फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा भूकम्पले क्षति पुर्‍याएका ५ सय ५५ सम्पदाको पुनर्निर्माण

(GMT+08:00) 2020-11-01 17:10:08

भूकम्पले क्षति पुर्‍याएका ५ सय ५५ सम्पदाको पुनर्निर्माण सकिएको छ । भूकम्पले उपत्यका र उपत्यकाबाहिर गरी ८ सय ९१ वटा सम्पदा क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्तलाई विश्व सम्पदा, राष्ट्रिय सम्पदा र स्थानीय सम्पदा गरी तीन श्रेणीमा विभाजन गरेर निर्माण गरिँदैछ । भूकम्प गएको ५ वर्षमा विश्व सम्पदाका १ सय १ र राष्ट्रिय तथा स्थानीय सम्पदाका ४ सय ५४ वटाको निर्माण पूरा भएको हो । पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईका अनुसार कात्तिक मसान्तभित्रमा थप ९ सम्पदाको निर्माण सम्पन्न हुने कान्तिपुर अनलाइनले खबर लेखेको छ।

क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण पुरातत्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, स्वयम्भूनाथ विकास समिति, गुठी संस्थान र पालिकाहरूले गरिराखेका छन् । केही सम्पदा युनेस्को र विभिन्न मुलुकको सहयोगमा बनिरहेका छन् । गैरसरकारी संस्था काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टले पनि १५ सम्पदा निर्माणको जिम्मा लिएका छन् । ८ सय ९१ सम्पदामध्ये ३ सय ३७ को जिम्मा पुरातत्त्व विभागले लिएको छ । पुनर्निर्माणका लागि सरकार, भारतीय एक्जिम बैंक, जापान, अमेरिका, श्रीलंका, चीनलगायतले सहयोग गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ वर्षको समय सीमा तोकेर सम्पदा पुनर्निर्माण गर्ने योजना बनाएको थियो । ६ वर्षमा ३५ अर्ब २३ करोड, ३२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान थियो । पहिलो वर्ष ८ अरब ३० करोड, दोस्रो वर्ष ८ अर्ब १८ करोड, तेस्रो वर्ष ७ अर्ब ५६ करोड, चौथो वर्ष ५ अर्ब ८२ करोड र अन्तिम वर्ष ५ अर्ब रुपैयाँ खर्च गर्ने अनुमान गरिएको थियो । प्राधिकरणले अघि सारेको यो योजनाअनुसार काम भने भएन । पुरातत्त्व विभागले निर्माण गर्ने ३ सय ३७ सम्पदाका लागि मात्र ९ अर्ब ८७ लाख रुपैयाँ लाग्ने अनुमान रहेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । अहिलेसम्म झन्डै ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

भूकम्पले अति प्रभावित १४ जिल्लामा मात्र ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १ सय ३३ मा पूर्ण क्षति र ६ सय २० मा आंशिक क्षति भएको थियो । विश्व सम्पदा क्षेत्रमा १ सय ४० र त्यसबाहेक ६ सय १३ सम्पदामा क्षति पुगेको थियो । उपत्यकामा ४ सय ९९ सय सम्पदामा क्षति पुगेको विभागको तथ्यांक छ । उपत्यकाबाहिर ३ सय ९२ सम्पदा क्षतिग्रस्त भएका थिए । उपत्यकाबाहिरका ३ सय ९२ मध्ये १ सय ५२ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।

भूकम्पले सिन्धुपाल्चोकमा ४३, काभ्रेपलाञ्चोकमा १९, सिन्धुलीमा ७, नुवाकोटमा ३०, मकवानपुरमा ५, रसुवामा ७, रामेछापमा ३२, दोलखामा ३८, धादिङमा २१, कास्कीमा ४, लमजुङमा ९, स्याङ्जामा ९, बागलुङमा २, पर्वतमा १, म्याग्दीमा १, गुल्मीमा ६, पाल्पामा ६, अर्घाखाँचीमा ६, गोरखामा ४७, ओखलढुंगामा ९, तनहुँमा ३, भोजपुरमा ६, धनकुटामा २, खोटाङमा १, सोलुखुम्बुमा १ र संखुवासभामा १ सम्पदामा क्षति पुगेका थिए । ती जिल्लामा क्षतिग्रस्त सम्पदामध्ये १ सय १ सम्पदाको काम सुरु भएकै छैन ।

जानकारी तथा लेखहरु