फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा चीनका लागि नेपाली राजदूत र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीबीच भेट

(GMT+08:00) 2020-09-15 15:47:27

पैचिङ आएको दुई महिना सात दिनपछि चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेटवार्ता गर्नुभएको छ। मंगलबार बिहान दस बजे चिनियाँ परराष्ट्रमन्त्रालयको एसियाली विभागका उपमन्त्री लुओ चौउहुईसँग राजदूत पाण्डे भेट गर्नुभएको हो। नेपालखबर अनलाइनका अनुसार भेटमा लगभग एक घण्टा दुईपक्षीय कुराकानी भएको दूताबासका मिनिष्टर सुशीलकुमार लम्सालले बताउनुभयो। सन् २०१५ मा परराष्ट्रमन्त्रीको हैसियतमा पहिलोपटक चीनमा पाइला टेकेका पाण्डे एकैचोटि राजदूतका रुपमा गत जुलाई ९ तारिख दोस्रोपटक चीन आइपुग्नुभएको थियो। भेटमा उहाँले आफू परराष्ट्रमन्त्रीका रुपमा पहिलोपटक चीनको भ्रमण गरेको स्मरण गर्दै नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा प्रकाश पार्नुभएको थियो।

भेटघाटमा नेपाल चीन सम्बन्धलाई अगाडि बढाउने र प्राथमिकताका विषयमा दुई पक्षीय कुराकानी भएको छ। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समयमा सम्पन्न भएका सन्धि सम्झौताहरुको कार्यान्वयनलाई जोड दिने विषय छलफलको पहिलो बुँदा रहेको छ। त्यसैगरी कोरोना संक्रमणको महामारी नियन्त्रणमा नेपाल र चीनबीच भएको सहयोग आदानप्रदानलाई थप गति दिने विषय छलफलको दोस्रो बुँदा रहेको छ। अहिलेसम्म दुवै मुलुकका उच्चस्तरमा मतैक्य भएका विषयहरुलाई व्यवहारमा उतार्दै तिनीहरुको कार्यान्वय गर्ने विषयमा छलफल भएको छ।

क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा नेपाल र चीनबीचको सहकार्यलाई अझै प्रगाढ बनाउँदै निरन्तरता दिने विषयमा पनि छलफल भएको छ।

राजदूत पाण्डेसँगको भेटमा चिनियाँ उपमन्त्री लुओले चीनको परराष्ट्र नीति र वर्तमान अवस्थाको व्याख्या गर्नुभयो। सो अवसरमा उहाँले चीन र अमेरिका सम्बन्धको पछिल्लो अवस्थामाथि प्रकाश पार्दै चीन र भारतबीचमा देखा परेको असमझदारीका बारेमा ब्रिफिङ गर्नुभएको थियो। कार्यभार सम्हालेको नौ हप्तापछि बल्ल राजदूत पाण्डेले नेपालको तर्फबाट राजदूत भएर आएको औपचारिक जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयमा सशरीर उपस्थित भएर गराउने मौका पाउनुभएको हो।

पाण्डे नेपाल सरकारले राजदूत नियुक्त गरेको पाँच महिनापछि गत जुलाई ९ तारिख पैचिङ आउनुभएको थियो। पैचिङ आउनासाथ उहाँ १४ दिन आफ्नै निवासमा क्वारेन्टिनमा बस्नुभएको थियो। त्यसपछि अनलाइन मार्फत आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्रमन्त्रालयमा पेश गरेर कार्यभार सम्मालेका पाण्डेले चिनियाँ परराष्ट्रमन्त्रालयका अधिकारीसँग पहिलो औपचारिक भेटघाट गर्नुभएको हो।

चीनको सामान्य परिपाटी अनुसार कुनै पनि मुलुकको राजदूतले चीनमा आएपछि आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्र मन्त्रालयमा पेश गरेपछि औपचारिक रुपमा काम गर्न पाउँछन्। त्यसपछि चिनियाँ परराष्ट्रमन्त्रालयको निश्चित समयमा ओहोदाको प्रमाणपत्र चिनियाँ राष्ट्रपति समक्ष बुझाउने कार्यतालिका प्रकाशन गर्दछ।

जानकारी तथा लेखहरु