फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोछेनछो ताल

(GMT+08:00) 2019-03-19 08:33:24

दोछेनछो ताल यातुङ जिल्लाको पठारमा पर्दछ। चीन र भुटान जोडिएको सीमा क्षेत्रमा पर्ने दोछेनछो ताल हिमालय श्रृंखलाको चोमोल्हारि पवित्र पहाडसँग जोडिएको छ। अत्यन्तै सुन्दर भएकोले दोछेनछो ताललाई विश्वको सबभन्दा सुन्दर ताल पनि भनिन्छ।

दोछेनछो ताल हिमाली श्रृंखलासँग जोडिएको पठार ताल हो। यस निकै शुद्ध पवित्र पानीमा नीलो आकाश र सेतो हिमाल प्रतिबिम्बित हुन्छ। यसलाई विश्वकै सबभन्दा सुन्दर ताल भन्दा फरक पर्दैन।

दोछेनछो ताल त्यति ठूलो छैन। हिम र बरफ पग्लिएपछि बनेको दोछेनछो ताल हरियो र नीलो देखिन्छ। हिमालका साथ दोछेनछो ताल सफा बरफ र शुद्ध जेडको परी जस्तो देखिन्छ।

दर्पण जस्तो सफा दोछेनछो ताल चम्किरहन्छ। तिब्बतको कडा घाममा तालको सतहबाट चिसो प्रकाश प्रतिबिम्बित हुन्छ। घामको किरणले हिमाल, नीलो आकाश र बादलबीच अपर्वतन र परावर्तन भएर तालको पानीलाई हल्का नीलो, गहिरो नीलो, हल्का हरियो, हरियो र गहिरो हरियो गरी पाँच रङ्ग दिएको छ। यात्रु तथा पर्यटकले विभिन्न स्थान र विभिन्न दृष्टिकोणबाट हेर्दा रङ्गीन प्रकाशको प्रभाव देख्न सक्छन्।

ताल वरिपरिको हिम श्रृंखला र आकाशको बादलबाट तालमा स्पष्ट छायाँ देख्न सकिन्छ र दर्पण हेरेको झैं लाग्छ। तालमा विभिन्न जलचर उडिरहेको देख्न सकिन्छ, त्यसै गरी जंगली हाँसका जोडीहरु पनि तालमा खेलिरहेका हुन्छन्। तालको किनारमा हरियाली घाँस र साथै विभिन्न खालका थुप्रै फूल फुलेका छन्। भैँसी, भेडा, पशुपालक, र पालहरु छरिएका छन्। टाढाबाट हेर्दा सुन्दर चित्र जस्तो लाग्छ र निकै आनन्द पनि लाग्छ। फोटो खिच्ने व्यक्तिहरुले दोछेनछोलाई दोछिङछो अर्थात् भावुक ताल भन्न अझ मन पराउँछन् जसबाट पठार पवित्र तालको रोमान्टिक भाव र आकर्षण अझै देखिन्छ।

दोछेनछो तालको पूर्वी किनारमा सात वटा हिम शिखरसँगै हिम श्रृंखला पर्छन्। स्थानीय किम्वदन्ती अनुसार, यी सात हिमाली शिखर हिमालका सात परी हुन्। तीमध्ये समुद्र सतहदेखि ७३१४ मिटर अग्लो चोमोल्हारि शिखरमा हालसम्म कुनै पनि व्यक्ति पुगेको छैन। स्वच्छ ताल र आकाशसम्म पुगेको हिमाली पहाड मिलेर बसेका छन् र यो शानदार दृश्यले निकै धेरै पर्यटकलाई आकर्षित गरेको छ।

सुन्दर प्राकृतिक दृश्यबाहेक दोछेनछोको दुःखद इतिहास पनि छ। सन् १९०३ मा बेलायती सेनाले यातुङ जिल्लामा गोप्य रुपमा आक्रमण गरी तिब्बत पुगेको थियो। सन् १९०४ को वसन्त ऋतुमा चौतर्फी रुपमा तयारी गरेको बेलायती सेनाले दोछेनछो तालको पश्चिमी किनारमा बस्ने तिब्बतीलाई आक्रमण गरेको थियो। साथै तालका दक्षिणी किनारका तिब्बतीसँग नक्कली रुपमा शान्ति वार्ता गरेको थियो। अनि चालबाजीको आधारमा तिब्बतमा जनसंहार गरेको थियो। त्यसपछि बेलायती सेनालाई प्रतिरोध गर्दै तिब्बती युद्ध चरम अवस्थामा पुगेको थियो।

जानकारी तथा लेखहरु