फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँहरुको प्यारो अङ्क आठ

(GMT+08:00) 2014-08-19 08:59:06

           अमेरिकीहरु 13 अङ्कलाई अफापशिद्ध मान्छन् भन्ने मैले स्कुल पढ्दा नै सुनेको थिएँ। अझ अमेरिकी होटलहरुमा त 13 नम्बरको कोठा नै हुँदैन भन्ने पनि सुनेको छु। हामी नेपालीहरु पनि 8 र 12 अङ्कलाई त्यति राम्रो मान्दैनौँ। कुनै काम गर्दा 8/12 पर्‍यो भने अशुभ हुन्छ भन्ने गरिए पनि त्यति ध्यान दिएको पाइँदैन। 7 अङ्कलाई भने भाग्यमानी नम्बर भनिन्छ तर किन हो थाहा छैन। मुशलमानहरु 786 नम्बरलाई शुभ र भाग्यमानी मान्छन्। यदि तपाईले कुनै पसलको माथिपट्टि 786 अङ्क लेखेको देख्नुभयो भने त्यो मुशलमानको पसल हो भनेर अन्दाज गर्न सक्नुहुन्छ।

            हाम्रो छिमेकी मुलुक चीनसँग नेपालको घनिष्ट सम्बन्ध भए पनि चीनका बारेमा हामीमा धेरै जानकारी छैन। म पनि चीन आउनुभन्दा अगाडिसम्म चिनियाँ संस्कृतिका बारेमा सून्य थिएँ। चीनमा आएपछि थाहा पाएँ चिनियाँहरु विभिन्न अङ्क अथवा नम्बरमा आफ्नै खाले विश्वास गर्छन्। तर चिनियाँ संस्कृतिमा कुनै एउटा निश्चित अङ्क मात्र नभएर विभिन्न अङ्कलाई पनि विशेष महत्व दिएर विश्वास गर्छन्।

            विभिन्न अङ्कलाई चिनियाँहरुले विश्वास गरेर ती अङ्कलाई राम्रो अथवा नराम्रो भन्नुको पछाडि ती अङ्कको उच्चारण पद्धतिले पनि काम गरेको छ। चिनियाँ शब्द उच्चारण चारवटा तहबाट हुने गर्छ। शब्द एउटै भए पनि उच्चारण तहअनुसार अर्थ फरक फरक हुन सक्छ।

            अङ्क गणितका विभिन्न नम्बरहरुलाई चिनियाँ उच्चारण र त्यसबाट आउने अर्थ अनुसार गरिने विश्सास चिनियाँ संस्कृतिका रुपमा स्थापित छ। चिनियाँ अङ्कको अर्थ र चिनियाँ विश्वासको चर्चा गैर चिनियाँका लागि भने निकै रमाइलो विषय हुने गरेको छ।

            तीन अङ्कलाई चिनियाँ भाषामा सान भनिन्छ। अङ्क तीन जनाउने सान र जीवन अथवा जन्म जनाउने शान उस्तै सुनिने भएकाले चिनियाँ परम्परामा तीन अङ्कलाई राम्रो मानिन्छ। तीन अङ्क राम्रो भए जस्तै अङ्क चार चिनियाँ संस्कृतिमा नराम्रो मानिन्छ। किनभने चारलाई चिनियाँ भाषामा 'स' भनिन्छ जुन मृत्यु जनाउने शब्दकै उच्चारण जस्तो हो। त्यसकारण 4 अङ्कलाई घृणा गर्ने मात्र होइन कतिपय घर, सुपरमार्केट, अस्पताल अथवा कार्यालयमा चौथो तला नै हुँदैन। तला 1, तला 2, तला 3 पछि तला 3 ए हुन्छ अनि तला 5 हुन्छ। (हेर्नुहोस् फोटो) तर सबै ठाउँमा यो नियम लागू हुँदैन। किनभने यसो गर्दा लिफ्टको नम्बर, कोठा नम्बर, टेलिफोनको एक्सेन्सन नम्बर मिलाउन समस्या पर्ने भएकाले मन नपरे पनि चौथो तला निर्धारण गरिएको पनि हुन्छ। अझ कतिपय प्रान्तमा त सवारी साधनको नम्बरमा अन्तमा 4 आउने कुरालाई नै निशेष गरिएको पनि सुनिन्छ। अङ्क 5 को उच्चारण उ हुन्छ जसको अर्थ केही पनि छैन भन्ने हो। त्यसकारण 5 लाई मात्र खासै चासो नदिए पनि 5 सँग जोडिएर आउने 3 र 4 ले अर्थलाई व्यापक परिवर्तन गराउँछ। 53 लाई उशान उच्चारण हुन्छ जसको अर्थ जीवन छैन भन्दा नराम्रो रुपमा लिइन्छ भने 54 को उच्चार उस हुन्छ जसको अर्थ मृत्यु छैन भन्ने हो। त्यसकारण यो राम्रो मानिन्छ। तीन अङ्क राम्रो हुँदाहुँदै पाँचसँग आएर नराम्र भयो भने चार अङ्क नराम्रो हुँदा पनि पाँचसँग जोडिनाले राम्रो भयो।

           चिनियाँ भाषामा 6 अङ्कलाई लिउ उच्चारण गरिन्छ। लिउको अन्य अर्थमा वृद्धि हुनु, फैलनु, व्यापक हुनु पनि भएकाले व्यापारमा 6 अङ्कलाई अत्यन्त राम्रो मानिन्छ। पश्चिमा जगतमा 666 नम्बरलाई अपशकुन मानिए पनि चीनमा भने 666 लाई भाग्यशाली नम्बर मानिन्छ।

            7 अङ्कलाई चाहिँ चीनमा राम्रो र नराम्रो दुवै रुपमा लिइन्छ। पहिले पहिले 7 अङ्कलाई अशुभ मानिन्थ्यो किनभने सातलाई सातले गुणा गरेर आउने योग 49 दिनसम्म मरेको मान्छेको आत्मा धर्तिमै भौँतारिरहेको हुन्छ भन्ने विश्वास थियो। अनि परापूर्वकालमा चिनियाँ चन्द्रमासको सातौँ महिनालाई प्रेत महिना पनि भनिन्थ्यो। तर हिजोआज सातौँ महिनालाई चीनमा अत्यन्त राम्रो मानिन्छ। चिनियाँ चन्द्रमासको क्यालेन्डर अनुसार सातौँ महिनाको सातौँ दिनलाई चीनमा प्रेम दिवस मनाइन्छ।

            चिनियाँ परम्परा, संस्कृति र विश्वासमा 8 अङ्क सबैभन्दा राम्रो, शुभ, अवसर र शकुनका रुपमा मानिन्छ। चिनियाँ बौद्ध धर्मको परम्परा अनुसार पनि 8 अङ्क शुभ सङ्केतका रुपमा प्रचलित छ। कमलको फुल फक्रदा आठ पत्तामा हुने भएकाले बौद्ध धर्ममा कमलको फूल र 8 अङ्कलाई चीनमा सम्मान गरिन्छ। दुईवटा 88 अङ्क जोडिएर आउँदा खुशी र उत्सव सँगसँगै ल्याउँछ भन्ने मान्यता पनि चीनमा रहेको छ। आम चिनियाँ समाजमा 8 अङ्कलाई अत्यधिक प्राथमिकता दिइन्छ। कुनै शुभकार्य, व्यापार, संगठन, रेष्टुरेन्ट, बैंक, यातायात आदिको थालनी कार्य महिनाको 8 तारिख गरिन्छ। उदाहरणका लागि 29 औँ गृष्मकालीन ओलम्पिक खेललाई लिन सकिन्छ। चीनमा आयोजना भएको 29औँ गृष्मकालीन ओलम्पिक खेलकूद सन् 2008 को 8 औँ महिना (अगष्ट) को 8 तारिख अपरान्ह 8 बजेर 8 मिनेट 8 सेकेण्ड जाँदा उद्घाटन भएको थियो। चिनियाँ अपार्टमेन्टको आठौँ तलाको फ्ल्याट किन्नका लागि तुलनात्मक रुपमा महङ्गो पर्छ। जुनसुकै चिनियाँ रेष्टुरेन्टमा टेबुलको वरिपरी आठवटा कुर्सीको सेट मिलाइएको हुन्छ।

           चीनमा 8 अङ्कको महिमा त्यतिमै सीमित रहँदैन। सन् 2003 मा सिचुवान एयरलाइन्सले सबै अङ्क 8 वटा 8 भएको टेलिफोन नम्बर 23 लाख 30 हजार युआनमा किनेको थियो। त्यतिखेर बीबीसीले यसलाई समाचार नै बनाएको थियो। आठवटा आठ भएकाले सो एयरलाइन्सले शौभाग्यशाली नम्बरका रुपमा सो टेलिफोन लाइन किनेको थियो। त्यसैगरी चच्याङ प्रान्तको सदरमुकाम हाङ्चोउको एकजना व्यक्तिलाई आफ्नो सवारी साधनको नम्बर प्लेट मात्र 11 लाख 20 हजार युआनमा बिक्री गर्न अफर आएको थियो। उनको सवारी साधनको नम्बर A88888 थियो। (हेर्नुहोस् फोटो) चीनमा नयाँ सवारी सधान किन्न पाए पनि नम्बर प्लेट पाइँदैन। त्यसकारण कसैले प्रयोग गरेको पुरानी सवारी सधान किनेर त्यो नम्बरप्लेट प्रयोग गर्नुपर्ने हुन्छ। अझ कति सवारीमालिकले त पुरानो सवारी साधन बेचे पनि नम्बरप्लेट चाहिँ बेच्दैनन् र अर्को सवारी सधान किनेर त्यही नम्बर प्लेट प्रयोग गर्छन्। आठ नै आठ भएकाले सो सवारी नम्बरप्लेट शौभाग्यशाली सोचिएकाले सवारी साधनको मूल्यभन्दा नम्बरप्लेटको मूल्य अधिक भएको हो।

           चिनियाँहरु विच्याट तथा अन्य सामाजिक सञ्जालको च्याटको अन्तमा बिदा माग्दा 88 लेख्छन्। आठको उच्चारण पा हुन्छ। चिनियाँहरुले बिदा माग्दा पाइपाइ भन्छन्। अनि 88 भनेको पाइपाइ हो जसको अर्थ तपाईंको बाँकी समय सुखद होस् भन्ने पनि हो। चीनबाट उडान गर्ने प्रायजसो अन्तर्राष्ट्रिय उडानको सङ्केत पनि अङ्क आठबाट गरिएको हुन्छ। साघांईबाट क्यानाडाको टोरन्टो उडान गर्ने क्यानेडिएयन उडानको नम्बर AC88 हो। हङ्कङबाट आस्टर्डम उडान गर्ने नेदरल्याणको केएलएमको उडान नम्बर KL888 हो। बेइजिङबाट अबुधावी उडान गर्ने इतिहाद एयरलाइन्सको उडान नम्बर EY888 हो। बेइजिङदेखि सानफ्रान्सिस्को उडान गर्ने युनाइटेड एयरलाइन्सको उडान नम्बर UA88 हो। एयर अस्टनाको बेइजिङबाट अल्माटीको उडान न्मबर KC888 हो भने ब्रिटिस एयरलाइन्सको सिचुवानको छन्तुबाट लण्डनसम्मको उडान नम्बर BA88 हो। हङकङबाट भान्कोभर उडान गर्ने क्याथे प्यासिफिकको उडान नम्बर पनि CX888 हो।

            यात्रा सुरक्षित र सफल होस् भन्ने विश्वासले सबै उडानको नम्बरमा 8 अङ्क समावेश गरिएको हो। नेपाली बजारमा पाइने तासको पछाडिपट्टि 888 लेखिएको पनि तपाईंको भाग्य जमोस् र खेल जित्न सफल हुनुहोस् भनेर राखिएको हो।

            9 अङ्कलाई चिनियाँ भाषामा चिउ उच्चारण गरिन्छ जुन शब्द दीर्घकालीन अथवा कालजयी भन्नेसँग मिल्ने हुनाले 9 लाई पनि राम्रो अङ्कका रुपमा लिइन्छ। पहिले पहिलेका बादशाहको पोशाकमा 9 वटा ड्रागन बनाइएको हुन्थ्यो जसलाई सन्तुलन र सद्भाव दर्शाउने प्रतीक मानिन्थ्यो।

            अमेरिकीहरुले 13 नम्बरलाई नराम्रो मान्छन्। अमेरिकी प्रचलनको अनुसरण गर्दै कतिपय अपार्टमेन्टहरुमा तेर्‍ह तलालाई 13 नम्बरले उल्लेख गरिएको हुँदैन। त्यसैगरी चिनियाँ परम्परामा 14 नम्बर पनि नराम्रो भएकाले 12 बाट एकैचोटी 15 तला हुन्छ। लिफ्टमा चाहिँ 12 बाट एकैचोटि 15 तला हुन्छ। अनि कतैकतै चाहिँ बार्‍हौँ तलालाई 12, तेर्‍हौँ तलालाई 12A, चौधौँ तलालाई 12B र 15 तला उल्लेख गरिएको हुन्छ। (हेर्नुहोस् फोटो)

             एकात्मक अङ्क बाहेक विभिन्न अङ्कहरु सँगसँगै आउँदा दिने अर्थ पनि चिनियाँ संस्कृतिमा निकै अनौठो र रमाइलो मानिन्छ। 1314 अङ्कलाई चीनमा सबैभन्दा रोमान्चक मानिन्छ किनभने यसको चिनियाँ उच्चारण 'यिसान यिस' 'यिशान यिश'सँग मिल्दोजुल्दो हुन्छ जसको अर्थ सँधैभरी अथवा सदावहार भन्ने लाग्छ। त्यसैगरी 521 लाई पनि रोमान्चक नम्बर मानिन्छ। यसको उच्चारण उआरयी हुन्छ जुन वोआइनी जस्तै सुनिने हुनाले यसलाई रोमान्टिक मानिएको हो। चिनियाँ भाषामा वोआइनी भनेको म तिमीलाई प्रेम गर्छु अर्थात् आइ लभ यु हो।

             त्यसैगरी 510 लाई पनि प्रेम दर्शाउने नम्बर मानिन्छ। 510 लाई 'उ यावो लिङ' उच्चारण 'वो यावो नि' सँग मिल्छ जसको अर्थ हुन्छ म तिमीलाई चाहन्छु। चीनमा नवविवाहित जोडीलाई शुभकामना दिँदा 3399 नम्बर प्रयोग गरिन्छ। चिनियाँ भाषामा 3399 को उच्चारण सानसान चिउचिउ हुन्छ जसको अर्थ जीवनभर सँगै रहनु भन्ने हुन्छ।

             514 नम्बरलाई दुर्भाग्यपूर्ण मानिन्छ किनभने यसको उच्चारण वु यावो स हुन्छ जसको अर्थ म मर्न चाहन्छु भन्ने लाग्छ। क्यानाडाको मोन्ट्रियलमा पढ्ने आफ्ना साथीलाई चिनियाँहरु जिस्क्याउने गर्छन्। किनभने मोन्ट्रियलको टेलिफोन एरियाकोड 514 हो। अरुलाई अपमान गर्नुपर्‍यो अथवा सराप्नु पर्‍यो भने 748 नम्बर प्रयोग हुन्छ। छ स पाको अर्थ 'मरिहाल' अथवा 'नर्कमा जा' भन्ने हुन्छ।

            अङ्कमाथिको चिनियाँ विश्वासको प्रभाव समाजमा कसरी पर्छ भन्ने सानो उदाहरणका रुपमा सन् 2013 जनवरी 4 तारिखलाई लिन सकिन्छ। सो दिन चीनमा लाखौँ जोडीहरुले बिहे गरेका थिए। बिहे गर्नका लागि त्यही दिन रोज्नको पछाडि चिनियाँ अङ्कमाथि गरिने विश्वास र त्यसको उच्चारणले गर्दा भएको हो। सन् 2013 जनवरी 4 तारिख शुक्रबार थियो। चिनियाँ चलन अनुसार मिति लेख्दा शुक्रबार 2013 जनवरी 4 लखिन्छ। चीनमा हप्ताको पहिलो दिन सोमबार भएकाले शुक्रबार पाँचौ बार हो। सतर्थ शुक्रबार 2013 जनवरी 4 लाई यसरी लेखिन्छ 5201314 जसको उच्चारण 'वो आइ नि यीशान यीश' जस्तै हुन्छ। अनि अर्थ हुन्छ म तिमीलाई जीवनभरका लागि माया गर्छु। आफ्नो बैबाहिक जीवनलाई दिगो बनाउनका लागि सो दिनमा लाखौँ चिनियाँहरुले बिबाह गरेका थिए। बिहे गर्दा नै चिनियाँहरु आफ्नो दाम्पत्य जीवन कति टिक्छ भन्ने कुरामा शङ्का गर्छन्। चीनमा दैनिक 10 हजारले सम्बन्ध बिच्छेद गर्छन् र यो तथ्याङ्क बढ्दो छ।

साभारः सेतोपाटी, 2071 भाद्र 1 गते आइतबार (2014 अगष्ट 17 तारिख)

जानकारी तथा लेखहरु
सुझाउ