फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारणको उपाय–होमस्टे -अजय अलौकिक

(GMT+08:00) 2019-09-04 10:19:46

चीनले सन् १९७८ देखिको चालिस वर्षको अवधिमा ७० करोड जनसंख्यालाई गरिबीमुक्त गरेर विश्वलाई आश्चर्यचकित् तुल्याएको थियो । सन् १९७८ देखि लागू भएको खुलापन तथा सुधार नीतिले चीनको समग्र विकासमा ठूलो योगदान पुर्याएको छ र चीन अझै विश्वसमक्ष खुला हुँदैजाने उद्घोष पनि गरेको छ । योसँगै चीन हाल विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बनिसकेको छ र त्यसै गरी हरेक क्षेत्रमा चीन अग्रपङ्क्तिमा देखिन्छ ।

यसरी विश्व मानचित्रमा समग्र चीनको शान बढ्दैजानु चिनियाँ जनताका लागि गौरवको कुरा हो । तर यस अवस्थासम्म पुग्दा पनि चीनका कतिपय नागरिक गरिबीको रेखामुनि छन् । हाल युद्धस्तरमा चीनबाट गरिबी हटाउने कार्य सञ्चालित छ । सन् २०२० सम्म चीनलाई सामान्य समृद्घ समाज बनाउने घोषणा चिनियाँ राष्ट्राध्यक्षले गरेका छन् । सन् २०२० सम्म गरिबी उन्मूलन गर्ने योजना उनको छ । उनी सत्तामा आएदेखि गरिबी निवारण कार्यले अर्को फड्को मारेको छ ।

एक तथ्याङ्क अनुसार, सन् २०१२ मा ९ करोड ९० लाख गरिबी जनता थियो भने सन् २०१८ मा आउँदा १ करोड ६६ लाखमात्र बाँकी रहेको छ । जसरी चालिस वर्षमा ७० करोड गरिबी जनसंख्या घटाएर चमत्कार गरेको थियो, त्यसरी नै ६ वर्षमा ८ करोड गरिबी जनसंख्या घटाएर अर्को चमत्कार गरेको छ । गरिबी निवारणको इतिहासमा यो शानदार जित हो । राष्ट्राध्यक्ष सीले यस वर्ष २०१९ मा १ करोड गरिब जनतालाई गरिबीबाट मुक्त गर्न निर्देशन दिएका छन् । यो काम चीनमा हाल युद्धस्तरमा भइरहेको छ । गरिब जनता र पिछडिएको गाउँको समग्र विकासमा समस्त चीन लागिपरेको छ । यस्तै एउटा गरिबी रेखाबाट माथि उठेको गाउँ हो, नानयु गाउँ ।

ख्हपै प्रान्तको पाउतिङ सहरको लाइस्वै जिल्ला भित्रको यो नानयु गाउँ अहिले मुस्कुराएर हरियाली वनपाखाबीच पाहुनाको स्वागत गर्दैछ । केही वर्षअघिसम्म यस गाउँ पर्यटकको नजरमा त थिएनन् नै स्थानीय गाउँलेको जीवन पनि दयनीय थियो । अहिले गरिबी निवारण कोषको सहायताबाट यस गाउँको मुहार परिवर्तन भएको छ । मुहार मात्रै होइन नामसमेत परिवर्तन भएको छ । नानयु सामसुङ गाउँ ।

यो सामसुङ नाम यहाँको मनमा आएको सामसुङ नै हो । ख्हपै प्रान्तीय सरकारले प्रान्तभित्रका करिब २२ वटा गरिब जिल्लाको उत्थान् गर्न विद्युतीय सामाग्री उत्पादन कम्पनी सामसुङसँग हातेमालो गरेको छ । र यस गाउँमा पनि सहयोग गरेकोले ठाउँठाउँमा झुण्ड्याएका बोर्डहरूमा नानयु सामसुङ लेखेको हेर्नसकिन्छ । सन् २०१५ देखि चिनियाँ गरिबी निवारण कोषले "सुन्दर गाउँ-सामसुङ गाउँ"नामक योजना नान यु गाउँमा व्यवहारमा उतारेको हो । जसबाट नजिकको पर्यटकीय क्षेत्रलाई ध्यानमा राखी स्थानीय गाउँ पर्यटन तथा होमस्टेको विकास गरेको छ । यस नानयु गाउँको दश मिनेट र बीस मिनेटको दुरीमा पर्यटकीय क्षेत्र क्रमशः येसापो र सटु प्राकृतिक पार्क अवस्थित् छन् ।

हाल यस नानयु गाउँमा पन्ध्र वटा होमस्टे सञ्चालित छन् र "मामाह्वा द शान पो"मार्काको निर्माण पनि गरेको छ । (यो मामाह्वा स्थानीय जङ्गली फूलको नाम हो ।) यी होमस्टेले स्थानीय खाद्यपदार्थको खपतका साथै रोजगारी पनि उपलब्ध गराएको छ । स्थानीय महिलाहरूलाई होटेल व्यवस्थापनको तालिम दिएर यो होमस्टे सुरू गरिएको हो । यस गाउँमा मकै, ओखरलगायत केही सागसब्जीको उत्पादन हुने भए तापनि मुख्य आम्दानी स्रोत पर्यटकको सत्कार नै हो । हाल यी होमस्टेहरू पर्यटकबाट भरिभराउ हुने गरेका छन् साथै निजी होमस्टे पनि सञ्चालनमा आएका छन् ।

हामीले केही होमस्टेको अवलोकन पनि गरेका थियौं । सबै होमस्टेको डिजाइन एकै प्रकारका छन् र यसरी पनि एउटा मार्का निर्माण गरेको देखिन्छ । कतै आफ्नै पुरानो घरको पुनःनिर्माण गरी होमस्टे सञ्चालन गरिएको छ भने कतै होमस्टे सम्बन्धमा तालिमप्राप्त कर्मचारीद्वारा सञ्चालित छ । निकै सफा र होटेल बराबरको सुविधा पनि छ । तातो, चिसो पानीको व्यवस्था, सुन्दर सफा सुत्ने कोठा र बैठक, लाग्छ कुनै सुन्दर होटेलको कोठा हो । 'भर्खरै पाहुनाहरू गएका हुन् ।' एउटा होमस्टेको अवलोकनको क्रममा कोठा मिलाउँदै गरेकी छाइले भनिन् । 'हिजोआज स्कुल विदा भएको कारण व्यस्त छु । भोलि फेरि अर्को ग्राहक आउँदैछ ।' उनी एक्लैले दुई कोठा भएको होमस्टे सञ्चालन गरेकी छिन् । कोठा, बाथरूम सबै सफा र चिटिक्क पारी ग्राहकलाई स्वागत गर्ने तयारीमा थिइन् । यहाँ उनी एक्लैले ग्राहकको सत्कार, खानपिनको व्यवस्था र सरसफाइ सबै हेर्छिन् ।

मैले सोचेकी नेपालमा भए त कम्तिमा पनि तीन/चार जना चाहिन्छ होला । यस हिसाबले पनि देश र जनताको विकास भएको बुझ्न कठिन छैन । 'केही वर्षअघि जीवन निकै कठिन थियो, हाल राम्रो आमदानीसँगै जीवन पनि रमाइलो भएको छ । विभिन्न मानिसहरूसँग भेट गर्ने मौका पनि मिलेको छ ।' उनले मुस्कुराउँदै भनिन् । चिनियाँमात्रै होइन विदेशीहरूलाई पनि उनले सेवा दिएकी छिन् ।

यस गाउँमा तथ्याङ्क अनुसार, २२४ परिवारका ६७१ जना मानिसहरू बस्छन् । सन् २०१६ मा ६४ गरिब परिवार थिए भने सन् २०१८ देखि यो गाउँ गरिबीमुक्त गाउँ भएको छ । सबैभन्दा अचम्मलाग्दो कुरा भनेको यस गाउँ पैचिङको मन्तखौ जिल्लासँग सीमा जोडिएको लाईस्वै जिल्ला भित्रको एक गाउँ हो । राजधानी पैचिङबाट मात्र दुई घण्टामा पुग्नसकिन्छ । तर गरिबमुक्त हुन धेरै समय लाग्यो । सायद, यस गाउँ भौगोलिक अवस्थाका कारण विकट बन्न पुगेको थियो ।

हाल होमस्टेको स्थापनासँगै यस गाउँले नजिक येसापो प्राकृतिक पार्क र पैचिङमा अवस्थित सटु पार्कको भ्रमण गर्ने सहरिया पर्यटकका लागि गाउँको बिशुद्ध हावापानीका साथै अर्गानिक भोजनका लागि स्वागत गरिरहेको छ । साथै सहरबाट मात्र केही घण्टाको दुरीमा रहेको यो समृद्ध गाउँले धूलो र धुँवा अनि गाडीको हर्नको आवाजबाट टाढा चराको आवाज, कीराको आवाज, पातको आवाज र हरियाली डाँडाकाँडामा यहाँ सञ्चालित होमस्टेले मन भुलाउने अवसर दिएको छ । यहाँ व्यस्त सहरीयाले केही घण्टाभित्र नै गाउँको बिशुद्ध हावापानीको अनुभव लिनसक्छन् ।

जानकारी तथा लेखहरु