फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगबाट प्राप्त सोलार स्थानीय निकायमार्फत वितरण गरिने

(GMT+08:00) 2018-01-31 15:07:37

चीनले नेपालका भूकम्पपीडितलाई अनुदान दिएको सोलार स्थानीय निकायमार्फत वितरण गरिने भएको छ। यो सोलार भूकम्प प्रभावित १२ वटा जिल्लाका व्यक्ति र संस्थालाई दुई सातापछि दिन सुरु गरिने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। चीनले जनसंख्या तथा वातावरण मन्त्रालयमार्फत दिएको यो सोलर वितरणको जिम्मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई दिइएको छ।

चीनले १० वाट पावरका ३२ हजार थान सोलार प्यानल साना सौर्य ऊर्जा घरायसी प्रयोजनका लागि व्यक्तिलाई र १२ सय वाट पारवरका तीन सय २५ थान सोलार प्यानल संस्थालाई सहयोग गरेको छ। १० वाटका साना सौर्य ऊर्जामध्ये सिन्धुपाल्चोकमा सात हजार, काभ्रे, दोलखा, गोरखा र नुवाकोटमा पाँच/पाँच हजार, सिन्धुली र रामेछापमा दुई/दुई हजार र लमजुङमा एक हजार थान वितरण गरिनेछ। साना सौर्य ऊर्जा आठ वटा जिल्लामा मात्रै दिइनेछ। संस्थागत सौर्य ऊर्जा भने १२ जिल्लामा वितरण गरिनेछ।संस्थागत सौर्य ऊर्जा नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, गोरखा र लमुजुङमा ३०/३० थान, सिन्धुपाल्चोकमा ५० थान, काभ्रेमा ३५ थान, ओखलढुंगामा २० थान, भक्तपुरमा १० थान, रसुवा र ललितपुरमा १५/१५ थान वितरण गर्ने गरी निर्णय भएको धितालले जानकारी दिए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेका जिल्लागत सौर्य ऊर्जालाई सम्बन्धित जिल्लाका नगर तथा गाउँपालिकालाई स्वयम् ढुवानी खर्च व्यवस्था गरेर पीडितसमक्ष पुर्‍याउन केन्द्रले आग्रह गरेको छ।यस्तो ऊर्जा व्यक्तिका हकमा भूकम्पपीडित कार्ड भएका तथा वास्तविक पीडित र संस्थागततर्र्फ सार्वजनिक शिक्षण संस्था, गाउँपालिका भवन, स्वास्थ्य केन्द्र, स्वस्थ्य चौकी, उपस्वस्थ्य चौकी, बर्थिङ सेन्टर, सरकारी तथा दातृ निकायलाई वितरण गरिनेछ।केन्द्रले गत बिहीबार सूचना सार्वजनिक गरेरै १५ भित्रै केन्द्रमा निवेदनसहित सम्बन्धित गाउँपालिका र नगरलाई पीडितको सूची लिएर आउन आग्रह गरेको धितालले जानकारी दिए।

सरकारले भूकम्पपीडितलाई सोलार प्यानल, ब्याट्री, तार तथा यसको जडान खर्चसमेत निःशुल्क गरेर तयारी ऊर्जा दिने भएको छ।जडानका लागि लाग्ने खर्च सरकारमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई उपलब्ध गराइनेछ। केन्द्रले सम्बन्धित स्थानीय निकाय समक्ष निकासा दिनेछ।वातावरण मन्त्रालयले ऊर्जा जडान गर्न अर्थ मन्त्रायसमक्ष करिब दुई करोड निकासा गरिदिन पत्र लेखेको छ। यो रकम दिन सरकार सकारात्मक देखिएको छ।स्थानीय निकायलाई अपनत्व दिलाउन र आफ्नो स्थानमा आफैं काम गर्न प्रेरित गराउन सौर्य ऊर्जा वितरणको जिम्मा दिइएको केन्द्रले जानकारी दिएको छ।

२०७२ वैशाखमा गएको भूकम्पपछि सरकारले चीनसँग अनुदानमा सोलार माग गरेको थियो।भूकम्पपीडित तथा दूर्गम क्षेत्रका स्थानीयलाई दिने गरी माग गरिएको यो सोलार लिनेदिने विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सोही वर्षको चैतमा चीनसँग सम्झौतासमेत गर्नु भएको थियो। सोलार तत्काल ल्याउने भनिए पनि दुई देशबीचको सहमति चरण, औपचारिक प्रक्रिया, नेपालकै निम्ति भनेर चीनले खरिद गर्न पुर्‍याएको प्रक्रियालगायत कारण दुई साताअघि मात्रै काठमाडौं आइपुगेको सोलार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जिम्मा लगाइएको छ। केन्द्रले खुमलटारको विधि विज्ञान प्रयोगशालाको हाताभित्र यी सोलार प्यानल राखेको छ।नेपाल सरकारले करिब ४० करोड लागत अनुमान गरेको भए पनि चीनले जम्मा १९ करोड रुपैयाँमात्रै खर्च लागेको बिलसमेत नेपाल सरकारलाई उपलब्ध गराएको छ।

जानकारी तथा लेखहरु