फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशद्वारा नेपाललाई दियो ५ हजार डोज कोरोना औषधि प्रदान

(GMT+08:00) 2020-08-28 17:08:16

बंगलादेशले कोरोनाविरुद्ध अहिलेसम्म सबैभन्दा प्रभावकारी मानिएको औषधि रेम्डिसिभिरको ५ हजार डोज नेपाललाई उपलब्ध गराएको छ। बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासमा बिहीबार एक कार्यक्रमबीच सो औषधि हस्तान्तरण गरिएको नेपाल खबर अनलाइनले लेखेको छ। बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले सो औषधि सोमबारसम्म नेपाल आइपुग्ने बताउनुभयो। 'नेपाल सरकारले औषधि सहयोगका लागि बंगलादेशसँग पहल गर्न भनेको थियो। हाम्रो आग्रहलाई स्वीकार गर्दै आज ५ हजार भायल औषधि प्राप्त भएको छ,' राजदूत मिश्रले भन्नुभयो, 'विश्वभर नै यो औषधिको अभाव भइरहेका बेला बंगलादेशबाट प्राप्त यो सहयोग निकै महत्वपूर्ण छ।'

औषधि अभावको कारण नेपालमा औषधि कालोबजारी हुँदै आएको छ। यस क्षेत्रमा भारत र बंगलादेशले यो औषधि उत्पादन गर्ने गरेका छन्। राजदूत मिश्रले सो औषधिलाई स्थलमार्ग हुँदै पठाउने तयारी भइरहेको बताउनुभयो।'हवाई यातायात बन्द छ। त्यसैले औषधि स्थलमार्ग बाटै नेपाल पठाउने योजनामा छौं,' मिश्रले भन्नुभयो, 'यहाँ विभिन्न निकायको सार्वजनिक विदा परेको कारणले अहिले कार्यालय बन्द छ। औषधि ढिलोमा सोमबार नेपाल पुग्नेछ।'

कोरोना संक्रमितलाई रेम्डिसिभिरले सोझै निको पार्ने नभै संक्रमणको अवधि छोट्याउने र बिरामीको अवस्थालाई सहज बनाउन सहयोग गर्छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले यसमाथि लामो अनुसन्धान गर्दा यो औषधिको प्रयोगबाट कोरोना संक्रमितको अवस्थामा सुधार गर्न सहयोग पुगेको पाइएपछि यसको प्रयोग गर्न सुरु गरिएको हो। गम्भीर अवस्थामा रहेका संक्रमितलाई चिकित्सकहरुले उनीहरुको अवस्था हेरी ६ देखि ११ डोजसम्म प्रयोग गर्छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले रेम्डिसिभिर औषधिको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ। त्यसैअनुसार औषधि व्यवस्था विभागले अनुसन्धान प्रयोजनका लागि सो औषधि ल्याउनका लागि तीन कम्पनीले अनुमति पाएका छन्। उनीहरुले हालसम्म ७ सय ४८ भायल औषधि मात्रै ल्याउन सफल भएका छन्।

तीन कम्पनीले दुई–दुई हजार डोज औषधि ल्याउन अनुमति पाएपनि अहिलेसम्म दुई कम्पनी मात्रै औषधि ल्याउन सफल भएका छन्।

एक व्यक्तिलाई आवश्यक पर्ने डोजको ४५ सय रुपैया पर्ने यो औषधिको अभावका कारण ४० देखि ६० हजार रुपैयासम्ममा कालोबजारी हुने गरेको छ। परिषद्का अनुसन्धान विभाग प्रमुख मेघनाथ धिमालकाअनुसार अहिलेसम्म अनुसन्धानका लागि २२ वटा अस्पतालले स्वीकृति लिएका छन्।'प्लाज्मा थेरापी र रेम्डिसिभिरको अनुसन्धान गर्नका लागि अनुमति पाएका अस्पतालको संख्या २२ पुगेको छ' उहाँले भन्नुभयो, 'हाललाई परिषदले एक सय जनामा यो औषधि परिक्षण गर्ने तयारी गरेको छ।'

जानकारी तथा लेखहरु