फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा खसीबोका बिक्री सुरु

(GMT+08:00) 2020-10-19 16:46:17

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनले सोमबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका बिक्री सुरु गरेको छ। दसैंलाई लक्षित गरी जथाभावी मूल्य निर्धारण रोक्नका लागि विभिन्न जिल्लाबाट ल्याइएका खसीबोकाको बिक्री खुला गरिएको कारोबार अनलाइनले लेखेको छ। प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसीको मूल्य ५५० रुपैयाँ निर्धारण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो।

दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठग्नसक्ने भन्दै बजार मूल्य हस्तक्षेपका लागि खसीबोकाको बिक्री खुला गरिएको उहाँले जानकारी दिनुभयो। कम्पनीका अनुसार सोमबार विहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित गोदामबाट खसीबोकाको बिक्री खुला हुनेछ।

प्रत्येक वर्ष दसैंमा कम्पनीले बजार मूल्यभन्दा सस्तोमा खसीबोका बिक्री गर्दै आएको छ। आइतबारसम्म ४ सय संख्यामा खसीबोका आइसकेको कम्पनीले जानकारी दिएको छ। अन्य खसीबोका पनि आउने क्रममा छन्। दाङ, हेटौंडालगायत क्षेत्रबाट कम्पनीले खसीबोका खरिद गरेर उपत्यका ल्याएको छ। पहिलो चरणमा एक हजार संख्यामा ल्याउने र माग बढ्दै गएमा थप ल्याउन सकिने कम्पनीले जानकारी दिएको छ। कम्पनीले यसवर्ष भने च्याङ्ग्रा बिक्रीका लागि ल्याएको छैन। खरिद गर्न नपाएकाले बिक्री गर्न नल्याइएको कम्पनीले जानकारी दिएको छ। कम्पनीले गतवर्ष १८ करोड ७८ लाख ५ हजार रुपैयाँ लागतमा एक हजार संख्यामा खसीबोका र ३८ करोड ३२ लाख २१ हजार लागतमा २ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो।

व्यवसायीले पनि उपत्यकामा धमाधम खसीबोका भित्र्याइरहेका छन्। दसैंमा मासु खपत बढी हुने भएकाले खपत धेरै हुने गर्छ। अहिले दैनिक एक हजार पाँच सयदेखि दुई हजार संख्यामा खसीबोका आएको व्यवसायी दिपक थापाले जानकारी दिनुभयो। व्यवसायीले भारतीय खसीबोकाको प्रतिकेजी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ मूल्य कायम गरिएको जानकारी दिएका छन्। नेपाली खसीबोका ६ सय ३० र च्याङ्ग्रा प्रतिकेजी ९ सयदेखि १ हजार रुपैयाँ मूल्यमा बिक्री भइरहेको थापाले जानकारी दिनुभयो। विगतका वर्षमा रोकिए पनि यस वर्ष भने छिमेकी मुलुक भारतबाट व्यवसायीले खसीबोका ल्याएर बिक्री सुरु गरेका छन्। परीक्षणबिनै भारतीय खसीबोका निर्वाध रूपमा आइरहेको भन्दै व्यवसायीले यसको विरोध जनाएका छन्।

जानकारी तथा लेखहरु