फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाका कारण बन्द भएका चितवनका पर्यटकीय क्षेत्र धमाधम खुल्दै

(GMT+08:00) 2020-10-30 18:05:58
कोरोना कहरका कारण बन्द भएका चितवनका पर्यटकीय क्षेत्र धमाधम खुल्न थालेका छन् । वन्यजन्तु अवलोकनका लागि चितवन पहिलो पर्यटकीय गन्तव्य हो । निकुञ्ज आसपासका सौराहा, पटिहानी, मेघौली र नवलपुरको अमलटारीमा पर्यटकको राम्रै चहलपहल हुन्छ । कोरोना कहरका कारण चैत ११ मा लकडाउन भएसँगै बन्द रहेका यी क्षेत्र केही एक महिनाअघि खुले । बाँकी रहेका पनि खुल्न थालेका छन् ।

'अम्ब्रेला स्ट्रिट' चितवनको सबैभन्दा नयाँ पर्यटकीय गन्तव्य हो । भरतपुर महानगरपालिका–२२ पटिहानीको राप्ती किनारमा रहेको 'अम्ब्रेला स्ट्रिट' मा जाने र फोटो खिचेर सामाजिक सञ्जालहरूमा राख्ने चलन बढेको थियो । रंगीबिरंगी छाताले ढाकेको छाना पार गरेर राप्ती किनार पुगेपछि साँझपखको सुनौलो सूर्यास्त नियाल्न पाइन्छ । आडैमा चितवन निकुञ्जको जंगल छ । त्यहाँ पुगेपछि चित्तल र गैंडासमेत चर्दै गरेको र चराहरू कावा खाँदै गरेको पनि देखिन्छ। यस्ता आकर्षणले चितवन, आसपासका र अन्य जिल्लाका साथै विदेशी पर्यटक पनि पटिहानी गएर 'अम्ब्रेला स्ट्रिट' घुम्न निस्कन्थे । तर फागुनमा उद्घाटन भएको यो 'अम्ब्रेला स्ट्रिट' कोभिड कहरको मारमा पर्‍यो । उद्घाटनको एक महिना पार भएलगत्तै पर्यटकका लागि 'अम्ब्रेला स्ट्रिट' को ढोका बन्द भयो । अब यो ढोका पनि खुल्ने भएको कान्तिपुर अनलाइनले समाचार लेखेको छ । तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने सर्त मान्नुपर्ने हुन्छ ।

'व्यक्ति व्यक्तिबीच दूरी कायम हुने हिसाबले भित्र मान्छे छिर्न दिइनेछ ।

कोरोना संक्रमणको जोखिम रोक्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड पनि पालना गर्नुपर्ने हुन्छ,' पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले भन्नुभयो, 'हामी पर्यटकीय गतिविधि सुरु गर्दै छौं । तर कोरोना जोखिमको पनि ख्याल राखेका छौं ।'

चितवन घुम्न आउने पर्यटक हात्ती चढेर जंगल घुम्न रमाउँछन् । राप्ती नदीमा डुंगा सयर पनि हुने गर्छ । हात्ती सफारी र डुंगा असोजको पहिलो साता खुलेका थिए । निकुञ्जभित्र हुने जिप सफारी कात्तिक पहिलो साताबाट खुलेको थियो । दसैं–तिहारको मेसोमा असोज–कात्तिकमा सर्वाधिक पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् । गत वर्ष कात्तिकमा ३६ हजार पर्यटक निकुञ्ज घुमेका थिए ।

निकुञ्ज घुम्नेमध्ये ९० प्रतिशत पर्यटक सौराहा जान्छन् । केही दिनयता दिनमा सरदर पाँच सय जनाले निकुञ्ज घुम्न सुरु गरेको चितवन निकुञ्जको सौराहा सेक्टरका प्रमुख रहेका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताउनुभयो।

मुख्य सिजन भए पनि अघिल्ला वर्षको तुलनामा एकतिहाइ पनि पर्यटक छैनन् । फूलपातीदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएको निकुञ्ज सफारी प्रालिका अध्यक्ष गोपाल श्रेष्ठको भनाइ छ । निकुञ्जभित्र सफारी सञ्चालन गर्न दुई वटा कम्पनीका ३२ वटा जिप छन् । अघिल्ला वर्षहरूमा ३२ वटैलाई फुर्सद हुँदैनथ्यो । निकुञ्ज घुम्न आउने प्रायः पर्यटक हात्ती सफारी गर्छन् ।

यस्तै मौसममा सुधार आउनासाथ असोज दोस्रो सातादेखि इलाम नगरपालिका–३ स्थित पुवामझुवाको दिदीबहिनी (महभीर) झरनामा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

जानकारी तथा लेखहरु