फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा हिमालय अन्तर्राष्ट्रय सांस्कृतिक मन्च

(GMT+08:00) 2018-07-16 19:07:02

चीनका लागि नेपाली दूताबास र रनमिन विश्वविद्यालयले संयुक्त रुपमा हिमालय अन्तर्राष्ट्रिय सांस्कृतिक मन्च कार्यक्रमको आयोजना गरेका छन्। बेइजिङस्थित रनमिन विश्वविद्यालयमा आइतबार कार्यक्रम सम्पन्न भएको हो।

चीन र नेपालबीचमा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको सो कार्यक्रममा चीनका विभिन्न विद्वानहरुले आफ्नो धारणा व्यक्त गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपनिर्देशक वाङ लियोङले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अवधारणाबाट चीन र नेपालले हिमालय संस्कृतिलाई प्रवर्द्धन गर्ने बताउनुभयो। चीन र नेपाललाई पवित्र हिमाल र नदीनालाले जोडेको उल्लेख गर्दै त्यसबाट समृद्धि सभ्यता र संस्कृति पनि आपसमा जोडिएको उहाँले औँल्याउनुभयो।

पश्चिम चीन अनुसन्धान तथा विकास प्रवर्द्धन संघका निर्देशक छङ लुले चीन र नेपालबीचको हिमालय संस्कृतिले विश्वमा विशिष्ट पहिचान बनाएको बताउनुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथा दुई देशबीचको साझा संस्कृतिको प्रतीक रहेको भन्दै इतिहासदेखि नै हिमालय क्षेत्रले चीनलाई दक्षिण एसियासँग जोडेको उहाँले औँल्याउनुभयो।

चिनियाँ धार्मिक लिपि अनुसन्धान संघका अध्यक्ष तथा 'इन्स्टिच्युट फर एडभान्स स्टडी अफ दि हुम्यानिटिज एण्ड रिलिजन'का कार्यकारी उपाध्यक्ष चु स्यावोचियानले कार्यक्रममा आफ्नो धारणा राख्दै चीनको स्वायत्त प्रदेश तिब्बतका बौद्ध धर्मावलम्बी र नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुको साझा संस्कृति रहेको बताउनुभयो।

रनमिन विश्वविद्यालयको रिनान्सान्स इन्स्टिच्युटका डिन तिङ फाङले छिङहाई तिब्बत प्लेटोको अद्वित्तीय पहिचान रहेको बताउँदै योसँगै हिमालय क्षेत्र स्वर्गको उपहार रहेको औँल्याउनुभयो। इतिहासमा रेशम, चिया र चिजको व्यापारमा हिमालय संस्कृति जोडिएको भन्दै हिमालय क्षेत्र आपसी सम्पर्कमा कहिल्यै बाधक नबनेको कुरामा उहाँले जोड दिनुभयो। सोही इन्स्टिच्युटको सार्वजनिक सम्बन्धका निर्देशक कङ वईले नयाँ युगमा चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानमा निरन्तर वृद्धि हुँदै आएको भन्दै बीआरआईले यसमा ठोस सहयोग पुर्याउने बताउनुभयो।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले हिमालय अद्वित्तीय भूगोल मात्र नभई संस्कृति र सभ्यताको पनि अद्वित्तीय मुहान रहेको उल्लेख गर्नुभयो। हिमालयले मानव विकासमा भित्री भावनादेखि शान्ति दिने बताउँदै यो संस्कृतिको प्रवर्द्धन नै साझा सम्पदा रहेको राजदूत पौड्यालले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु