फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा विमानस्थल आयोजना समयमै सकिने नेपालका पर्यटन मन्त्रीको भनाइ

(GMT+08:00) 2020-09-13 17:19:04

नेपालका पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना तोकिएकै समयभित्र सकिने बताउनु भएको छ। कोरोना भाइरसका महामारीका बाबजुद् आयोजनाको काम २०२१ जुनभित्रै सकिने उहाँले बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

'हाम्रो लक्ष्य २०२१ को जुनमा सकिने हो, अहिलेको कामको प्रगतिले त्यहाँभन्दा उता जाने अवस्था छैन', उहाँले भन्नुभयो, 'कोरोना लाग्नुअघि २०२० कै डिसेम्बरमै सकिन्छ भन्ने अनुमान थियो, प्रगति त्यही अनुसार थियो।'कोरोना भाइरसको महामारीका कारण चिनियाँ कामदार ल्याउन र आयोजना निर्माणमा चाहिने सामग्री ल्याउन नसकेको उहाँले बताउनुभयो। चिनियाँ कामदार ल्याउन आयोजनाले पराराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरेको भन्दै उहाँले चिनियाँ सरकारका एजेन्सीहरूसँग कुरा गरेर कामदार ल्याउने बताउनुभयो।

'सरकारले ठूला आयोजनामा काम गर्ने कामदार तथा प्राविधिकलाई रोकेको छैन', उहाँले भन्नुभयो, 'उहाँहरू आउनका निम्ति चिनियाँ सरकारका विभिन्न एजेन्सीसँग हामी कुरा गर्छौं।'अन्तर्राष्ट्रिय उडान खुल्दै गएकाले विदेशबाट आवत–जावत गर्न समस्या नपर्ने उहाँको भनाइ छ।

आयोजना बनाउन आवश्यक प्रविधि तथा सामग्री ल्याउनका लागि पनि भन्सारमा आफूले सहजीकरण गर्ने उहाँले बताउनुभयो। आयोजना निर्माणको काम सन्तोषजनक भएको भन्दै उहाँले आयोजनामा कार्यरत मजदूर एवं आयोजनाका प्रमुखलाई धन्यवाद दिनुभयो।

आयोजना निर्माणमा देखिएको मुआब्जाको समस्या पनि समाधान भएको मन्त्री भट्टराईले दाबी गर्नुभयो। यसका लागि स्थानीयले निवेदन दिएको भन्दै उहाँले राष्ट्रिय गौरवका आयोजनाहरूमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छिटो सकिने बताउनुभयो। आयोजना निर्माणमा देखिएको ल्याण्डफिल्ड साइट र डाँडा काट्नुपर्ने समस्या पोखरा महानगर र प्रदेश सरकारसँग समन्वय गरेर समाधान गर्ने उहाँले बताउनुभयो।

विमानस्थल निर्माणका क्रममा जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा नदिएको भन्दै स्थानीयवासी आन्दोलित हुँदै आएका थिए। विमानस्थल निर्माणमा अहिले १ सय ८० जना चिनियाँ र १ सय जना नेपाली कामदार गरी २ सय ८० जना कामदारले काम गरिरहेको आयोजना प्रमुख बिनेश मुनकर्मीले बताउनुभयो। उहाँका अनुसार केही दिनअघि मात्र केही चिनियाँ कामदार थपिएका हुन्।

आगामी डिसेम्बरभित्र २ सय जना बढी चिनियाँ दक्ष कामदार एवं प्राविधिकहरू ल्याउनुपर्ने उहाँले बताउनुभयो। लकडाउन र अन्तर्राष्ट्रिय उडान नखुल्दा कामदार ल्याउन समस्या देखिएको मुनकर्मीको भनाइ छ।

यस्तै, आयोजना निर्माणमा आवश्यक सामग्री भारतको कलकत्ता बन्दरगाहबाट भने अहिले सहजरूपमा आउन थालेको उहाँले बताउनुभयो। 'सामग्री आउनका लागि केही ढिलाइ भए पनि आइराखेको छ', मुनकर्मीले भन्नुभयो, 'चीनको केरुङ नाकाबाट आउनुपर्ने सामान ल्याउन भने समस्या आएको छ।'केरुङ नाकामा आयोजनाको २ कन्टेनर सामग्री रोकिएर बसेको उहाँले बताउनुभयो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले २०१७ नोभेम्बर १ देखि काम थालेको थियो। उक्त कम्पनीसँग भएको सम्झौता अनुसार आयोजना निर्माणको काम २०२१ जुलाई १० भित्र सक्नुपर्छ। चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको छ।

हालसम्म आयोजना निर्माणको काम ६४ प्रतिशत सकिएको आयोजना प्रमुख मुनकर्मीले बताउनुभयो। विमानस्थलको रनवे, एप्रोन, ह्याङ्गर, पाइपलाइन, ट्रान्सफर्मर लगायतका काम अहिले सकिएको छ भने अहिले टर्मिनल भवन, विमानस्थलभित्र एक्सेस रोड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको काम पार्किङको निर्माण पनि सकिएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख मुनकर्मीले विमानस्थलमा आवश्यक १४ वटा भवनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो।

अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड भित्र रहेर फोरडी मोडलमा बनिरहेको यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका बिमान उडान तथा अवतरण गर्न सक्छन्।

जानकारी तथा लेखहरु