फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरालाई चीनको खुनमिङबाट स्वास्थ्य सामग्री सहयोग

(GMT+08:00) 2020-10-19 16:43:46

पोखरा महानगरपालिकालाई चीनको भगिनी शहर खुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

खुनमिङले २० हजार थान सर्जिकल मास्क, दुई हजार थान केएन ९५ मास्क, सात सय ५० थान पिपिई र चार सय थान थर्ममिटर सहयोग गरेको छ। पोखरा महानगरका प्रमुख जिसीले कोभिड –१९ को महामारीमा भगिनी सम्बन्ध रहेको शहरबाट प्राप्त सहयोग निकै महत्वपूर्ण हुने बताउनुभयो।

खुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो। खुनमिङले रु ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरपालिका, वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले बताउनुभयो।

भगिनी सम्बन्ध जोडिएका चीनका लिन्ची र क्वाङचौबाट समेत गत जेठमा रु एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो। खुनमिङसँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापना गरेको थियो। हालसम्म महानगरले १३ देशसँग भगिनी सम्बन्ध स्थापना गरेको छ।

जानकारी तथा लेखहरु