फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका मुख्य सचिव एडीबीको वैकल्पिक कार्यकारी निर्देशक

(GMT+08:00) 2017-03-03 18:07:45

नेपालका मुख्यसचिव डा. सोमलाल सुवेदी एक वर्ष पदावधि बाँकी छँदै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक भएर जाने हुनु भएको छ। नेपालले पाउन लागेको उक्त पदमा सुवेदीलाई मनोनयन गर्ने निर्णय नेपाल सरकारले गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

तीनबर्से पदावधि हुने मुख्यसचिवमा सुवेदीको पदावधि 2076 साउनसम्म थियो। आकर्षक तलबसुविधा हुने एडीबीको पदका लागि उहाँले मुख्यसचिवको जिम्मेवारी एक वर्षअघि नै टुंग्याउन चाहनु भएको हो। उक्त पदका लागि सामान्यतया सहसचिव तहका कर्मचारी मनोनयन गरिन्छ।

स्रोतका अनुसार मनिलास्थित हेड अफिसमा दुई वर्षको कार्यकाल हुने उक्त पदमा महिनामा करिब 18 हजार डलर तलब हुन्छ।

यसअघि नेपालका तर्फबाट उक्त पदमा रहेका डा. गोविन्दबहादुर थापा कार्यकाल सिध्याएर फर्केको 7 वर्षपछि नेपालले मनोनयनको मौका पाएको थियो। एडीबीले मनोनयनका लागि अनुरोध गर्नासाथ सहसचिव र सचिव रहेका थुप्रैले दौडधूप सुरु गरेका थिए। तर सुवेदीले जान इच्छा देखाएपछि सरकारले उहाँलाई मनोनयन गरिदिएको हो।

नेपालले एडीबीका साथै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) मा रोटेसनमा मनोनयनको मौका पाउँछ। एडीबीमा वैकल्पिक कार्यकारी निर्देशकका साथै वरिष्ठ सल्लाहकार र सल्लाहकारमा मनोनयनको पालो आउँछ। विश्व बैंक र आईएमएफमा वरिष्ठ सल्लाहकार र सल्लाहकारमा मनोनयनको मौका पाउँछ। एडीबी र विश्व बैंकमा निजामती कर्मचारी पठाइन्छ भने आईएमएफमा राष्ट्र बैंकका कर्मचारी। वरिष्ठ सल्लाहकारमा सहसचिव दर्जा र सल्लाहकारमा उपसचिव दर्जाका कर्मचारी मनोनयन गर्ने चलन छ।

 

जानकारी तथा लेखहरु