फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने अष्ट्रेलियाली कम्पनीको इच्छा

(GMT+08:00) 2020-10-03 19:42:33
अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ। फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरेर खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयसमक्ष पेस गरेको हो।

त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठकसमेत भएको छ। कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन 'अनन्त'ले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताउनुभयो।

अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पार्नुभयो। कम्पनीका अध्यक्ष एन्ड्रिउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानुनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गर्नुभयो। तीनदिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, ऊर्जा मन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ। अन्नपूर्णपोस्टका अनुसार फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो।

जानकारी तथा लेखहरु