
सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले पाँच जना शिशुलाई एकै साथ जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकै साथ पाँच शिशु जन्माएकी उक्त अस्पतालले जानकारी गराएको न्युज पोलार अनलाइनले लेखेको छ।
उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्रले जानकारी दिइन्। उनले जन्माएका पाँचमध्ये एक शिशु भने मृत जन्मिएका छन्। बाँकी चारजनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ।
डा मिश्रका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य मात्र नभएर राम्रो छ। आमा र शिशुलाई नै अक्सिजन दिनुपरेको छैन, उहाँले भन्नुभयो। अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको जनाएको छ।
एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् तर सेमिकाले जन्माएका यी पाँच शिशुबारे बडो अनौठो लागेको सो अस्पतालले जनाएको छ। जीवित शिशुमा चार जना छोरी हुन्। ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ। डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो।
अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीको नेतृत्वको पाँच जनाको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेका थिए।