फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिडका कारण नेपालीको सबैभन्दा ठूलो पर्व दशैंमा खुम्चियो अर्थतन्त्र

(GMT+08:00) 2020-10-16 16:28:45

राष्ट्रिय उपभोगको २० प्रतिशत उपभोग दसैंतिहारमा हुने गर्छ। उपभोग्य वस्तुको व्यापक प्रयोग गरिने भएकाले दसैंतिहार अवधिमा अर्थतन्त्र पनि उपभोगमै आधारित हुन्छ।

आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार चालू आर्थिक वर्ष नेपालको वार्षिक उपभोग ३० खर्ब ८५ अर्ब रुपैयाँ हुने अनुमान छ। यसअनुसार दसैंतिहारमा ६ खर्ब १७ अर्ब रुपैयाँको उपभोग हुनुपर्ने हो। तर, आर्थिक सर्वेक्षण तयार गर्दा र अहिले परिस्थिति फरक भएकाले उपभोग अझै घट्ने अनुमान छ। गत आर्थिक वर्ष दसैंतिहारमा उपभोग ५ खर्ब ६० रुपैयाँ थियो।

माग र आपूर्तिको सन्तुलन खलबलिएकाले यसपालि दसैंतिहारमा उपभोग ५० प्रतिशतसम्म घट्न सक्ने अर्थविद् केशव आचार्य बताउनुहुन्छ। उहाँको भनाइलाई आधार लिने हो भने दसैंतिहारमा उपभोग ३ खर्बमा सीमित रहने अनुमान गर्न सकिन्छ। 'पोहोरपरार जसरी खर्च गर्न सक्ने क्षमता छैन', आचार्य भन्नुहुन्छ, 'उद्योगव्यवसायमा नाफा खुम्चिएको छ। कतिपय कामदारले तलब र ज्यालासमेत पाएका छैनन्। यस्तोमा खर्च गर्ने अवस्था आएन।'

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन र निषेधाज्ञा लगाएको थियो। यसले आर्थिक क्रियाकलाप संकुचनमा पर्‍यो।

अन्नपूर्णपोस्टका अनुसार दसैंतिहारलाई लक्ष्य गरी गत आर्थिक वर्षमा ३ खर्ब ५५ अर्ब रुपैयाँबराबरको आयात भएको थियो। दसैं र तिहारका लागि भदौदेखि सामान आयात हुने गरेको छ। नेपाली अर्थतन्त्र आयातमुखी बन्दै गएको सन्दर्भमा दसैंतिहारमा आयात हुने वस्तु उत्पादनमा नभई उपभोगमै आधारित हुने गरेको छ।

मीठो खाने र राम्रो लाउने पर्वका रूपमा चिनिने दसैंतिहारमा उपभोगलाई केन्द्रित गरेर वस्तु आयात हुने गरेको छ। तुलनात्मक रुपमा चालू वर्ष आयातमा कमी आएको छ। भन्सार विभागको तथ्यांकअनुसार भदौमा ९३ अर्बको मात्रै वस्तु भित्रिएको छ। गत आवको भदौमा १ खर्ब २२ अर्ब रुपैयाँको आयात भएको थियो।

यो दसैं आफैंले गरेको उत्पादनमा निर्भर रहने अवस्था आएको अर्थविद् आचार्यको भनाइ छ।

भन्सार विभागका उपमहानिर्देशक भूमिराज शर्मा कोरोना महामारी सुरु भएयता आयातमा संकुचन भए पनि दसैंमा बढ्ने अपेक्षा रहेको सुनाउनुभयो।

चालू वर्ष रेमिट्यान्समा भने कोभिड–१९ को असर परेको देखिँदैन  । साउनमा रेमिट्यान्स गत असारको हाराहारीमै आएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको त्यही अवधिको तुलनामा यो २३ प्रतिशत बढी हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह २ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशत बढेको थियो ।

जानकारी तथा लेखहरु