फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2020-10-17 16:12:00

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनुभएको छ। सन्देशमा उहाँले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ ।

उहाँले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न हामी सक्रिय रहेको जानकारीसमेत दिनुभएको छ। सन्देशमा कृषि, पर्यटन, जलविद्युत्, भौगोलिक विविधता, जडीबुटी जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रको समुचित विकास एवं उपयोग गर्न र जनशक्तिलाई मुलुकभित्रै पर्याप्त रोजगारी दिई नेपालीको क्षमताको सदुपयोग गर्न अनवरत प्रयास गरिरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। आर्थिक सामाजिक रूपमा पछाडि परेका जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने, सबै प्रकारका साधन स्रोत र अवसरमा पहुँच सुनिश्चित गर्ने, आत्मसम्मानपूर्वक बाच्ने र मानव अधिकारको संरक्षण गर्दै जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक सक्रिय रहेको सन्देशमा उल्लेख रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

प्रधानमन्त्री ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका विगतका कमजोरीबाट पाठ सिकेर सरकारले गरिबी निवारणको आगामी बाटो तय गरेको बताउनुभएको छ । "हामीले गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजना तय गरिसकेका छौँ", उहाँले सन्देशमा भन्नुभएको छ, "निरपेक्ष गरिबीको रेखामुनि रहेको १८.७ प्रतिशत जनसङ्ख्यालाई आगामी १० वर्ष सम्ममा ५ प्रतिशतभन्दा तल सीमित गर्दै आगामी २३ वर्षभित्र शून्यमा झार्ने र सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकका रुपमा उभ्याउने सङ्कल्प गरेका छौँ ।"

उहाँले समृद्धि परिपूर्ण लोकतन्त्रमा मात्र सम्भव रहेको उल्लेख गर्दै परिपूर्ण लोकतन्त्रले राजनीतिक अधिकार र स्वतन्त्रता, अधिकार र अवसरमा न्यायोचित पहुँच, सामाजिक न्याय र समानता, सुशासन, भयरहित र सुरक्षित तथा मर्यादित जीवन सुनिश्चित गर्ने बताउनुभयो । विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कातिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौँ नेपाली गाउँबाट शहर र शहरबाट विदेशतिर जान बाध्य भएको उहाँको भनाइ छ ।

"विगतमा हाम्रो देशभित्र रोजगारी सिर्जना हुन सकेको भए कोरोना भारइरसको यस विश्वव्यापी महामारीले भत्काएको विश्व अर्थव्यवस्थाले उत्पन्न गरेको भयावह अवस्थाको ठाउँमा हाम्रो आफ्नै उत्पादन प्रणालीले सङ्कटको सामना गर्ने सामथ्र्य राख्ने थियो", उहाँले सन्देशमा भन्नुभएको छ, "हाम्रो जनशक्तिलाई दक्षता तथा सीप पलायनबाट जोगाउँदै स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने फलदायी उद्यमशीलताको बाटोमा अग्रसर हुन सबैमा आह्वान गर्दछु ।"

जानकारी तथा लेखहरु