फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण गर्ने पर्यटकको दैनिक खर्च बढ्यो

(GMT+08:00) 2020-08-29 16:36:55

नेपाल भ्रमण गर्ने पर्यटकले गर्ने खर्च बढेको छ। सन् २०१८ को तुलनामा सन् २०१९ मा प्रतिपर्यटक प्रतिदिन खर्च चार डलरले बढेको हो। 'नेपाल टुरिजम स्टाटिस्टिक्स–२०१९' अनुसार सन् २०१८ मा एक पर्यटकले ४४ अमेरिकी डलर खर्च गर्ने गरेकोमा २०१९ मा ४८ अमेरिकी डलर पुगेको कारोबार अनलाइनले लेखेको छ। प्रतिपर्यटक प्रतिदिन खर्च २०१७ मा ५४ अमेरिकी डलर र २०१६ मा ५३ डलर थियो। २००८ मा दैनिक खर्च ७३ डलर समेत पुगेको तथ्यांक छ। सन् २०१५ यता भने पर्यटकले गर्ने खर्च घट्दै गएको देखिन्छ। सो वर्ष यस्तो खर्च ६८.५७ डलर थियो। यसपछिका वर्षमा क्रमशः घट्दै गएको हो।

नेपाल आउने पर्यटकको प्रतिदिन खर्च घट्दै गएको भन्दै चिन्ता प्रकट भइरहेको बेला पछिल्लो प्रतिवेदनले थोरै भए पनि बढेको देखाएको छ। तर, यो सन्तोषजनक भने छैन। भूकम्प र नाकाबन्दीका वर्षमा पर्यटक आउने क्रम घटेको भए पनि विगत १० वर्षमा पर्यटन आगमनमा क्रमशः वृद्धि भएको तथ्यांकले देखाएको छ। पर्यटकअनुसार दैनिक खर्च भने बढेको छैन। पर्यटकका लागि गुणस्तरीय सेवा दिनुमा भन्दा पर्यटन सेवा प्रदायक कम्पनीहरूले प्रतिस्पर्धामा सेवाको मूल्य घटाउने प्रचलनको कारण पर्यटकको खर्च बढाउन, बसाई अबधि लम्ब्याउन नसक्नु र सेवा प्रदायकमा नवीनता र सेवामा गुणस्तर बढाएर मूल्यमा बृद्धि गर्न नसक्नु यसको प्रमुख कारण रहेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख दीपकराज जोशीको भनाइ छ। "यहाँ तथ्याङकको सही संकलन, विश्लेषण र विश्वसनियता हुन नसक्नु पहिलो कारण छ, अर्का भनेको डिजिटल पेमेन्टको प्लेटफर्म बढेर जाँदा राजस्व चुहावट भएको छ," उहाँले भन्नुभयो, "डिजिटलका पेमेन्ट प्लेट्फर्म बढेपछि त्यो रकम नेपाल नभित्रिएको आशंका छ र सोही कारण खर्च घटेको देखिन्छ।" उहाँका अनुसार, पछिल्लो समयमा होटल र पर्यटन सेवा प्रदायक कम्पनी खोल्नेको संख्या र पर्यटक दुवै वृद्धि भएपनि गुणस्तरको अवस्था अझै बढ्न सकेको छैन।

पछिल्लो प्रतिवेदनले भने थोरै भए पनि दैनिक खर्चसँगै बसाइ अवधि र पर्यटनबाट हुने वार्षिक आम्दानी पनि बढेर देखाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको प्रतवेदनमा वार्षिक आम्दानीमा सन् २०१८मा ७० करोड ३१ लाख र सन् २०१९ मा आइपुग्दा ७२ करोड ४३ लाख अमेरिकी डलर रहेको छ। यस्तै, सन् २०१८ मा १२.४ प्रतिपर्यटक औषत बसाइ (दिन) रहेकोमा सन् २०१९मा १२.७ दिन पुगेको छ। पर्यटक संख्या २०१८ मा ११ लाख ७३ हजार रहेकोमा सन् २०१९मा ११ लाख ९७ हजार पुगेको छ।

सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले औसमा १३.४ दिन बस्ने गरेकोमा सन् २०१७ मा आइपुग्दा बसाइ अवधि घटेर १२.६ दिनमा सीमित भएको थियो। यसैगरी सन् २०१८ मा औसतमा १२.४ र सन् २०१९ मा १२.७ दिन पर्यटक नेपाल बसेको तथ्यांक छ। पर्यटकको संख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी भने बढेर गएको छ। सन् २०१७ मा ६५ करोड ८० लाख र सन् २०१८ मा ७० करोड ३१ लाख र सन् २०१९ मा आईपुग्दा ७२ करोड ४३ लाख अमेरीकी डलर रहेको छ। मन्त्रालयले आर्थिक २०७६-७७ मा पर्यटकको बसाई अवधिमा १३ दिन पर्यटक खर्चमा ५६ डलरको लक्ष्य लिएकोमा क्रमश १२.७ दिन र ४८ डलर मात्र प्रगति भएको जनाएको छ।

तथ्यांकअनुसार नेपाल आउने पर्यटक सन् २००७ को तुलनामा सन् २००८ मा ५ प्रतिशतले घटेको थियो। सन् २००९ देखि लगातार यस्तो वृद्धिदर बढेको भएपनि पर्यटकले गर्ने खर्च मार्फत हुने दैनिक आम्दानी भने ओरालो लागेको छ। सन् २००८ मा प्रति पर्यटक ७३ अमेरिकी डलर दैनिक आम्दानी भएको थियो। यसपछिका वर्षहरूमा यस्तो आम्दानी घट्दै गएर सन् २०१२ मा यो तथ्यांक ३५.६ डलरमा सीमित भएको थियो। सन् २००९ देखि १२ सम्म नेपाल आउने पर्यटक क्रमशः २, १८, २२ र ९ प्रतिशतले बढेको छ। सो अवधिमा प्रतिपर्यटक दैनिक आम्दानी भने ७३ डलरबाट ६५, ४३, ३८ हुँदै सन् २०१२ मा ३५ डलरमा सीमित भएको थियो।

जानकारी तथा लेखहरु