![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ प्रचलन र संस्कृतिमा रातो रङको छुट्टै महत्व छ। चिनियाँ झण्डा रातो छ र चिनियाँ सरकारी चिन्ह पनि रातै रङ्को छ। कसैको स्वागतमा अथवा कसैलाई शुभकामना दिनका लागि पनि रातो ब्यानरमा सुनौला अक्षरले लेख्ने प्रचलन छ। मृत्यु संस्कार र समवेदनामा भने रातो रङ निशेधित छ।
चिनियाँ संस्कृतिमा विभिन्न प्रकारका रङले फरक अर्थ बोकेका हुन्छन्। रातो रङ अशल भाग्यको प्रतीक मानिन्छ भने गुलावी रङ मनोरन्जनको प्रतीक हो। त्यसैगरी आरुजस्तो रातो रङलाई निर्णय र अवसरको प्रतीक मानिन्छ। सुन्तले रङले पैसाको प्रतिनिधित्व गर्छ अनि पहेँलो रङले चाहिँ परीक्षा अथवा जागिरको सफलताको सन्देश दिन्छ। सेतो रङ स्वास्थ्यको प्रतीक हो र हल्का हरियो वृद्धिको प्रतीक हो। हल्का निलो रङलाई आशा पूर्ति हुने प्रतीकका रुपमा लिइन्छ र हल्का बैजनीलाई आदर्शको प्रतीक मानिन्छ।
चीनमा खुशी मनाउन, शुभकामना आदानप्रदान गर्न, सफलता व्यक्त गर्न, स्वागत गर्न, बिदाइ गर्न सबैतिर रातो रङको बाहुल्य रहन्छ। अनि परम्परागत संस्कृतिमा रातो रङसँगै अपरिहार्य रुपमा आउने दुईवटा बस्तु हुन् चिनियाँ कलात्मक गाँठो र लालटिन।
चीनमा मात्र नभएर संसारभरि नै चिनियाँ रेष्टुरेन्ट, चिनियाँ नियोग, चिनियाँ व्यावसायिक केन्द्र, चिनियाँ वायुसेवा कम्पनी लगायतका ठाउँमा रातो रङका चिनियाँ कलात्मक गाँठो र लालटिन देख्न सकिन्छ। झट्ट हेर्दा सजावटका सामान जस्तो मात्र लाग्न् यी दुई चिज बिना चिनियाँ खुशी र सफलता अपूरो रहन्छ। किनभने यी वस्तुको चिनियाँ संस्कृतिमा निकै महत्व रहेको छ।
कलात्मक गाँठो
चिनियाँ कलात्मक गाँठोलाई सजावटको हस्तकला मानिन्छ। चिनियाँ भाषामा यसलाई चुङकोच्वे भनिन्छ। यसको अर्थ हो चिनियाँ गाँठो। तर यसलाई चिनियाँ गाँठो मात्र नभनेर चिनियाँ कलात्मक गाँठो भन्दा समधुर सुनिन्छ। गाँठो त जोसुकैले सजिलै बनाउन सक्छन् तर चिनियाँ गाँठो बनाउनका लागि विशेष ज्ञान आवश्यक पर्ने र यो अत्यन्त आकर्षक भएकाले कलात्मक गाँठो भनिएको हो।
चिनियाँहरुले कलात्मक गाँठोलाई कारमा झुण्ड्याउने, घरको झ्याल अथवा ढोकामा झुण्ड्याउने, हात झोलामा झुण्ड्याउने, घरको पर्खाल अथवा दराजमा झुण्ड्याउने गर्छन्। यसरी कलात्मक गाँठो राख्नुको मुख्य कारण अलश भाग्य, शुभेच्छा प्रकट, खुशी, समृद्धि, वैभव, सफलता र प्रगतिको सङ्केतलाई देखाउनु हो। बजारमा यस्ता चिनियाँ कलात्मक गाँठो प्रश्वस्त किन्न पाइन्छ। साँचो बोक्ने रिङदेखि विभिन्न उपहारहरुमा चिनियाँ कलात्मक गाँठो राखिएको हुन्छ।
चिनियाँ कलात्मक गाँठोको इतिहास एक लाख वर्षभन्दा पुरानो रहेको छ। सन् 960 देखि 1279 को अवधिमा चीनमा ताङ र सोङ वंशको शासनकालमा चिनियाँ गाँठोलाई व्यापक रुपमा प्रचलनमा ल्याइयो। पछि मिङ वंशको शासनकालमा यो अझै लोकप्रिय भयो। पुरातात्विक अध्ययन अनुसार एक लाख वर्ष पहिले चीनमा हड्डीबाट बनेका लुगा सिलाउने सियो र काँटाबाट कलात्मक गाँठाहरु बनाइन्थे। गाँठो बनाउन प्रयोग हुने धागोलाई ड्रागनको प्रतीकात्मक मानिने हुनाले चिनियाँ कलात्मक गाँठोलाई पवित्र हस्तकलाका रुपमा पनि लिने गरिन्छ। चिनियाँ साहित्य, कविता, निजी चिठी जस्ता कुरामा त्यस्ता चिनियाँ कलात्मक गाँठाहरुको वर्णन गरेको पाइन्छ। अठारौँ शताब्दीमा प्रकाशित 'रातो सभाघरको सपना' उपन्यासमा चिनियाँ कलात्मक गाँठोका बारेमा विस्तृत रुपमा वर्णन गरिएको छ।
सन् 1912 मा चीन गणतन्त्र भएदेखि सन् 1976 मा सांस्कृतिक क्रान्तिको समापनसम्मको अवधिमा चीनमा थुप्रै सांस्कृतिक परम्परा नास भए। सांस्कृतिक क्रान्तिको अवधिमा त चिनियाँ चङ्गाको परम्परासँगै चिनियाँ कलात्मक गाँठो र चिनियाँ लालटिनको प्रयोगमा एक प्रकारको प्रतिवन्ध लगाइएको थियो। सन् 1980 को दसकपछि चीन सरकारले चिनियाँ संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्न थालेपछि फेरि सांस्कृतिक मान्यताहरु लोकप्रिय हुन थाले।
चिनियाँ कलात्मक गाँठोलाई आधारभूत रुपमा एघार प्रकारमा वर्गीकरण गर्न सकिन्छ। ती आधारभूत गाँठालाई जोडेर अरु जटिल गाँठा पनि बनाउन सकिन्छ। गाँठाको आकृति अनुसार पनि पुतली, फूल, चरा, ड्रागन, माछा र जुत्तासम्म बनाउन सकिन्छ। हिजोआज सुन, चाँदीका गहना पनि चिनियाँ कलात्मक गाँठाको आकृतिमा बनाउन थालिएको छ।
परम्परागत चिनियाँ पोशाकमा चिनियाँ कलात्मक गाँठोलाई विभिन्न पोशाकमा पनि प्रयोग गरिन्थ्यो। यसलाई शुद्ध सौन्दर्यका रुपमा महिला तथा पुरुषका पोशाककहरु ज्याकेट, रात्रिपोशाक, पटुका, टाँक, शृङ्गार आदिमा प्रयोग हुन्थ्यो। चिनियाँ गाँठोको टाँक हड्डीको टाँकभन्दा लामो समय टिक्ने मानिन्थ्यो। त्यसैगरी विभिन्न बहुमूल्य धातुका माला र बाद्यवादनयन्त्रमा पनि यस्ता कलात्मक गाँठाहरुले सिँगारिएका हुन्छन्। तरवार, जग, ऐनालाई सजाउन पनि यस्ता हस्तकलाका कलात्मक गाँठाको प्रयोग हुने गरेको छ।
अहिले पनि चिनियाँहरु आपसमा प्रेम साटासाट गर्दा, सुस्वास्थ्यको कामना गर्दा, दीर्घायुको कामना गर्दा र मित्रता निर्वाह गर्दा चिनियाँ परम्परागत कलात्मक गाँठो उपहार दिन प्रचलन कायम छ।
लालटिन
चिनियाँ कलात्मक गाँठोले जस्तै चिनियाँ लालटिनले चिनियाँ संस्कृतिलाई बोकेको हुन्छ।
धेरैजसो चिनियाँ लालटिन रातो रङमा अण्डाकारमा बनेको हुनछ। लालटिन बनाउनका लागि बाँस, काठ, स्टिल, बेत जस्ता सामग्री प्रयोग हुन्छ। अनि त्यसमा वरिपरीबाट रातो कागज अगवा रेशमी कपडाले बरिन्छ।
खासमा हावाको झोक्काबाट बत्ती ननिभोस् भनेर लालटिन बनाउने प्रचलन भएको हो। हिजोआज यसभित्र बत्ती राख्नेभन्दा पनि यसलाई सजावटका लागि प्रयोग गरिन्छ। चिनियाँ नयाँ वर्ष वसन्त चाडमा सबैभन्दा धेरै लालटिनको प्रयोग गरिन्छ। त्यसकारण यसलाई लालटिन उत्सव पनि भनिन्छ। पहिले पहिले धनीमानीका घरकम्पाउण्डमा लालटिनहरु झुण्ड्याइएका हुन्थे। यसले उनीहरुको इज्जत र शान झल्कन्थ्यो। घरभित्र पसेपछि उज्यालोका लागि राखिएका बत्तीसँगै यसको सौन्दर्य अत्यन्त मनमोहक हुन्थ्यो।
आधुनिक युगमा चिनियाँ लालटिनका विषयमा थुप्रै कविता, उपन्यास, चलचित्र, चित्रकला, गीत तथा नृत्यहरु सिर्जना भएका छन्। चिनियाँ लालटिन उत्सवमा लालटिन गाउँखाने कथाको प्रतियोगिता पनि आयोजना हुने गर्छ। परम्परादेखि नै चल्दै आएको यो लोकसंस्कृति चिनियाँ समाजमा निकै रमाइलो छ। पहिले पहिले चिनियाँहरु आफ्नो घरको प्रवेशद्वारमा रङ्गीचङ्गी लालटिनहरु झुण्ड्याउँथे। त्यसरी झुण्ड्याइएका लालटिनसँग साना साना कागजका टुक्रामा गाउँखाने कथाका प्रश्न तथा रहस्यहरु राखिएका हुन्थे। उत्तर दिने व्यक्तिले अन्दाजका भरमा कुनै शब्द, कविता अथवा अनुच्छेदमा दिनुपर्दथ्यो। यसो गर्दा लालटिन उत्सव रोमाञ्चक, आकर्षक, अन्तर्क्रियात्मक र ज्ञानवर्द्धक हुन्थ्यो। यो चलन अहिले पनि चिनियाँ संस्कृतिमा रहेको छ। लालटिन उत्सवमा बालबालिकाहरु लालटिन बोकेर मन्दिर अथवा कुनै पार्कमा जान्छन् र गाउँखाने कथाको उत्तर लेख्ने गर्छन्।
चिनियाँ चरित्र देखाउनका लागि पनि चिनियाँ लालटिनलाई प्रयोग गर्ने गरिन्छ। कुनै चिनियाँ नियोगका कार्यालय, चिनियाँ रेष्टुरेन्ट, चिनियाँ व्यावसायिक कार्यालय, अथवा निजी घरमा यस्ता लालटिनहरु देखिन्छन्। विशेष गरी चिनियाँ नयाँ वर्ष लगायतका पर्वहरुमा चिनियाँ लालटिनलाई अनिवार्य ठान्ने गरिन्छ।
चिनियाँ लालटिन उत्सव र यसको उत्पत्तिका बारेमा विभिन्न कथाहरु प्रचलनमा रहेका छन्। चिनियाँ नयाँ वर्ष जाडो ओरालो लाग्ने र वसन्त ऋतु सुरु हुने भएकाले त्यसको स्वागतमा लालटिनको प्रयोग हुन थालेको भनाइ रहेको छ भने दुई हजार वर्ष पहिले हान वंशले उत्तर क्षेत्रमा रहेको ध्रुबताराको प्रतीकका रुपमा लालटिनको पूजा गर्ने प्रचलन बसाए। त्यसैगरी स्वर्ग र देवताका प्रतीकका रुपमा पनि यसलाई लिइन्छ। स्वर्गबाट एउटा सुन्दर सारस धर्तीमा आएको थियो। तर कुनै गाउँलेले त्यो सारसलाई मारिदियो। स्वर्गका राजाको प्रिय चरालाई गाउँलेले मारेपछि ती राजाले त्यो गाउँलाई नै ध्वस्त बनाउने भए। राजाकी छोरीले थाहा पाएर गाउँलेलाई बच्न सुझाव दिइन्। कसरी बच्ने भन्ने कुरा गाउँलेलाई थाहा नभएकाले एकजना विद्वानले सबैले घरघरमा रातो लालटिन बालेर गाउँलाई नै सजाउने र रातभर आतसवाजी गर्ने सल्लाह दिए। उनीहरुले त्यसरी नै सबैतिर रातो लालटिनले गाउँलाई सजाए। रातभर आतसवाजी पनि गरे। स्वर्गबाट राजाले सेनालाई गाउँलाई सखाप बनाउन पठाएका थिए। स्वर्गका सेना आइपुग्दा गाउँमा अगाडि नै आगो लागेजस्तो थियो। उनीहरु फर्किएर गाउँमा त पहिले नै आगो लागिसकेको रहेछ भन्ने खबर राजालाई दिए। यसरी लालटिनले गाउँलाई जोगाएको दन्त्यकथामा आधारित भएर चीनमा अहिले पनि लालटिन उत्सवको आयोजना गरिन्छ।
हिजोआज काठमाडौँको बालुवाटारस्थित चिनियाँ दूताबासमा मात्र होइन ठमेल क्षेत्रमा चिनियाँ व्यावसायिक केन्द्रहरुमा पनि यस प्रकारका लालटिनहरु झुण्ड्याइएको देखिन्छ। फोटोमा देखिएजस्तो लालटिन कतै देखियो भने यो चीन र चिनियाँ संस्कृतिसँग सम्बन्धित छ भनेर सजिलै थाहा पाउन सकिन्छ।
साभारः हट नेपाल। वर्ष 1 अङ्क 8,जुन/जुलाई 2014 (असार 2071)
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |