फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रेटवाल अर्थात् लामो पर्खाल

(GMT+08:00) 2014-01-06 18:18:51

      विश्वका सात आश्चर्यको बारेमा नाम लिंदा चीनको ग्रेटवाल अर्थात् लामो पर्खालको नाम सबैले लिने गर्दछन्। त्यसमाथि अन्तरिक्षबाट हेर्दा देखिने पृथ्वीको कुनै वस्तुमध्ये लामो धर्को जस्तो देखिने वस्तु पनि ग्रेटवाल नै हो भन्ने धेरैले सुनेको हुनुपर्छ। यस्तै कुराहरु सुनेकाले मलाई पनि ग्रेटवालमा पाइला टेक्ने पहिल्यैदेखिको इच्छा थियो। तर पनि लामो समयसम्म धैर्य गरेर बसिरहेको थिएँ किनकि मलाई कुनै पनि आश्चर्यको सविस्तार आरामपूर्वक अनुभूति गर्नु थियो।

      सिआरआई नेपाली सेवाले आयोजना गरेको मेरो चिनियाँ कथाः कार्यक्रमका विजेता नेपाल भारत पाकिस्तान बँगलादेश र श्रीलंकाका श्रोताहरुको टोलीमा सन् 2013 को नोभेम्बर तेश्रो साता मेरो लागि ग्रेटवालको साइत जुर्‍यो। धेरै चिनियाँहरुको विचारमा ग्रेटवाल चढ्नु बहादुरीको प्रतीक हो। आफूलाई बहादुर घोषित गर्ने क्रममा मैले पनि पहिलोपटक दुईहजार वर्षअघि तत्कालीन चिनियाँ सम्राटहरुले देशको पहराका लागि बनाएको लामो सुरक्षा पर्खालका सिंढी गर्ने जाँगर पलाएको थियो।

      यहाँसम्म आइपुगेपछि केही ज्ञानगुनका कुरा पनि सङ्ग्रह गरिहालौं भन्ने लागेर इतिहास खोतल्न थालें। पाँचौँ शताब्दी ईसा पूर्वदेखि सोह्रौँ शताब्दीसम्मको लामो समय लगाएर यति लामो पर्खाल बनेको रहेछ। बीसौं लाख मानिसले जीवन समर्पण गरेको यस पर्खालले आफ्नो लामो इतिहास जगाइराखेको छ। सीमा आक्रमणकारीहरूको लागि बनाइएको यो पर्खालको निर्माण संरचना पनि कौतुहलयुक्त छ। यस निर्माण संरचनाले विश्वको ध्यानाकर्षण गर्नुका साथै युनेस्कोमा 1987 देखि विश्व धरोहरको रुपमा सुरक्षित गरेको छ।

      Great Wall भनिने यो पर्खाल इशापूर्व 656 मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए। उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाइ बढाएर लगेर आजको संरचनामा आईपुगेको छ। ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ। यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो।

      पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल ल्याउनिङ् प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा कान्सु प्रान्तको च्याउक्वानमा पुगेर टुंगिएको छ। यसको लम्बाइ करिब 12700 कि.मि. छ। च्याउक्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ। चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारहरूलाई दश बर्षसम्म काममा लगाएका थिए। त्यसपछि बिभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् 1368-1644 मा गरियो। अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो।

      पर्खाल खासगरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोहीअनुरूप निर्माण गरिएको छ। पर्खालमा शत्रु पक्षलाई हेर्न स-साना प्वालहरू बनाइएको छ। प्रत्येक तीनसयदेखि पाँचसय मीटरको फरकमा पर्खालमाथि छानो लगाइएका स-साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रूपक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन्। त्यति लामो ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य-मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ।

      ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र कलात्मक छ। सन् 1345मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट 50 कि.मी. उत्तर पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ। त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक 6 पाटे ढोका छ। ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन्। त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ। त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू 600 बर्षअघि खोपिएका हुन्।

      चीन भ्रमणलाई पूर्णता दिने हो भने सर्वोच्च लामो पर्खालको आरोहण गर्नुपर्छ भन्ने मान्यता पनि चल्दै गएको छ। त्यसैले जो कोही चीन आउने पर्यटकका लागि ग्रेटवाल एक अनिवार्य गन्तव्य जस्तै बन्दै गएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह