फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधारको बाटोमा नेपालको वैदेशिक व्यापार

(GMT+08:00) 2020-08-27 16:46:26

चालु आर्थिक वर्ष (२०७७-७८) को पहिलो महिनामा नेपालको आयात २० प्रतिशतले घटेको छ भने निर्यात ९ प्रतिशतले बढ्दा व्यापारघाटामा समेत २२ प्रतिशतले कमी आएको छ। वैदेशिक व्यापारमा लामो समयदेखि व्यापारघाटा पेचिलो बन्दै आए पनि पछिल्लो एक वर्ष सुधारोन्मुख दिशामा देखिएको कारोबार अनलाइनले लेखेको छ।

कोरोनाभाइरस संक्रमणका कारणले अत्यावश्यकबाहेक अन्य वस्तुको आयात नभएपछि चालू आर्थिक वर्षको पहिलो महिना साउनमा आयात घटेको हो। कोरोना महामारीबाट सिर्जित परिस्थितिका कारणले छिमेकी मुलुक भारत, चीनलगायत अन्य तेस्रो मुलुकबाट वस्तु तथा सेवाको आयात कम हुँदै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार साउनमा आयात १९.६० प्रतिशतले घटेर ८५ अर्ब ८० करोड ७९ लाख ८९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा १ खर्ब ६७ अर्ब २५ करोड ३८ हजार रुपैयाँको आयात भएको थियो। मुलुकमा बढी आयात हुने पेट्रोलियम पदार्थ, सवारी साधन लगायतका सामानको आयात नै कम भएको छ। एक महिनामै मात्र साढे ८२ अर्ब बराबरको आयात कम भएको विभागले जनाएको छ। विभागका अनुसार यो अवधिमा निर्यात भने ८.८६ प्रतिशतले बढेर ९ अर्ब ६२ करोड ४९ हजार रुपैयाँ पुगेको छ। गत वर्ष ८ अर्ब ८३ करोडको वस्तु निर्यात भएको थियो।

भारतबाट ५६ अर्ब ३९ करोड २७ लाख १६ हजार रुपैयाँको आयात भएकोमा ६ अर्ब ३१ करोड ७९ लाख ८१ हजार रुपैयाँको सामान निर्यात भएको छ। यस्तै चीनबाट ११ अर्ब १७ करोड ९९ लाख ८ हजार रुपैयाँको सामान आयात भएकोमा ५६ करोड १० हजार रुपैयाँको निर्यात भएको छ।

मुलुकमा सवैभन्दा धेरै मूल्यको इन्धन, सवारी साधन, उपकरण, सुनचाँदी आयात हुने गरेको थियो। पछिल्लो महिना इन्धनको समेत आयात घटेको छ भने सवारी साधन, उपकरण, सुनचाँदीलगायतको आयात पनि धेरै घटेको छ। इन्धनको आयात घटेर एक महिनामा ८ अर्ब रुपैयाँ ४० करोडमा झरेको विभागको तथ्यांक छ। कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्रण गर्नका लागि सवारी साधानमा जोरबिजोर गर्दा इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ। छिमेकी मुलुक भारतसँगै नेपालको व्यापारको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ। मुलुकमा आयात र निर्यात भारतबाटै सवैभन्दा धेरै हुने गर्छ।

साउनमा व्यापारघाटा २२ प्रतिशतले घटेको विभागको तथ्यांक छ। गत वर्ष ९७ अर्ब ८८ करोड ८२ लाख ३२ हजार रुपैयाँको व्यापार घाटा रहेकोमा यस वर्ष साउनमा ७६ अर्ब १८ करोड ७९ लाख ४० हजार रुपैयाँ रहेको विभागको तथ्यांक छ। आयातबाट २१ अर्ब ८७ करोड ६० लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ। गत वर्ष सोही अवधिमा २६ अर्ब ५२ करोड ७६ लाख ६६ हजार राजस्व संकलन भएको थियो। विभागका अनुसार, एक महिनामा भन्सारबाट आउने राजस्व ४ अर्ब ६५ करोड बराबर घटेको छ, जुन झण्डै साढे १७ प्रतिशत हो।

जानकारी तथा लेखहरु