फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा दुई महिनामा एक खर्ब ६६ अर्ब रेमिट्यान्स भित्रियो

(GMT+08:00) 2020-10-22 16:38:57

 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तार हुन नसकेको जनाएको छ। वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजी क्षेत्र माथिको दावीको वृद्धिदर १०.३ प्रतिशत रहेको बैंकको भनाई रहेको न्युजपोलार अनलाइनले लेखेको छ।

बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७।७८ को प्रथम दुई महिनाको तथ्याँकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिबेदनमा आयात २२.१ प्रतिशतले घटेको तथा निर्यात १०.५ प्रतिशतले बढेर रु. २० अर्ब ४० करोड रहेको उल्लेख छ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ।

दुई महिनामा रु.१ खर्ब ७८ अर्ब ८५ करोड बराबरको सामान आयात भएको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ। साथै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह रु.१ खर्ब ६५ अर्ब ७३ करोड रहेको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो।

शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको तथा कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर रहेको बैंकले जनाएको छ।

संघीय सरकारको खर्च दुई महिनाको अवधिमा (साउन र भदौ) रु. ५३ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१ खर्ब ५ अर्ब ३७ करोड रहेको तथा विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको पनि बैंकले जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.५० अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.१ खर्ब ५ अर्ब ५ करोडले बचतमा रहेको थियो।

बैंकले गत भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ। बैंकले २०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको जनाएको छ।

कोभिड–१९ संक्रमणका कारण अर्थतन्त्र प्रभावित भएको छ। महामारीको असर वाह्य व्यापार, सरकारको पुँजीगत खर्च र बैंकिङ्ग क्षेत्रको कर्जा लगानीमा बढी देखिएको बैंकले जनाएको छ। कोभिड–१९महामारीका कारण आर्थिक गतिविधि प्रभावित हुँदा औद्योगिक कच्चा पदार्थ, ईन्धन, पूँजीगत वस्तु, यातायातका साधन तथा पार्टस् लगायतका वस्तुहरुको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ।

जानकारी तथा लेखहरु