फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ

(GMT+08:00) 2020-10-18 15:21:47

रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिन अझै समय लाग्ने भएको छ। कोरोना संक्रमणका कारण हालसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत छ । बाँकी ७ प्रतिशत काम विदेशी प्राविधिकले मात्र गर्ने भएकाले निर्माणको काम प्रभावित भएको विमानस्थल आयोजनाले जनाएको छ । कोरोना संक्रमणका कारण विदेशी कामदार नेपाल आउन नसक्दा अहिले विमानस्थलको कामले गति लिन सकेको छैन। ३५ जना चिनियाँ कामदार आउने टुंगो नहुँदा विमानस्थल निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो।

नेपालबाट कामदार ल्याउन अनुमति भए पनि चीनले स्वीकृति नदिँदा समस्या भइरहेको उनले बताए । चीनबाट आउने ३५ जनाको टोलीले रनवे र ट्याक्सीवेको लाइट जडान गर्नेछ । त्यस्तै, टोलीले टर्मिनलभित्रको एसी जडान र ट्रमिनल भवनबाहेकको अन्य काम (एसी कन्ट्रोल, एक्सरे मेसिन, सीसीटीभी) गर्ने शिलापत्र अनलाइनमा खबर छ।

हाल विमानस्थलमा विद्युत्, फिनिसिङ र उपकरण जडानको काम भने भइरहेको छ । त्यसबाहेक पेरिमिटर सडक निर्माणको काम पनि २५ जना चिनियाँ कामदारसहित नेपाल र भारतका २ सय ६५ जनाबाट भइरहेको छ। यस्तै, आईसीबी जिरो टु अन्तर्गतका काम गर्नका लागि पनि थाइल्याण्ड, अमेरिका र अट्रियाकाबाट कामदार आउन नसक्दा काम प्रभावित भएको छ। आईसीबी जिरो टु का प्राजेक्ट म्यानेजर प्रविन न्यौपानले आइल्याण्ड, अमेरिका र अष्ट्रियाबाट ३० जना कामदार आउन बाँकी रहेको बताउनुभयो।

आईसीबी जिरो टु ले कन्ट्रोल टावर, सूचना र सञ्जार कनेक्सनको कामका साथै मौसम पूर्वानुमान गर्ने उपकरणको काम गर्नेछ । विदेशी कामदार आउने टुंगो अहिलेसम्म नभएकाले नेपालीबाट फाउण्डेसनको काम मात्र भएको उहाँले बताउनुभयो।

विमानस्थल आयोजनाका अनुसार लकडाउनकै अवधिमा धेरै उपकरण आएको भए पनि अहिले केही कागजपत्र मिलाउन बाँकी रहेकाले सानो परिणामका उपकरण मात्र आउन बाँकी रहेको छ। लामो समयसम्म नाकामा उपकरण रोकिँदा कागजपत्र मिलाउनुपर्ने भएकाले केही ढिला भएको र ३० अक्टोबरसम्म सबै सामान आउने विमानस्थल प्रमुख अधिकारीको भनाइ छ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले ३१ डिसेम्बर सन् २०१४ मा ६ अर्ब २२ करोड ५१ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का पाएको थियो । विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । त्यस्तै, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव ५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ। सो कम्पनीले आउदो डिसेम्बर अन्तिममा काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । तर, कोरोना संक्रमण र लकडाउनका कारण कामले तिव्रता पाउन नसकेकाले डिसेम्बर अन्तिमसम्ममा काम सम्पन्न नहुने आशंका गरिएको छ । यस्तोमा निर्माणको म्याद पुनः थपिने आयोजनाको भनाई छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको विमानस्थल कुल ८ सय १० विगाहा क्षेत्रफलमा फैलिएको छ।

जानकारी तथा लेखहरु