फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली राजदूतलाई सीआरआईद्वारा सहयोग हस्तान्तरण

(GMT+08:00) 2015-04-30 15:46:14

गत शनिबार नेपालमा गएको बिनासकारी भूकम्पबाट भएको व्यापक जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईले सङ्कलन गरेको सहयोग रकम चीनका लागि नेपाली राजदूत डा महेश कुमार मास्केलाई हस्तान्तरण गरेको छ। सीआरआईको एक टोली आज बिहीबार पैचिङस्थित नेपाली दूताबास गएर सो सहयोग रकम हस्तान्तरण गरेको हो।

सीआरआई नेपाली सेवाले गत मंगलबार र बुधबार चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा कार्यरत चिनियाँ कर्मचारी तथा विदेशी विशेषज्ञहरुसँग सहयोग रकम सङ्कलन गरेको थियो। सहयोग सङ्कलनमा 46 हजार 9 सय 77 चिनियाँ युआन र एक सय अमेरिकी डलर जम्मा भएको थियो। रकम हस्तान्तरण गर्दै सीआरआई नेपाली सेवाकी उपप्रमुख सुमेघाले भूकम्पले नेपालमा पुर्‍याएको जनधनको क्षतिप्रति चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सी. आर. आई.को तर्फबाट दुःख प्रकट गर्दै इतिहासदेखि नै चीनको घनिष्ट छिमेकी मित्रराष्ट्र नेपालमा भएको यस्तो अपुरणीय क्षति र भयावह संकटप्रति सीआरआईलाई पनि उत्तिकै पीडावोध भएको बताउनुभयो। यस्तो प्राकृतिक विपत्तिमा ज्यान गुमाउने नागरिकहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै प्रियजन गुमाउनु हुने शोकाकुल व्यक्तिहरुप्रति सीआरआईको तर्फबाट हार्दिक समवेदना पनि उहाँले प्रकट गर्नुभयो।

नेपाली श्रोतासमक्ष विगत 40 वर्षदेखि आफ्ना सुखदुःख बाँड्दै आएको सीआरआई नेपाली सेवाले अहिले नेपालले भोगिरहेको प्राकृतिक विपत्तिको यस्तो पीडादायी क्षणमा आफू पनि दुःखी नेपालीहरुसँगै भएको आत्मवोध गर्दै समस्त सीआरआई परिवार(चिनियाँ कर्मचारी तथा विदेशी विशेषज्ञहरु)को तर्फबाट सानो सहयोग प्रदान गरेको बताउनुभयो।

सहयोग ग्रहण गर्दै चीनका लागि नेपाली राजदूत डा महेशकुमार मास्केले सीआरआईलाई धन्यवाद व्यक्त गर्नुभयो। नेपाललाई विपत्ति पर्दा चीनले सधैँ सहयोग गर्ने गरेको बताउँदै अहिलेको प्राकृतिक संकटमा पनि चिनियाँ जनताको तर्फबाट सहयोग प्रदान गरेकोमा सीआरआईको प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ