फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका समस्याः गरिबी र प्रदूषण

(GMT+08:00) 2014-04-16 15:26:44

        चिनियाँ संसद बार्‍हौँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले सरकारको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै चीनले वर्तमान अवस्थामा गरिबी र वातावरण प्रदूषणका विरुद्धमा युद्ध गर्ने घोषणा गरे। चीनमा सरकार परिवर्तनपछि पहिलो पटक बसेको अधिवेशन भएकाले पनि बार्‍हौँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई चीनमा मात्र होइन अन्तर्राष्ट्रिय जगतले समेत चासो दिएर नियालिरहेको थियो। राष्ट्राध्यक्ष सी चिङ फिङ र प्रधानमन्त्री ली ख छ्याङले चीनको नेतृत्व लिएपछि दुवै नेताले चीनमा सुधारका कार्यक्रमलाई फराकिलो ढङ्गले लागू गर्ने कुरा बारम्बार बताउँदै आएका छन्।

          चिनियाँ विकास र अर्थतन्त्रको वृद्धिदरसँगै अत्यधिक बढेको प्रदूषण र गरिबीलाई नजर अन्दाज गर्दा भयावह स्थिति देखा परेको भन्दै प्रधानमन्त्री ली खछ्याङले सरकारी प्रतिवेदनमा दुवै समस्या चीनका लागि जटिल रहेको र गम्भीर रुपमा चीनले यी दुई समस्याका विरुद्धमा युद्ध छेड्नु परेको उल्लेख गरेका छन्।

         चीनका ठूला सहरहरुमा बढ्दो वातावरण प्रदूषण चिन्ताको विषय बन्दै गएको छ। सहरी क्षेत्रमा अधिक जनघनत्व, फस्टाउँदो ‌औद्योगिक विकास, बढ्दो निजी सवारी साधनको प्रयोग आदिलाई वातावरण प्रदूषणका मुख्य कारकतत्व मानिन्छ। प्रधानमन्त्री लीको प्रतिवेदनमा कार्वनबाट हुने प्रदूषण नै वातावरण प्रदूषणको मुख्य कारकतत्व मानिएको छ। प्रधानमन्त्रीले लीले सरकारी प्रतिवेदनमा भनेका छन् 'चेतनावनीस्वरुप प्रकृतिले अयोग्य र अन्धाधुन्द विकासका विरुद्ध रातो बत्ती देखाउँदैछ।' लीले वायुमा हुने प्रदूषणको मात्रा 2 दशमलव 5 पीएम र 10 पीएमलाई खतरापूर्ण अवस्थाबाट घटाउन अतिआवश्यक भएको प्रतिवेदनमा समेटेका छन्।

          चीनको राजधानी बेइजिङ तथा चीनका अन्य ठूला सहरहरुमा अत्यधिक प्रदूषण बढेको समयमा वायुको गुणस्तर सूचक 300 भन्दा माथि पुग्ने गरेको छ। सामान्यतः बेइजिङको वायुको गुणस्तर सूचक 150 देखि 200 को बीचमा रहन्छ। वायुको गुणस्तर सूचक अनुसार सून्यदेखि 50 सम्मलाई अशल मानिन्छ भने 51 देखि 100 सम्मलाई मध्यम मानिन्छ। यो अवस्थामा वायुमा खासै प्रदूषण हुँदैन। 101 देखि 150 मा रहेको वायुको गुणस्तर सूचकलाई विशेष संवेदनशील समूहका व्यक्तिका लागि खराब मानिन्छ। 151 देखि 200 सम्मको वायुको गुणस्तर सूचकलाई अस्वस्थ मानिन्छ जसले विशेष संवेदनशील समूह अर्थात् बालबच्चा र बूढाबुढी तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिको स्वास्थ्यलाई थप हानी पुर्‍याउँछ। 201 देखि 300 सम्मको वायुको गुणस्तर सूचकलाई अति अस्वस्थ मानिन्छ जसले जोसुकैको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउनसक्छ। त्यस्तो अवस्थामा आकस्मिक कार्यक्रमहरु लागू गर्नुपर्ने हुन्छ। त्यसैगरी वायुमा भएको गुणस्तर सूचक 300 भन्दा माथि भयो भने खतरापूर्ण हुन्छ।

          राजधानी बेइजिङको आकाशमा प्रदूषित तुवाँलोले कहिलेकाहीँ हप्तौँ दिनसम्म ढाक्ने गर्छ। बेइजिङलाई दूषित तुवाँलोले ढाकेका बेला वायुको गुणस्तर सूचक 300 भन्दा माथि पुगेको हुन्छ। तसर्थ विशेष अवस्थाका नागरिकको स्वास्थ्यमा गम्भीर असर पुग्ने भएकाले सरकारले पछिल्लो समयमा तुवाँलो लागेका बेला बाहिर ननिस्कन र निस्कनै परे पनि मास्क लगाएर मात्र हिँडडुल गर्न सर्वसाधारणलाई आव्हान गरेको छ। त्यसरी तुवाँलो लागेको समयमा पूर्वप्राथमिक र प्राथमिक तहका विद्यालयहरु तुवाँलो नहट्नुजेलका लागि बन्द पनि हुन थालेका छन्।

         बेइजिङ वातावरण संरक्षण ब्यूरोका अनुसार, सन् 2013 को वर्षभरिमा बेइजिङमा 58 दिन अत्यधिक प्रदूषित थिए। दिनभर तुवाँलो लाग्ने र साँझपरेजस्तो हुने ती दिनहरुमा चीन सरकारले आकस्मिक कार्यक्रम सञ्चालन गरेको थियो। सन् 2013 देखि बेइजिङ शहरभित्र पैँतीसवटा वायु गुणस्तर अनुगमन स्टेशनले वातावरण अनुगमन सुरु गरेका छन्। वर्षभरि अनुगमन गर्दा बेइजिङमा वायु गुणस्तर सूचक सरदर 176 देखिएको छ।

          चिनियाँ अर्थमन्त्रालयले चालु वर्षमा 21 अर्ब 10 करोड युआनको बजेट उर्जा बचाउ तथा वातावरण संरक्षणमा छुट्ट्याएको छ। यो बजेट सन् 2013 को भन्दा 7.1 प्रतिशतले बढी हो। त्यसैगरी 64 अर्ब 90 करोड युआन कृषि, वन तथा जलसंरक्षणमा छुट्ट्याएको छ। यो बजेट पनि सन् 2013 को भन्दा 8.6 प्रतिशतले बढी हो। वातावरण प्रदूषण न्युनीकरणमा कृषि, वन तथा जलसंरक्षण कार्यक्रम प्रत्यक्ष रुपमा सम्लग्न छन्।

          वातावरण प्रदूषण न्युनीकरणका लागि चीनले विगत केही समयदेखि विभिन्न नीति नियमहरु बनाएर कार्यान्वयन सुरु गरेको छ। सार्वजनिक सवारी साधन प्रयोगमा जोड दिनका लागि चीनमा निजी सवारी साधन किन्नका लागि निकै ठूलो पापड पेल्नुपर्ने हुन्छ। राजधानी बेइजिङ र सांघाइ लगायताका ठूला सहरमा निजी सवारी साधनका रुपमा कार किन्न महङ्गो कर तिर्नुपर्ने र नम्बर प्लेट प्राप्त गर्नका लागि चिठ्ठामा आफ्नो नाम पर्नु पर्ने व्यवस्था गरेकाले कार किन्नेहरुले वर्षौँसम्म पालो कुरेर बस्नुपर्ने बाध्यता लगाइएको छ। पुराना सवारी साधन 15 वर्षभन्दा बढी चलाउन पाइँदैन। अझ नयाँ नियममा यसलाई 12 वर्षमा झार्ने अभ्यास हुँदैछ। बेइजिङमा चल्ने सवारी साधनले मात्र 20 देखि 30 प्रतिशत वातावरण प्रदूषण गराएको बेइजिङ वातावरण संरक्षण ब्यूरोले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। बेइजिङलाई साइकलको सहर भनिन्छ। तर खुट्टाले पाइडल हानेर चलाइने परम्परागत साइकललाई आधुनिक स्वाचालित विद्युत्तीय साइकलले विस्थापित गरिदिएका छन्। ब्याट्रीबाट चल्ने त्यस्ता साइकलले फाल्ने लिडका कारणले पनि वातावरण थप प्रदूषित बनेको छ।

        ठूला उद्योगधन्दाहरुलाई सहरी क्षेत्रबाट स्थानान्तरण गर्ने र अधिक प्रदूषण गर्ने उद्योग बन्द गर्ने नीति चीन सरकारले सुरु गरेको छ। अत्यधिक प्रदूषण गर्ने उद्योगहरुले भारी मात्रामा सरकारलाई जरिवाना तिर्नु पर्ने र अन्ततः उद्योग नै बन्द गर्नु पर्ने सम्मको अत्यन्त कडा नीति अवलम्बन गरिएको छ।

         राजधानी बेइजिङ सहरको पश्चिमी क्षेत्रमा रहेको क्यापिटल स्टिल उद्योगलाई हपेइ प्रान्तमा सारिएको छ। झण्डै डेढ लाख मजदुरहरु काम गर्ने यो उद्योग चीनका ठूला उद्योगहरुमध्येको एक हो। चीन सरकारले यही वर्षदेखि पुरानो प्रविधिबाट स्टिल उत्पादन क्षमतालाई 2 करोड 70 लाख टन कटौति गरेको छ। 2 करोड 70 लाख टन स्टिल भनेको इटालीले एकवर्षभरिमा उत्पादन गर्ने स्टिलको परिमाण बराबर हो। यो परिमाण चीनमा उत्पादित स्टिलको 2.5 प्रतिशत हो। त्यसैगरी सुधार नगरिएको परम्परागत प्रणालीबाट सन्चालित सिमेन्ट उद्योगबाट उत्पादित 4 करोड 20 लाख टन सिमेन्ट कटौति गर्दैछ। कटौति सिमेन्ट गतवर्षको उत्पादनको 2 प्रतिशत हो। देशभरका कोइलाबाट धातु गाल्ने 50 हजार साना उद्योगहरु चालु वर्षभित्र बन्द गर्ने घोषणा गरिएको छ। यसो गर्नु अत्यन्त चुनौतिपूर्ण मानिन्छ किनभने त्यहाँ कार्यरत मजदुरलाई अन्तन्त्र स्थापित गराउनुपर्ने बाध्यता छ भने ती उद्योगको लगानीको शोधभर्नामा ठूलो बजेट खर्च हुने गर्छ।

         प्रदूषण विरुद्धको लडाईंलाई सफल बनाउनका लागि प्रधानमन्त्री लीले उर्जालाई उपभोग र उत्पादनमा जोड दिनका लागि आणबिक र नवीकरणीय उर्जाको विकास गर्ने, चुस्त प्रसारण लाइनको विस्तार गर्ने र हरित तथा न्युन कार्वन प्रविधि जडान गर्ने कुरामा जोड दिएका छन्। वातावरण प्रदूषणको न्युनीकरणका लागि चालु वर्षमा चीनले 3 लाख 33 हजार 3 सय हेक्टर क्षेत्रफल कृषि जमिनमा रुख विरुवा रोपेर जङ्गल तथा घाँसे क्षेत्रको विकास गर्दै सीमसार क्षेत्रको संरक्षण गरी मरुभूमीकरणलाई रोक्ने लक्ष्य पनि राखेको छ।

         प्रदूषणको समस्या भयावह भएकै कारणले सरकारले यसलाई नियन्त्रण गर्नका लागि युद्ध छेड्नु परेको हो। जसका लागि जनचेतनालाई अभियानका रुपमा बढाइएको छ। परम्परागत चिनियाँ नयाँ वर्ष वसन्त चाडमा पटका पड्काउने काम बन्द गर्न सरकारले आव्हान गरिरहेको छ। फलतः गत वर्षभन्दा यो वर्षको वसन्त चाडमा राजधानी बेइजिङमा दस प्रतिशत कम पटका बिक्री भएको छ।

         चीन सरकारले युद्ध छेडेको अर्को विषय गरिबीको हो। गरिबीको कुचक्रभित्र स्वाभाविक रुपमा शिक्षा, स्वास्थ्य, चेतना, सामाजिक अवस्था, प्रतिष्ठा, आर्थिक श्रोतको परिचालन र पारिवारिक व्यवस्थापनहरु परेका हुन्छन्। अझ त्यसमाथि मौलाउँदो भ्रष्टाचारले राजनीति र प्रशासनतन्त्रलाई गाँजेको कुरा प्रधानमन्त्री लीले प्रतिवेदनमा उल्लेख गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले अगाडि सारेको सुधार र खुलापनसँगै भ्रष्टाचार न्युनीकरण, बैज्ञानिक न्याय प्रणाली, गरिब र धनीबीचको असमान दुरीको अन्त्य, सहर र गाउँबीचको असन्तुलित विकास प्रक्रियामा सुधार, सामाजिक अवस्थामा सुधार, बढ्दो बेरोजगारी समस्याको समाधान, श्रमको मूल्यलाई अन्तर्राष्ट्रिय स्तरमा समायोजन, आर्थिक विकासमा निजी क्षेत्रलाई समावेश आदि कुराको मियो नै गरिबी निबारण हो। चीन सरकारले गरिबहरुको सामाजिक उत्थानमा हरेक वर्ष विनियोजित बजेटलाई बढाउँदै लगेको छ। डबल अङ्कमा वृद्धि भइरहेको चिनियाँ अर्थतन्त्रलाई सीमित गरिनुको मुख्य कारण पनि धनी र गरिबबीचको दुरी कम गर्नु रहेको छ। गतवर्ष 7.7 प्रतिशतमा रहेको चिनियाँ आर्थिक वृद्धिदरलाई चालुवर्षमा 7.5 प्रतिशतमा राख्ने लक्ष्य राखिएको छ। विश्वअर्थजगतमा चीन दोस्रो शक्तिशाली स्थानमा रहे पनि अनगिन्ती आन्तरिक गन्जागोलले गर्दा अनियन्त्रित वृद्धिदरलाई नियन्त्रण गर्दै सन्तुलित र दिगो विकासमा चिनियाँ सरकारले जोड दिएको छ।

         सन् 2012 को नोभेम्बरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनासाथ चीनका वर्तमान राष्ट्राध्यक्ष सी चिङ फिङले चिनियाँ सपनाको नारा घन्काए। चिनियाँ सपना अनुसार समृद्ध चीन निर्माण गर्नका लागि गरिबी र प्रदूषण विरुद्धको युद्ध अहिले चीन सरकारले छेडेको छ। चिनियाँ सपनाको लक्ष्यमा पुग्नका लागि हजारौँ तगाराहरुमध्ये गरिबी र प्रदूषणलाई चीन सरकारले मुख्य शत्रु ठानेको छ।

          साभारः कान्तिपुर राष्ट्रिय दैनिक 2014 अप्रिल 11 तारिख शुक्रबार (2070 चैत्र 28)

जानकारी तथा लेखहरु
सुझाउ