फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट अझै धेरै लगानीको अपेक्षा - नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी

(GMT+08:00) 2019-02-26 14:03:25

पैचिङस्थित चीनका लागि नेपाली दूतावासले फेब्रवरी २५ मा 'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्व-सम्मेलनको आयोजना गरेको थियो। सो अवसरमा चिनियाँ लगानीकर्ता, लगानीका लागि इच्छुक व्यापारीको बाक्लो उपस्थिति थियो। साथै नेपालको तर्फबाट नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीसम्बन्धमा ठोस जानकारी दिनुभएको थियो।

सोही अवसरमा सीआरआईसँगको अन्तर्वार्तामा नेपालमा चिनियाँ लगानी बढ्दै गएको र यतिखेर लगानीका लागि उपयुक्त समय भएको उल्लेख गर्दै चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको बताउनुभयो। साथै नेपाल सरकारले प्राथमिकता दिएका क्षेत्रका योजनाहरूमा चीनबाट लगानी खोज्न चाहेको बताउँदै नेपालमा परम्परागत तवरले भइरहेको कृषि उत्पादनमा चिनियाँ नवप्रविधि भित्र्याउन चाहेको पनि बताउनुभयो।

नेपाल सरकारले कृषि, ऊर्जा तथा जलस्रोत, भौतिक संरचना तथा सडक सञ्जाल, पर्यटन जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ र समग्रमा २५ वटा मुख्य प्रोजेक्टमा लगानीका लागि आव्हान गरेको छ। आउँदो लगानी सम्मेलनको लागि हालसम्म करिब पचास वटा देशबाट पाँच सयभन्दा धेरै उद्योगी, व्यापारीले रूचि देखाइसकेको बताउँदै लगानीकर्तालाई सहज वातावरण बनाउन नीतिनियममा पनि सुधार गरिरहेको अधिकारीको भनाइ छ। चीन नेपालका लागि ठूलो लगानी मुलुक र दोस्रो व्यापार साझेदार हो।

नेपाल सरकारले आगामी मार्च २९-३० मा नेपालको राजधानी काठमाण्डुमा लगानी सम्मेलनको आयोजना गर्दैछ।

1  2  3  
जानकारी तथा लेखहरु