फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

(GMT+08:00) 2020-08-30 16:11:21
नेपालमा नयाँ कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो। आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान गरिएको अनलाइन खबरले लेखेको छ।

समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ। उता बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा हुने गरेको छ। तथ्यांक अनुसार संस्थानबाट करिब २ लाखको बीमा गरिएको छ। यी दुवैतिरको जोड्दा विमितको संख्या १० लाख नाघेको हो।

अन्य बीमा कम्पनीहरुबाट गरिएको बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार १ सय ८२ रुपैयाँको बीमा शुल्क आर्जन भएको छ। संस्थानबाट गर्नेहरुको १६ करोड रुपैयाँ हुन आउछ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरुको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो। यस अवधीमा ५ सय ९९ जनाले दावी भुक्तानी लिएका छन्। ५९९ जनाको साढे ५ करोड रुपैयाँ दावी भुक्तानी भएको समितिले जनाएको छ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ। परिवारकै बीमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ।

बीमाको अवधि एक वर्ष हुनेछ। बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुनेछ।

जानकारी तथा लेखहरु