फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका नेपालीहरूले पनि मनाए दसैं

(GMT+08:00) 2020-10-28 16:44:04

चाइना एकेडेमी अफ साइन्सका सह-प्राध्यापक डिबी कट्टेल अहिले दसैंको जमरा राखेर आफूलाई संस्कृतिको संरक्षक महशुस गर्दै हुनुहुन्छ। कारण हो, विगत ८/१० वर्षदेखि कामका सिलसिलामा विदेशमा रहेका उहाँले आफ्ना दुई सन्तानलाई पनि बडादसैं र जमरा संस्कृतिबारे बुझाउन पाउनुभएको छ। यसअघि पाकिस्तानमा हुँदा पनि दसैंलाई मौलिक संस्कृति अनुसार मनाएको सम्झँदै उहाँले भन्नुभयो,'जहाँ भएपनि आफ्नो संस्कृति कहाँ छोड्न सकिन्छ र?'

नेपालमा छँदा स्वतस्फूर्त रुपमै जमरा राखेपनि परको देशमा जमरा रोप्दा दसैंको रसिलो रौनक छाउने अनुभव सुनाउँदै उहाँले बालबच्चाहरूमा नेपाली संस्कृतिमा के के तत्वहरू समेटिएका हुन्छन् भन्ने ज्ञान दिलाउन जमरा राखेको सुनाउनुभयो। परिवारका साथ भएकाले पूजापाठ भइरहने र जौ, तिल जस्ता कुराहरू उपलब्ध भइरहने बताउँदै उहाँले भन्नुभयो, 'नेपालबाट जौ ल्याइएको थियो, पूजापाठ पनि निरन्तर हुन्छ। एकाग्रता, मनको शान्तिका लागि जमरा राखेरै दसैं मनाइँदैछ।'

कान्तिपुर अनलाइनका अनुसार बेइजिङमा कार्यरत जनस्वास्थ्यविद् सिद्धि अर्याल भने यसपाली जौको जोहो गर्न नसकेर जमरा राख्नबाट वञ्चित हुनुभयो। नवरात्रभरि चण्डीपाठ गरेको तर बडादसैंका बेलामा जमरालाई खुबै सम्झिएको बताउँदै उहाँले भन्नुभयो, 'यसपटक जौ नै पाइएन। अर्को पटक त अग्रिम रुपमा नेपालबाट जमरा ल्याएर जुगाड गर्नेछु।'

विश्वभर फैलिएको कोभिड-१९ महामारीका कारण सारा नेपालीले खुलेर मनाउने बडादसैं तुलनात्मक रुपमा शिथिल भएको छ नै, त्यसमाथि भेटघाटको चाडपर्व भएकाले महामारी अझै विस्फोट होला कि भन्ने चिन्ता सर्वत्र छ। चीनमा महामारी फैलिने बित्तिकै अधिकांश नेपालीहरू चाँजोपाँजो मिलाएर नेपाल फर्किएका थिए । यतिखेर चीनमा महामारी कम भएको छ तर नेपालमा रहेका कतिपय नेपालीहरू चाहेर पनि फर्किन सकिरहेका छैनन्। विगतका वर्षहरूमा जस्तो नेपालीहरू जमघट हुने मेसो बेइजिङमा छैन यसपाली ।

७ वर्षदेखि बेइजिङको फेमिली अस्पतालमा कार्यरत विकास राई बेला बेलामा दसैं मनाउन र परिवारसँगको पुनर्मिलनका लागि नेपाल गइरहनुहुन्थ्यो। यसपटक दसैंमा जानका लागि ठिक्क तयारी गरिरहेका बेला नेपालमा कोरोना महामारी झन् झन् बढ्दै गएपछि उहाँले चित्त बाँध्नुपर्यो। परदेशिएका नेपालीहरू चाडवाडको बेलामा देश फर्किन नपाउँदा नरमाइलो मान्छन् भन्ने सुनेका उहाँले भन्नुभयो, 'विदेशमा भएकाहरूलाई नरमाइलो हुन्छ भन्ने सुनेको त हो, तर अनुभव पनि गरिँदैछ। यसपालि कोरोनाले सबै योजना चौपट भयो ।'

इन्स्टिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साइन्समा बाँदर र मानिसबीचको द्वन्दबारे पीएचडी गर्दै गरेकी सबिना कोइरालाले भने छात्रावासमै जमरा राखेर र साथीभाइ बटुलेर दसैं मनाएको बताउनुभयो। त्यस्तै बेइजिङमा अध्ययनरत संगीता विश्वकर्मा पनि दसैंको जमरा राखेर आफ्नो तरीकाले रमाइलो मान्ने प्रयास गरेको सुनाउनुभयो।

जानकारी तथा लेखहरु