फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय परिषदलाई फर्केर हेर्दा

(GMT+08:00) 2014-05-13 09:01:36

           नेपालमा रेडियो श्रोताको सुरुवात तत्कालीन रेडियो पैचिङबाट सुरु भएको हो। सन् 1985 तिर चितवनमा प्रकाशबाबु पौडेलले फ्रेण्डशीप क्लब गठन गरेर रेडियो पैचिङका श्रोतालाई सङ्गठित गर्ने काम सुरु गर्नु भएको थियो।

           सन् 1990 मा प्रकाशबाबु पौडेलले नेपाली श्रोताहरुबाट चीन भ्रमण गर्ने पहिले अवसर पाउनुभयो। त्यसपछि नेपालमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईका श्रोता क्लबहरु खुल्न थाले। सन् 1990 पछि नेपालमा सीआरआईका श्रोता क्लबहरु तीब्र रुपमा खुल्नुको पछाडि नेपालमा आएको राजनीतिक परिवर्तन थियो। विदेशी रेडियोको चार्मिङ एकातिर थियो भने चीन र चिनियाँ जनतालाई मन पराउने नागरिकहरुका लागि सीआरआई पहिलेदेखि नै लोकप्रिय रहँदै आएको थियो। त्यसमाथि सीआरआईले नेपालका श्रोता तथा श्रोता क्लबहरुलाई सन् 1990 को दशकमा उच्च सम्मान र आदर गर्दै हौसला र प्रेरणा थप्ने गर्दथ्यो। यो क्रम सन् 2010 सम्म जारी रह्यो।

          प्रकाशबाबु पौडेलले शिलान्यास गरेको श्रोता क्लबले 90 को दसकपछि पाँचसयको हाराहारीमा विकास पाइसकेको थियो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सीआरआईका श्रोता क्लबहरु यत्रतत्र रहेका थिए। सीआरआई नियमित सुन्ने श्रोताबीचमा पत्रमित्रताको राम्रो सन्जाल स्थापित भएको थियो। फलस्वरुप श्रोता क्लब खोल्ने र सञ्चालन गर्ने विषयमा पत्रमार्फत विचार विमर्श पनि हुने गर्दथ्यो।

           सन् 1995 को अन्ततिर सीआरआई नेपाली विभागका तत्कालीन प्रमुख कुशुम दिदी (छाङ्हो दिदी) अध्ययनको सिलसिलामा नेपालको त्रिभुवन विश्वविद्यालयमा जानु भएको थियो। उहाँले नेपाल जाँदा रेडियोमा नियमित पत्राचार गर्ने श्रोताको नाम ठेगाना र सम्भव भएसम्म फोन नम्बरसमेत लिएर जानु भएको थियो। उहाँले त्यो सूचि लगेर प्रकाशबाबु पौडेललाई दिनुभयो र काठमाडौँमा उपलब्ध हुनसक्ने श्रोतालाई अनुकूल समय मिलाएर बोलाउन उहाँलाई आग्रह पनि गर्नुभयो। प्रकाशबाबु पौडेलले आफ्नो एउटा गैरसरकारी संस्था खोलेर डिल्लीबजारमा सानो कार्यालय स्थापित गर्नु भएको थियो। उहाँले आफ्नो त्यही कार्यालयको टेलिफोन प्रयोग गरेर काठमाडौँमा रहेका सक्रिय श्रोतालाई बोलाउनुभयो। सन् 1995 को नोभेम्बरको एक शनिबार डिल्लीबजारमा सीआरआईका सक्रिय एक दर्जन श्रोता भेला भए। त्यो भेला सीआरआई र नेपाली श्रोता क्लबहरुको इतिहासमा एउटा कोशेढुङ्गा साबित भयो। सीआरआई नेपाली विभागका प्रमुख छाङ्हो दिदीको सामिप्यमा दिनभरको छलफलबाटनेपालमा छरिएर रहेका सीआरआईका श्रोताक्लबहरुलाई राष्ट्रिय रुपमा एउटै सञ्जालमा गोलबन्ध गराउने निर्णय गर्दै श्रोता क्लबहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय त्यही भेलाले गर्‍यो।

            सो भेलाले प्रकाशबाबु पौडेलको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति पनि गठन गर्‍यो। अनि सन् 1996 मे 18 तारिखमा थापाथलीस्थित नेपाल राष्ट्र बैंकको बैकर्स क्लबमा नेपालमा रहेका सीआरआईका श्रोता क्लबहरुको राष्ट्रिय सम्मेलन गरी सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल स्थापित भयो। सन् 1995 को नोभेम्बरदेखि लगातार 6 महिनासम्म साथीहरु सक्रिय रुपमा राष्ट्रिय परिषदको सम्मेलनको तयारीमा लाग्नुभयो। म आफू पनि सो आन्दोलनमा सुरुदेखि नै सहभागी हुन पाएँ। प्रकाशबाबु पौडेल बाहेक मलाई सम्झना भएसम्म राजेन्द्र रिमाल, टिकाराम घिमिरे, दुर्गा घिमिरे, राजेन्द्र पहाडी, शम्भु सुवेदी,एचके कपाली, मुरारी पराजुली र म डिल्लीबजारको सो पहिलो भेलामा सहभागी थियौँ। यदि कुनै साथीको नाम छुटेको भए म क्षमा चाहन्छु।

            सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको पहिलो राष्ट्रिय सम्मेलनमा सीआरआईबाट तेस्रो एसिया विभागका निर्देशक छन ली सिङ र नेपाली विभागबाट सुहाओ जानु भएको थियो। सम्मलेनमा प्रमुख अतिथि मन्त्री रामचन्द्र कुशवाह हुनुहुन्थ्यो। सम्मेलन भव्य र अद्वितीय रुपमा सम्पन्न भयो। प्रकाशबाबु पौडेलको नेतृत्वमा सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको पहिलो कार्य समिति गठन भयो।

            सीआरआईका नेपालमा छरिएर रहेका श्रोता तथा श्रोता क्लबहरुलाई राष्ट्रिय रुपमा एउटा छाता सङ्गठनमा गोलबन्ध गर्ने काम त गरियो तर यो संस्थाको जन्मसँगै टट्कारो रुपमा आर्थिक समस्या उभियो। अधिकांश श्रोताहरु त्रिभुवन विश्वविद्याल र त्यसका आङ्गिक क्याम्पसमा पढिरहेका विद्यार्थीहरु थिए। विद्यार्थीलाई काठमाडौँको बसाइमा कोठाभाडा र साँझ बिहान खाने समस्या नै मुख्य चुनौति थिए। त्यसमाथि राष्ट्रिय परिषदलाई मासिक लेबी बुझाएर सञ्चालन गर्नु उनीहरुका लागि असम्भव प्राय थियो। तैपनि युवा जोस र जाँगरका सामु जस्तासुकै चुनौति र समस्याहरु पनि भुसुनाजस्ता हुने रहेछन्। राष्ट्रिय परिषद गठन भएको केही समयमै सामाखुसीमा कार्यालय राख्ने निर्णय भयो र हरेक शनिबार कार्यालयमा पदाधिकारीहरु भेला हुने तथा महिनाको एकपटक अनिवार्य रुपमा पूर्ण बैठक बस्ने निर्णय पनि भयो।

            चियाखाजा खर्च कटाएर जोगिएको पैसाले लेबी तिर्न नपुगेपछि कतिपय साथीहरु बस नचढिकन हिँडेर आफ्नो काम सम्पन्न गर्दै राष्ट्रिय परिषदको कार्यालय भाडा तिर्न तयार हुनुभयो। कार्यालयलाई चाहिने न्युनतम् फर्निचरको व्यवस्था पनि गरियो। अनि सो स्थानमा जेनतेन झण्डै एक वर्ष कार��यालय सञ्चालन भयो। मासिक 7 सय रुपैयाँ भाडा तिर्नका लागि कठिन हुन थालेपछि प्रकाशबाबु पौडेलको महाराजगंजस्थित व्यावसायिक अफिसमा राष्ट्रिय परिषदलाई सार्ने निर्णय भयो।

            राष्ट्रिय परिषद गठन भएकै वर्ष पोखरा र चितवनमा यसका क्षेत्रीय सम्मेलनहरु सम्पन्न भएर क्षेत्रीय कमिटीहरु सञ्चालनमा आए। चितवनमा सीआरआईका सक्रिय श्रोता बीरेन्द्र पौडेलले मध्यमाञ्चल क्षेत्रीय सम्मेलनको मुख्य अभिभारा ऐतिहासिक रुपमा सम्पन्न गर्नुभयो भने पोखरामा अर्का सक्रिय श्रोता नवराज आचार्यले अभूतपूर्व रुपमा पश्चिमाञ्चल क्षेत्रीय सम्मेलन सम्पन्न गर्नुभयो।

             सन् 1997 जुलाई 1 तारिख बेलायती उपनिवेशबाट हङकङ मातृभूमि चीनमा समाहित हुँदा नेपालमा त्यसको स्वागत समारोहको आयोजना गर्ने काम राष्ट्रिय परिषद एक्लैले गरेको थियो। त्यसैगरी सन् 1999डिसेम्बर 20 तारिख मकाउ पोर्तुगलको उपनिवेशबाट मातृभूमि चीनमा समाहित हुँदा पनि राष्ट्रिय परिषदले भव्य कार्यक्रम आयोजना गरेको थियो।

            राष्ट्रिय परिषदलाई देशव्यापी बनाउने सिलसिलामा यसको दोस्रो साधारणसभा इलाम जिल्ला विकास समितिको सभाहलमा सन् 1998 अप्रिल 18 तारिखमा सम्पन्न भयो। इलाम मेरो गृहजिल्ला भएको र दोस्रो वार्षिक साधारणसभाको संयोजकका हैसियतले सो साधारण सभामा सहभागी हुने कार्यसमितिका सदस्य तथा पर्यवेक्षकका रुपमा सहभागीहरुलाई निःशुल्क रुपमा खान र बस्नको समेत व्यवस्था गर्न सफल भएकोमा मलाई अहिलेसम्म सन्तुष्टि र गौरव लागेको छ।

            सन् 1999 मा अप्रिल 17 तारिख शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय परिषदको दोस्रो सम्मेलनले प्रकाशबाबु पौडेललाई पुनः अध्यक्षमा निर्वाचित गर्‍यो।

            सन् 2004 सेप्टेम्बर 18 तारिख शनिबार त्रिपुरेश्वस्थित होटल अर्किडमा सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको तेस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सुसम्पन्न भयो। सो सम्मेलनले मेरै नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो र राष्ट्रिय परिषदका निवर्तमान अध्यक्ष प्रकाशबाबु पौडेलको नेतृत्वमा सल्लाहकार समिति पनि गठन गर्‍यो। सन् 2005 सीआरआई नेपाली सेवा स्थापना भएको तीसौँ वर्ष थियो। सो अवसरमा राष्ट्रिय परिषदले नौ वर्ष पार गर्दै दस वर्षमा लाग्दै गरेको र नेपाली सेवाको तीसौँ वार्षिकोत्सवलाई मध्यनजर गरेर हामीले तीन सदकको यात्रा स्मारिका प्रकाशन गर्‍यौँ। नेपाल र चीन दुवै देशमा विमोचित पहिलो पुस्तकका रुपमा रहेको सो स्मारिका राष्ट्रिय परिषदको अहिलेसम्मको सबैभन्दा गहन र उल्लेख्य कार्य थियो। सन् 2005 मै राष्ट्रिय परिषदले नेपाली विभागलाई सम्मानस्वरुप ताम्रपत्र प्रदान गर्‍यो भने सोही वर्ष सूचना विभागमा भएको कार्यक्रममा सेवा निवृत्त हुन लाग्नुभएकी नेपाली विभागकी प्रमुख छाङ्गो दिदीलाई अभिनन्दनपत्रका रुपमा ताम्रपत्र प्रदान गर्‍यो। राष्ट्रिय परिषदले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा नेपाल सरकारका बहालवाला मन्त्री, नेपालका लागि चिनियाँ राजदूत, नेपाली सञ्चारमाध्यमहरु, नेपाल चीन मैत्री संस्थाका प्रमुखहरु, चीनका लागि पूर्व नेपाली राजदूतहरु, सीआरआई नेपाली सेवामा योगदान पुर्‍याउनु भएका पूर्व विशेषज्ञहरुलाई नियमित रुपमा बोलाउने र उहाँहरुको भावनालाई कार्यक्रममा महत्वपूर्ण आर्कषणका रुपमा प्रस्तुत गर्दै आएको थियो।

            सन् 2006 अगष्ट 1 देखि म सीआरआई नेपाली सेवाको नेपालको प्रमुख संवाददातामा नियुक्त भएपछि मैले राष्ट्रिय परिषदको अध्यक्षबाट राजीनामा दिएँ। राष्ट्रिय परिषदका महासचिव टिकाराम घिमिरेले त्यसपछि कार्यवाहक अध्यक्षका रुपमा राष्ट्रिय परिषदलाई नेतृत्व दिनुभयो।

            सन् 2010मा नक्सालस्थित होटल क्राउनप्लाजामा भएको चौथो सम्मेलनले रमेशकुमार भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो। राष्ट्रिय परिषदको सन् 2014 को फेब्रुअरी 15 तारिख ठमेलस्थित होटल च्वाइसमा भएको पाँचौ राष्ट्रिय सम्मेलनले मानबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

           पहिलो सम्मेलनदेखि चौथो सम्मेलनको पूर्वार्द्धसम्म राष्ट्रिय परिषद सक्रिय थियो। तर चौथोदेखि पाँचौ सम्मेलनसम्म केही सुस्ताउन पुग्यो। अब फेरि राष्ट्रिय परिषद सक्रिय हुनेछ भन्ने आशा गर्ने थुप्रै ठाउँहरु रहेका छन्। आगामी वर्ष सन् 2015 सीआरआई नेपाली सेवाको चालीसौँ वार्षिकोत्सव हो भने राष्ट्रिय परिषद पनि उन्नाईस वर्ष पूरा गर्ने अवसरमा हुनेछ। तसर्थ राष्ट्रिय परिषद बीस वर्षमा लागेको र सीआरआई नेपाली सेवाले चालीसौँ वार्षिकोत्सव मनाउँदै गर्दा राष्ट्रिय परिषदले ठोस कार्य गर्ला र गुमेको शाख बटुलेर पहिलेको इतिहासलाई कायम राख्ला भन्ने अपेक्षा सर्वत्र छाएको छ।

हालसम्म राष्ट्रिय परिषदले गरेका महत्वपूर्ण कार्यहरु

           1.स्थापनाको एक वर्षपछि नै सन् 1997 जुलाई 1 तारिख हङ्कङ मातृभूमि चीनमा समाहित हुँदा सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले काठमाडौँको बागबजारमा भव्य कार्यक्रमको आयोजना गरेको थियो। तत्कालीन सूचना तथा सञ्चार मन्त्री झलनाथ खनालको प्रमुख आतिथ्य र नेपालका लागि चिनियाँ राजदूत महामहिमचाङ चिउहुआनको विशेष आतिथ्यमा भएको सो समारोहको समाचार नेपालका मुख्य पत्रपत्रिकाहरुले प्रथम पृष्ठमा प्रकाशन गरेका थिए। हङकङ चीनमा फर्कदा नेपालमा आयोजित यो एक मात्र कार्यक्रम थियो। त्यसैगरी सन् 1999डिसेम्बर 20 तारिख मकाउ मातृभूमि चीनमा समाहित हुँदा पनि राष्ट्रिय परिषदले तत्कालीन परराष्ट्रमन्त्री डा रामशरण महतको प्रमुख आतिथ्य र नेपालका लागि चिनियाँ राजदूत महामहिम चङ सुयोङको विशेष आतिथ्यमा थापाथलीस्थित होटल ब्लुबर्डमा एक भव्य विचार गोष्ठीको आयोजना गरेको थियो।

           2.सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषदले स्थापनापछि चितवन, पोखरा र इलाममा क्षेत्रीय स्तरका कार्यक्रमहरु आयोजना गरेको थियो।

           3.हरेक वर्षको जुन 25 तारिखमा राष्ट्रिय परिषदको आयोजनामा नेपाल चीन मैत्री सम्बन्धलाई जनस्तरमा पुर्‍याउन सीआरआई नेपाली सेवाले पुर्‍याएको योगदानका बारेमा विचार गोष्ठीको आयोजना हुने गरेको थियो। राष्ट्रिय परिषदले आयोजना गरेका हरेक कार्यक्रममा नेपाल सरकार (तत्कालीन श्री 5 को सरकार) का बहालवाला मन्त्री तथा पूर्वप्रधानमन्त्री, नेपालका लागि चिनियाँ राजदूत र चीनका लागि पूर्व नेपाली राजदूतहरुलाई प्रमुख अतिथि, विशेष अतिथि र अतिथिका रुपमा बोलाउने गरेको थियो।

           4.राष्ट्रिय परिषदले स्थापनापछि हरेक वर्षजस्तो सीआरआईबाट विभिन्न प्रतिनिधिमण्डलको नेपाल भ्रमणको आतिथ्यसत्कार गरेको थियो। जसमा सन् 2003 मा सीआरआईका प्रथम उपनिर्देशक छन मिन यीज्यूको नेतृत्वको उच्च प्रतिनिधिमण्डल नै नेपाल भ्रमण गर्ने सीआरआईको अहिलेसम्मको सबैभन्दा उच्च दर्जाको प्रतिनिधिमण्डल रह्यो।

           5.सीआरआईले सञ्चालन गरेका विभिन्न ज्ञान विज्ञान प्रतियोगिताका पुरस्कृत श्रोतालाई पुरस्कार वितरणको विशेष समारोह पनि राष्ट्रिय परिषदको नेतृत्व र पहलकदमीमा काठमाडौँ, चितवन, लुम्बिनी, पोखरा र तनहूमा आयोजना गरिएका थिए।

           6.सन् 2005 मा राष्ट्रिय परिषदले सीआरआई नेपाली सेवाको तीसौँ वार्षिकोत्सवका उपलक्ष्यमा तीन दसकको यात्रा स्मारिका प्रकाशन गरेको थियो। सो स्मारिकामा नेपालका चीन विज्ञ व्यक्तित्वहरुको धारणा, सीआरआईमा काम गरिसक्नु भएका पूर्व विशेषज्ञ तथा प्राज्ञका अनुभवहरु, नेपाल चीन कुटनीतिक तथा मैत्री सम्बन्धका महत्वपूर्ण दस्तावेजहरु, सीआरआई नेपाली सेवाको योगदानको समीक्षा, चिनियाँ परराष्ट्र नीतिको विश्लेषण, नेपाल चीन मैत्री संस्थाका प्रमुखहरुको विचार समेटिएको छ। राष्ट्रिय परिषदले अहिलेसम्म गरेका कार्यमध्ये यो सबैभन्दा महत्वपूर्ण, ठोस उपलब्धिमुलक, युगान्तकारी, ऐतिहासिक र उल्लेख्य रहेको कुरा जगजाहेर छ।

           7.सन् 2008 को जुलाईमा राष्ट्रिय परिषदले नेपाल चीन मैत्री संस्थाहरुसँग मिलेर 29 औँ गृमकालीन ओलम्पिक खेलकूद समारोह सूरुहुन सय दिन बाँकी रहँदा उल्टो गन्ती सुरु भएको अवसरमा काठमाडौँको दशरथ रङ्गशालादेखि बसन्तपुर क्षेत्रसम्म विशाल र्‍यालीको आयोजना गर्ने अवसर प्राप्त गरेको थियो।

           8.राष्ट्रिय परिषदले विभिन्न अवसरमा चीन र चिनियाँ संस्कृति झल्किने फोटो प्रदर्शनी तथा चलचित्र प्रदर्शनीको आयोजना पनि गरेको छ। यस्ता प्रदर्शनीहरु तत्कालीन बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संविधानसभा भवन) नयाँ बानेश्वसरमा समेत आयोजना गरेको थियो।

           9.आधुनिक चीनमा महान् नेता तङ स्याओ फेङको निधनमा राष्ट्रिय परिषदका सबै पदाधिकारीहरु सामूहिक रुपमा चिनियाँ दूताबासमा गई शोक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए। चीनमा विभिन्न सम��मा हुने प्राकृतिक विपत्ति (विनासकारी भूकम्प, बाढीपहिरोआदि)बाट भएको जनधनको क्षतिप्रति राष्ट्रिय परिषदले चीन सरकार र चिनियाँ जनताको पक्षमा ऐक्यवद्धता प्रकट गर्दै विज्ञप्ति जारी गर्ने तथा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको थियो।

            10.नेपाल चीन मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउने काम राष्ट्रिय परिषदले गर्दै आएको छ। नेपाली सञ्चारमाध्यममा राष्ट्रिय परिषदका गतिविधिले स्थान पाउँदा आम नेपाली जनतामा चीन र चिनियाँका बारेमा पनि सकारात्मक जानकारी पुग्न सकेको छ। सूक्ष्म तर प्रभावकारी काममध्येको यो कार्यलाई राष्ट्रिय परिषदले दीर्घकालीन रुपमा अगाडि बढाएको छ।

राष्ट्रिय परिषदका चुनौतिहरु

            1.नियमित आर्थिक श्रोत नहुनु नै राष्ट्रिय परिषदको सबैभन्दा ठूलो चुनौति हो। कार्यक्रमहरु आयोजना गर्दा लाग्ने हल भाडा, चियाखाजा खर्च, यातायात खर्च, सञ्चार खर्च, व्यवस्थापन खर्च राष्ट्रिय परिषदका पदाधिकारीहरुले गोजीबाट निकाल्नुको कुनै विकल्प छैन। त्यतिमात्र हैन कार्यालय सञ्चालन खर्च, स्टेसनरी खर्च लगायतका नियमित खर्चको कुनै श्रोत नभएका कारणले लामो समयसम्म राष्ट्रिय परिषदको कार्यालयलाई प्रकाशबाबु पौडेलको व्यावसायिक कार्यालयमा आश्रित गर्नुपर्‍यो। तसर्थ राष्ट्रिय परिषदका सामु देखिएको सबैभन्दा ठूलो चुनौति आर्थिक श्रोत नहुनु रहेको छ।

             2.स्थापनाकालमा जस्तो राष्ट्रिय परिषदमा आवद्ध हुने श्रोता तथा श्रोता क्लबहरुमा सक्रियता र उत्साह अहिले पाइँदैन। यसो हुनुको कारण सीआरआई नेपाली सेवाले नेपाली श्रोता र राष्ट्रिय परिषदप्रति देखाएको उदासिनता प्रमुख कारण हो। पहिले पहिले सीआरआई नेपाली सेवाले राष्ट्रिय परिषदसका सबै कार्यक्रमलाई उचित मूल्याङ्कन गर्दथ्यो। राष्ट्रिय परिषदले काठमाडौँमा आयोजना गरेका हरेक कार्यक्रममा सीआरआई नेपाली सेवाका पदाधिकारीहरुको गरिमामय उपस्थिति हुने र राष्ट्रिय परिषदले आयोजना गरेका कार्यक्रममा सहभागी सबै श्रोतालाई उपहारको व्यवस्था गर्ने गरेको थियो। तर विगत पाँच छ वर्षदेखि सीआरआई नेपाली सेवाले त्यसप्रकारका उत्साहवर्द्धक कार्यक्रमहरु गर्न सकेको छैन। राम्रो पत्राचार गर्ने श्रोतालाई उत्प्रेरित गर्दै रेडियोबाट हुने पत्राचार र सम्झनास्वरुप पठाइने स्मृति चिन्हहरु अहिले श्रोताले पाउन छोडेका छन्। तसर्थ श्रोता र राष्ट्रिय परिषदले एकोहोरो सीआरआईलाई गर्दै आएको माया पातलिएको तीतो सत्य रहेको छ। त्यसकारण श्रोता र श्रोता क्लबमा उदासिनता छाएको छ। सक्रियता मर्दै गएको छ। अनि त्यसको प्रतिरुप राष्ट्रिय परिषदमा पनि स्पष्ट देखिएको छ। यो राष्ट्रिय परिषदका सामु रहेको अर्को चुनौति हो।

            3.रेडियो प्रसारणले आधुनिक प्रविधि प्रयोग गर्दै सर्टवेभ र मिडियम वेभ प्रसारणलाई विस्थापित गराइ दिएको छ। संसारभरि नै एफएम प्रसारणले श्रोतालाई सहज र सरल बनाइ दिएको छ। नेपालीहरुको पनि हात हातमा मोबाइल फोन पुगेको छ। अनि मोबाइल फोनलाई बहुप्रयोगका रुपमा फेसबुक चलाउन, अनलाइन समाचार हेर्न र एफएम रेडियो सुन्नमा अत्यधिक प्रयोग हुँदै आएको छ। सीआरआई नेपाली सेवा काठमाडौँमा एफएममार्फत प्रसारण हुँदै आएको भए पनि सन् 2013 को अक्टोबरबाट त्यो रिले प्रसारण पनि बन्द भएको छ। अब पुरानो प्रविधिको रेडियो नेपालीका घरमा पाउन मुस्किल छ। तसर्थ नियमित रुपमा सीआरआई सुनिरहेका हजारौँ नेपाली श्रोता सीआरआईका कार्यक्रम सुन्नबाट विमुख भएका छन्। सीआरआई नेपाली सेवाको वेभसाइटमा पनि यसका सबै कार्यक्रम समावेश गरिएका छैनन्। वेभसाइटमा समाचार सुन्न सकिने व्यवस्था गरिएको छैन। तसर्थ नचाहँदा नचाहँदै पनि नेपाली श्रोताले सीआरआईको पहुँचबाट बन्चित हुनु परेको छ। रेडियो सुन्ने श्रोता नभएपछि यसका क्लबहरु निस्कृय हुने भइहाले। अनि क्लबहरुको राष्ट्रिय छाता संस्थालाई यसको प्रत्यक्ष असर पर्ने नै भयो। राष्ट्रिय परिषदका सामु देखिएको यो अर्को चुनौति हो।

          4.सीआरआईका अधिकांश श्रोता युवापुस्तका छन्। विश्वविद्यालय र विभिन्न क्याम्पसमा अध्ययनरत श्रोताहरु एक चरण पूरा गरेपछि व्यावहारिक कारणले छिन्नभिन्न हुने गर्छन्। कोही अध्ययन सकेर घर फर्कन्छन् भने कोही जागिरको चक्करमा लाग्छन्। सीआरआईका कतिपय सक्रिय श्रोता अहिले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा पुगेका छन्। समय, काल र परिस्थितिले श्रोतालाई सङ्गठित गर्न नसक्नुले पनि भनेजस्तो गरि राष्ट्रिय परिषदले गति लिन सकेको छैन। सीमित र पुरानै अनुहार मात्र राष्ट्रिय परिषदमा रहिरहने चुनौति पनि थपिएको छ।

           5.सीआरआईका सक्रिय श्रोता नेपालको ग्रामीण भेगमा छन्। उनीहरु राष्ट्रिय परिषदमा आवद्ध हुन चाहन्छन् तर राष्ट्रिय परिषद काठमाडौँ केन्द्रित छ। ग्रामीण भेगका श्रोता काठमाडौँ पुग्न, राष्ट्रिय परिषदका कार्यक्रममा सहभागी हुन, सम्मेलनमा भाग लिन, नियमित बैठकमा उपस्थित हुन सम्भव छैन। यसको मुख्य कारक तत्व आर्थिक अभावसँग जोडिएको छ। त्यसकारण राष्ट्रिय परिषदका सामु रहेको यो अर्को टट्कारो चुनौति हो।

अन्तमा

            सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको स्थापना गर्न र त्यसको जग बसाउने काममा समेत प्रत्यक्ष र सक्रिय भूमिका निर्वाह गर्ने अवसर मैले पाएँ। सन् 1996 मे 18 तारिख स्थापित राष्ट्रिय परिषदमा आवद्ध रहँदै सुरुमा कार्यवाहक सचिव र पछि पूर्ण सचिव हुँदै तेस्रो राष्ट्रिय सम्मेलनबाट म अध्यक्ष भएँ। सन् 2006 देखि सीआरआईमा संवाददाताका रुपमा कर्मचारी भएपछि मैले अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिई सल्लाहकारको रुपमा राष्ट्रिय परिषदमा आवद्धता जारी राखेँ। सन् 2013 अगष्ट 15 तारिखदेखि सीआरआई नेपाली विभागमा म विदेशी विशेषज्ञका रुपमा कार्यरत छु। राष्ट्रिय परिषदको पाँचौँ राष्ट्रिय सम्मेलनले फेरि पनि मलाई सल्लाहकारमा मनोनित गरी राष्ट्रिय परिषदमै आवद्ध गराएको छ।

            आज राष्ट्रिय परिषदले गौरवशाली 18 वर्ष पार गरेको छ। यस सुखद अवसरमा मैले राष्ट्रिय परिषदका 18 वर्षको समीक्षा गरेको छु। म यतिबेला पैचिङमा रहेको र कुनै तथ्यतथ्याङ्क साथमा नभएकाले केवल स्मरणको भरमा यो सानो लेख तयार बनाएको हुँ। यसमा धेरै तथ्यतथ्याङ्कहरु छुटेका छन्। अनि लेख्ने क्रममा थुप्रै साथीहरुको नाम र योगदान छुटेको हुन सक्छ। तिथिमिति तलमाथि परेको हुनसक्छ। त्यसकारण मेरो लेखबाट कोही कसैलाई कुनै असर परेको भए म अहिले नै क्षमापार्थी छु। तपाईंका मूल्यवान सुझाव, प्रतिक्रिया, टिप्पणी, छुटेका कुराको टिपोट, गाली र प्रश्नलाई म सँधै स्वागत गर्दछु। यो लेखले कुनै पनि संस्थाको प्रतिनिधित्व गर्दैन। तसर्थ यसलाई मेरो व्यक्तिगत धारणा मान्नु हुन पनि हार्दिक अनुरोध गर्दछु।

chetnath@ymail.com

जानकारी तथा लेखहरु
सुझाउ