फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

(GMT+08:00) 2020-09-12 17:24:53

 मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ। मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताउनु भएको कारोकार अनलाइनले लेखेको छ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने 'इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल', आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने 'एड्भान्स ह्यान्ड स्यानिटाइजर', सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने 'इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल' र सूर्यमुखी हर्बल प्रोडक्टको 'सूर्यमुखी ह्यान्ड स्यानिटाइजर' मा विषाक्त मिथानोल रहेको पाइएको हो। ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ।

यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको हो। यो कम्पनीलाई विभागले यसअघि नै बन्द गरिसकेको छ। विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो। परीक्षणका क्रममा विभागले तोकेको 'इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६' विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो।

'हामीले स्यानिटाइजरको मापदण्ड तयार गरेर कम्पनीहरुलाई विभागमा दर्ता गर्न आउन भनेर सूचीकृत गरेका थियौं,' केसीले भन्नुभयो,'केहीले विभागमा दर्ता भएर र केहीले घरेलु तथा साना उद्योग कार्यालयमा भएर उत्पादन गरिरहेका थिए। उत्पादन कस्तो भइरहेको छ भनेर हामीले ल्याबमा परीक्षण गर्दा आधा मापदण्डविपरफत भएको पायौं।' असोजभित्र सबै औषधि उद्योगहरुलाई मापदण्डमा ल्याइसक्ने उहाँले बताउनुभयो।

विभागले तोकेको मापदण्डमा स्यानिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइन्न। केसीले भन्नुभयो,'हामीले इथानोल प्रयोग गर्न भनेका थियौं तर मिथानोल प्रयोग भएको पाइयो। '

क्षणिक नाफाका लागि उद्योगहरुले मिथानोल प्रयोग गरेको स्यानिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने विभागले जनाएको छ। कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले बताएको छ। ती उद्योगहरुलाई औषधि ऐन, उपभोक्ता हित संरक्षणा ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत कारबाही गरिने केसीले बताउनुभयो।

ह्यान्ड स्यानिटाइजर उत्पादन गर्न चाहिने इथानोल खरिदका लागि विभागले सिफारिस दिने गरेको छ। यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको पाइएको थियो।

जानकारी तथा लेखहरु