फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

६ महिनापछि चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक

(GMT+08:00) 2020-09-28 20:06:26
कोरोना भाइरसको महामारीसँगै बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती वनहरुमा ६ महिनापछि पर्यटक प्रवेश गर्न थालेका छन्। सौराहा पुग्ने पर्यटकहरु हात्ती, जीप तथा डुंगामा चढेर निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन्। चितवन निकुञ्जभित्र पाइने दुर्लभ एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीलगायतका वन्यजन्तुहरुले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँ आउने ९० प्रतिशत पर्यटक हात्तीका गतिविधिमा सहभागी हुने गरेको पर्यटन व्यवसायीहरु बताउँछन्।

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङ निकुञ्जले प्रवेशको अनुमति दिएसँगै पर्यटकीय चहलपहल बढ्ने आशा पलाएको बताउनुभयो। पर्यटकको मागअनुसारको हात्ती, बाघमारा वन भएर बग्ने बूढीराप्ती नदीमा १६ वटा डुङ्गा तयारी अवस्थामा रहेको उहाँको भनाइ छ। कुमरोज सामुदायिक वनले पनि हात्ती, जीप सफारी सुरु गरेको छ। वनभित्र रहेको मचानहरु पनि पर्यटकका लागि खुल्ला गरिएको अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो। निकुञ्जभित्र जीप सफारी गर्ने सडकको अहिले मर्मत गर्ने काम भइरहेको छ। सौराहामा पर्यटकको चाप बढ्न थालेपछि निकुञ्ज पनि पर्यटनका लागि खुल्ला गर्ने तयारी गरिएको छ। क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले असोज १ गतेदेखि होटलहरु सञ्चालनमा आएपनि पर्यटक फाट्ट–फुट्टमात्रै आएको र पर्यटहरुका लागि २० देखि ३० प्रतिशतसम्म छुटको प्याकेज ल्याइएको जानकारी दिएको सेतोपाटी अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु