फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दूताबासद्वारा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको स्वागतमा कार्यक्रम

(GMT+08:00) 2016-08-16 19:24:12

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन भ्रमणमा आउनु भएका नेपालका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गर्नु भएको छ। मंगलबार बिहान एघार बजे परराष्ट्रमन्त्रालयमा भएको भेटमा महरा र वाङबीचमा चीन नेपाल सम्बन्धमा कुराकानी भएको चीनका लागि कार्यवाहक नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले सीआरआईलाई बताउनुभयो। मन्त्री महराले नेपालमा सरकार परिवर्तनको ‌औचित्य पुष्टि गर्दै चीनसँग भएका सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने कुरामा नेपालको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो।

नेपालका राष्ट्रपति विद्यादेवी भन्डारीले चीनका राष्ट्राध्यक्ष सी चिन फिङलाई नेपाल भ्रमणका लागि पठाउनु भएको निमन्त्रणापत्र मन्त्री महराले चिनियाँ परराष्ट्रमन्त्री वाङमार्फत हस्तान्तरण गर्नु भएको छ। त्यसैगरी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ प्रधानमन्त्री ली ख छ्याङलाई नेपाल भ्रमणका लागि पठाउनु भएको निमन्त्रणा पत्र पनि परराष्ट्रमन्त्री वाङमार्फत हस्तान्तरण गर्नु भएको छ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालका प्रधानमन्त्रीका विशेष दूतका रुपमा चीनमा स्वागत गर्दै नेपाल चीनको युगौँदेखिको घनिष्ट छिमेकी मित्रराष्ट्र भएको बताउनुभयो। चीनले क्षेत्रीय शान्ति र स्थिरताका लागि लिएको अडानलाई नेपालले समर्थन गरेकोमा नेपाललाई धन्यवाद दिँदै दुईपक्षीय तथा बहुपक्षीय सम्बन्धमा नेपालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

आजै साँझ बेइजिङस्थित नेपाली दूताबासले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको स्वागतमा एक कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महराले चीनसँगको नेपालको सम्बन्ध अत्यन्त सुमधुर र घनिष्ट रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालको विकासमा चिनियाँ सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै विगतका सरकारले चीनसँग गरेका सम्झौता तथा सहमतिलाई सफल कार्वान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो।

स्वागत कार्यक्रममा नेपाल चीन सम्बन्धमा कार्यरत चिनियाँ बुद्धिजीवीहरु र संचारकर्मीका साथै बेइजिङमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो।

सहकर्मी ललिता र प्रतिभाका साथमा चेतनाथ आचार्य

नेपाली दूताबास बेइजिङ

जानकारी तथा लेखहरु