लेखहरु