फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धरहरा पुनर्निर्माणको समय नौ महिना थपियो

(GMT+08:00) 2020-10-10 16:45:50

भूकम्पले ध्वस्त बनाएको काठमाडौँको धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २० असोज २०७७ भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ मा सम्झौता गरेको थियो। त्यसलगत्तै रमन कन्स्ट्रक्सनले २०७५ कात्तिकदेखि निर्माण सुरु गरेको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

कोभिड– १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको छ। रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न हुन नसकेको बताउनुभयो।

अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको उहाँले बताउनुभयो। अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उहाँले बताउनुभयो। जसमा चार सयवटा सानो गाडी र सात सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ।

त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उहाँले बताउनुभयो। कोभिड– १९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उहाँले बताउनुभयो। थपिएको समयमा पनि पूर्ण रूपमा काम सक्न चुनौती रहेको उहाँले बताउनुभयो।

२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी छ। धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेका थिए। लकडाउनको वेला पनि २०–२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने दुई सय ५० जना कामदारमार्फत काम गरिरहेको जनाएको छ।

 

जानकारी तथा लेखहरु