फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पनि मानिसलाई लगाएर कोरोना खोपको परीक्षण सुरु गरिँदै

(GMT+08:00) 2020-08-25 18:51:02

विभिन्न देशमा बनेका कोरोना भाइरसविरुद्धका खोप नेपालमा पनि मानिसलाई लगाएर परीक्षण सुरु गर्न लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वमा अहिलेसम्म बनेकामध्ये तेस्रो चरणको परीक्षणमा पुगेका खोप नेपालका नागरिकमा पनि परीक्षण गर्न लागिएको नेपाल खबर अनलाइनले लेखेको छ।

सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्ध बनेका भ्याक्सिनको ट्रायल नेपालमा पनि सुरु गर्न लागिएको जानकारी दिनु भएको हो।'नेपालमा पनि भ्याक्सिनको ट्रायल सुरु गर्न लागिएको छ,' डा. गौतमले भन्नुभयो, 'रेमडेसिभिर औषधि पनि ट्रायलका रूपमा प्रयोग सुरु गरिएको छ। कन्भालेसेन्ट प्लाज्मा पनि ट्रायलका रूपमा प्रयोग गरिएको छ।'

कतिपयले कोरोना खोपको परीक्षण नेपालमा गर्न हुँदैन भनेर भ्रम छरिरहेको भन्दै त्यस्तो अफवाह नफैलाउन तथा नपत्याउन पनि उहाँले सचेत गराउनुभयो। डा. गौतमले भन्नुभयो, 'नेपालमा भ्याक्सिनको ट्रायल गर्न हुँदैन भन्ने खालका कुरा पनि उठिरहेका छन्। यो चाहिँ नेपाल स्वास्थ्य अनुसन्धान परिषदको गाइडलाइनअनुसार विश्वव्यापी मान्यताका आधारमा स्वतःस्फूर्तरूपमा अध्ययनमा, रिसर्चमा, ट्रायलमा सामेल हुन चाहनेहरूलाई मात्र समावेश गरिने हुनाले यसमा भ्रम नपाल्न र भ्रम नछर्नसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्छ।'

यस विषयमा थप स्पष्ट हुन नेपालखबरले मंगलबार बिहान स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग जिज्ञासा राख्दा उहाँले विश्वमा विकास गरिएका खोपमध्ये तेस्रो चरणको परीक्षणमा पुगेका खोप नेपालमा पनि परीक्षण गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

'सुरुमा चीनको होङ्सी कम्पनीले खोप उपलब्ध गराउने जानकारी आएको छ,' डा. अधिकारीले भन्नुभयो, 'जति पनि तेस्रो चरणको परीक्षणमा पुगेका छन्, ती खोप नेपालमा पनि परीक्षणका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई निर्देशन दिइसकेको छ।'उहाँका अनुसार नेपालमा कोरोनाविरुद्ध खोपको परीक्षणका लागि आवश्यक प्रक्रियाको तयारी परिषदले गरिरहेको छ।

जानकारी तथा लेखहरु