फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालबाट चीन फर्किएका दुई चिनियाँ नागरिकमा कोरोना संक्रमण

(GMT+08:00) 2020-09-09 17:37:43

लामो समय नेपालमा बसेका दुई चिनियाँ नागरिकमा चीन पुग्नेबित्तिकै कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। काठमाडौँबाट उड्नुअघि तीन दिनको म्याद भएको पीसीआर नेगेटिभ रिपोर्ट पेश गरेको भए पनि स्वदेश पुगेको भोलिपल्टै ज्वरो आएपछि गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको नेपाल समाज अनलाइनले लेखेको छ।

काठमाडौँबाट चिनियाँ भाषामा सञ्चालित नेपाल एक्सप्रेस (निपोअर ख्वाइस्यून) ले जनाएअनुसार संक्रमित दुबै पुरुष आइतबार एअर चाइनाको काठमाडौँ छन्तु नियमित उडान सीए४३८ बाट स्वदेश पुगेका थिए। छन्तु पुग्दाको दिन स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिए पनि भोलिपल्ट उनीहरु दुबैलाई ज्वरो आएको थियो। कोरोना पुष्टि भएपछि उनीलाई आइसोलेनमा उपचारको लागि अस्पताल भर्ना गरिसकिएको बताइएको छ।

संक्रमितमध्ये ५४ वर्षीय वाङ्ग मौमौ डेढ वर्षअगाडि काम गर्न र २६ वर्षीय छन मौमौ पर्यटकको रुपमा पाँच महिनाअगाडि मात्रै नेपाल आएका थिए। आइतबार नै छन्तु पुगेका उनीहरुमा सोमबार गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको थियो। स्थानीय सरकारले मंगलबार मात्रै उनीहरुको यात्रा विवरणसहितको जानकारी सार्वजनिक गरेको थियो।

नेपालको पीसीआर परीक्षणको गुणस्तर र रिपार्टमाथि प्रश्न उठाउने ठाउँ भए पनि परीक्षणपछि उनीहरु संक्रमित भएको हुनसक्ने उक्त संचारमाध्यमले जनाएको छ। कारण जे भए पनि नेपालमा कोरोना भाइरसको महामारी डरलाग्दो अवस्थामा रहेको संकेत गर्दै चिनियाँ नागरिकहरुलाई सतर्कता अपनाउन उसले सुझाएको छ। चीनले काठमाडौँ उपत्यकाका स्टार, ह्याम्स र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलका पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भन्दै नेपालबाट चीन जान चाहनेले तीमध्ये कुनै एकमा परीक्षण गराउन कडाइकासाथ निर्देशन दिएको छ।

काठमाडौस्थित चिनियाँ दूताबासले पनि सोमबार कोरोना भाइरसको महामारी नेपालमा यथावत रहेका उल्लेख गर्दै उसका नागरिकलाई नेपाल सरकारले लागू गरेको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्दै सचेत र सुरक्षित रहन चिनियाँ भाषामै फेरि आग्रह गरेको छ।

जानकारी तथा लेखहरु