फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दीर्घजीवनका लागि चिनियाँ अभ्यास

(GMT+08:00) 2014-09-02 17:23:49

चीनको राजधानी पैचिङ सहरी क्षेत्रको बसोबास क्षेत्र अर्थात् अपाटमेन्ट एरियामा कसरत गर्ने निश्चित स्थल निर्माण गरिएको हुन्छ। हरेक अपाटमेन्ट क्षेत्रमा बसोबास गर्ने चिनियाँ वृद्धवृद्धाहरु बिहान र साँझको समयमा त्यहाँ गएर विभिन्न कसरत गरिरहेका हुन्छन्। अन्य मुलुकको तुलनामा चिनियाँ कसरत फरक छ। चिनियाँ कसरतको साइनो ज्यादै पुरानो र चिनियाँ संस्कृतिसँग सम्बन्धित छ। त्यसकारण चिनियाँ वृद्धवृद्धाहरु कसरत गर्दा कुनै चिनियाँ लोकधुन अथवा गीत बजाएर सँगै थाइचीको नृत्य गरिरहेका हुन्छन्। झट्ट हेर्दा नाचिरहेजस्तो देखिए पनि खासमा उनीहरु कसरत गरिरहेका हुन्छन्। नाच्नु र कसरत गर्नुमा केही भिन्नताहरु छन्। नृत्य गर्दा गीत र सङ्गीतका नियमहरु अनुसार शरीरको चाल निश्चित हुन्छ। तर कसरत गर्दा गीत र सङ्गीतको धुनसँगै शारीरिक अभ्यास गर्नुपर्छ। त्यसकारण गीत र सङ्गीत फरक भए पनि शारीरिक अभ्यासका चरणहरु एकै प्रकारका हुन सक्छन्। चिनियाँ परम्परामा कसरत गर्नु दैनिक जीवनको नियमित कार्य हो र यसले मानिसलाई दीर्घजीवी बनाउँछ। कसरत स्थलहरुमा अथवा सार्वजनिक पार्कहरुमा बिहान र बेलुका टहलिन जाँदा निकै रमाइला दृश्यहरु देख्न पाइन्छ। एक्लै अथवा सामूहिक रुपमा यसरी गरिने कसरतमा कहिलेकाहीँ तीसजनाभन्दा बढीको भीड पनि देख्न सकिन्छ।

           चीन सरकारले सबै चिनियाँ नागरिकले निःशुल्क रुपमा दैनिक कसरत गरुन् भन्नका लागि यस प्रकारका पूर्वाधारहरुको निर्माण गरिदिएको छ। कसरत गरेपछि विश्रामस्थलसँगै कसरत हेर्न आउने व्यक्तिहरु बस्ने स्थलको समेत व्यवस्था गरिदिएको छ। त्यति मात्र हैन पानी पर्दा ओत लाग्ने स्थल र घाम लाग्दा छायामा बस्ने व्यवस्था समेत गरिएको छ। कसरत स्थल बाहेक सार्वजनिक पार्कहरुमा समेत अभ्यास गर्ने र खेलहरु लेख्ने स्थान बनाइएको हुन्छ।

           युवापुस्ता भने बाडमेन्टन अथवा बास्केटबल खेल्न रुचाउँछन्। समयसीमा र पश्चिमा संस्कृतिको प्रभावले गर्दा युवापुस्ता त्यति चिनियाँ परम्परागत कसरतमा झुम्मिएको पाइँदैन। तर बृद्धबृद्धाहरुका लागि भने प्रशस्त समय हुने र परिचित अपरिचत भेट भएर बिहान बेलुकाको समय कटाउँदै नियमित कसरत गर्दा उनीहरुले आफ्नो स्वास्थ्यलाई पनि प्रभावकारी रुपमा सुधार गरिरहेका हुन्छन्।

           कसरत गर्ने स्थलहरुमा छुट्टाछुट्टै रुपमा टुपीदेखि पैतालासम्मको कसरत गर्ने औजार र स्थल निर्धारण गरिएको हुन्छ। घाँटी, कमर, घुँडा, जोर्नी, खुट्टा, हात, छाती, औँला, कुर्कुच्चा लगायत शरीरको कुन भागलाई कस्तो प्रकारको कसरतको आवश्यकता छ त्यही अनुसारको कसरत गर्न सकिन्छ र ती सबै औजार तथा पूर्वाधारहरु त्यस्ता कसरत स्थलमा व्यवस्थित रहेका हुन्छन्। समुदायमा रहेका र सामुदायिक हेरचाहमै रहे पनि त्यस्ता स्थलहरु अत्यन्त व्यवस्थित र सुरक्षित छन्। आफूलाई चाहिएको अथवा आफ्ना चिकित्सकले सिफारिस गरे अनुसारको अभ्यास गर्नका लागि कुनै पालो कुर्नु पर्दैन। किनभने फराकिला फाँटमा धेरैवटा विकल्प सहितका कसरत औजार रहेकाले आरामले गर्न सकिन्छ। यसो हेर्दा यो एउटा जीमखाना अथवा फिजियोथेरापी सेन्टरजस्तो देखिन्छ।

           यस्ता कसरतस्थलमा स्वस्थ व्यक्तिसँगै विभिन्न स्वास्थ्य समस्या भएका वृद्धवृद्धाहरु समेत मन्द गतिमा कसरत गरिरहेका हुन्छन्। पक्षघात भएका, स्वासप्रशासको समस्या भएका, मुटुको समस्या भएका, नसाको समस्या भएका जस्ता दीर्घरोगीहरु समेत कसरत गरेर आफूलाई फुर्तिलो र गतिशील बनाइरहेका हुन्छन्।

           चिनियाँ संस्कृतिमा चङ्गा उडाउनु पनि शारीरिक अभ्याससँग सम्बन्धित छ र यो हजारौँ वर्ष पुरानो चिनियाँ प्रचलन पनि हो। जसमा टाउको, घाँटी, हात, आँखाको एकैचोटि अभ्यास भइरहेको हुन्छ। त्यसैगरी थाइची खेलले एकाग्र गराउने, शरीरका सबैभागलाई तन्दुरुस्त राख्ने, बिहान थाइची खेल्दा दिनभरी फुर्तीको महशुस हुने गर्छ। चिनियाँ ओपेराहरुमा प्रयोग हुने भाला नृत्य, मुकुण्डो नृत्य जस्ता नृत्यका चरणहरु पनि दैनिक नियमित कसरतमा प्रयोग हुने गर्छन्। टिनको पातामा कुखुराको प्वाँखलाई जोडेर बनाइएको चुङ्गीलाई खुट्टाले एक अर्कामा पास गरेर खेल्ने खेल पनि चिनियाँ कसरतको अर्को लोकप्रिय माध्यम हो। यी कसरतका लागि कुनै पूर्वाधारको आवश्यकता पर्दैन। तर विशेष शारीरिक व्यायाम गर्नका लागि भने निश्चित पूर्वाधारको अति आवश्यकता परेको छ। त्यसकारण चीन सरकारले बेलैमा लगानी गरेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने खर्चलाई बचत गरेको छ। हरेक व्यक्तिले नियमित रुपमा शारीरिक कसरत गर्‍यो भने उसले आफूलाई गतिशील राख्छ। अझ वृद्ध अवस्थामा पुगेका व्यक्तिका लाग यो अपरिहार्य छ। सामान्यतया सेवा निवृत्त व्यक्तिहरुले आफूलाई स्वस्थ राख्नका साथै समय कटाउने, एक्लोपनको महशुस हुन नदिने, डिप्रेसनबाट जोगाउने, सामाजिक घुलमिलमा समलग्न गराउने र आफ्नो जीवनलाई उर्जाशील बनाउनका लागि कसरत केन्द्रहरु अर्थपूर्ण र फलदायी देखिएका छन्।

          त्यसो त यो कसरत केन्द्रहरु वृद्धवृद्धाका लागि मात्र होइन युवापुस्ताका लागि पनि उत्तिकै महत्वपूर्ण र आवश्यक छन्। समय अभावका कारणले युवा पुस्ता त्यस्ता अभ्यास र कसरतमा त्यत्ति झुम्दैन तर चिनियाँ वृद्धवृद्धाहरुका लागि भने कसरत अत्यन्त लोकप्रिय छ। हाम्रो नेपाली समाजमा भए युवापुस्ताले मात्र कसरत गर्ने हो भन्दै वृद्धवृद्धाहरु बेलैमा ओछ्यान लाग्ने गर्छन्। फलतः नेपाली वृद्धवृद्धाहरु विविध स्वास्थ्य समस्या र शारीरिक पीडाबाट गुज्रिरहेका छन्।

            सन् 1949 मा नयाँ चीन स्थापनापछि चिनियाँहरुको जीवनस्तर क्रमशः सुधारिदै गएको छ। जीवनस्तर सुधारिँदै गएपछि चिनियाँहरुको औसत आयुमा पनि महत्वपूर्ण रुपमा सुधार आएको छ। चीन विश्वको सबैभन्दा ठूलो विकासन्मोख मुलुक हो। विश्व स्वास्थ्य सङ्गठनको 2013 को तथ्याङ्क अनुसार चिनियाँ नागरिकको औसत आयु 74.2 वर्ष रहेको छ। विश्वमा सबैभन्दा धेरै ‌औसत आयुबाट गणना गर्दा चीनको स्थान 97औँ रहन्छ। त्यसैगरी संयुक्त राष्ट्र संघको 2010 को तथ्याङ्क अनुसार चिनियाँ नागरिकको औसत आयु 72.71 वर्ष रहेको छ। संयुक्त राष्ट्र संघको तथ्याङ्कमा चीन विश्वमा 95औँ स्थानमा रहेको छ।

           चीनमा 65 वर्ष कटेका नागरिकको संख्या जम्मा जनसंख्याको दस प्रतिशतभन्दा बढी रहेको छ। यसरी हेर्दा अहिले चीनमा 65 वर्षभन्दा माथिको जनसंख्या 13 करोडभन्दा बढी छ। यो संख्या समयको वृद्धिसँगै चिनियाँ वृद्धको संख्या अझै बढ्दै जाने अनुमान गरिएको छ। किनभने सुधारिएको चिनियाँ जीवन शैलीले सदरद आयुलाई बढाउँदै लगेको छ भने त्यसमाथि एक सन्तानको चिनियाँ नीतिले पनि वृद्ध उमेरका चिनियाँ संख्या तुलनात्मक रुपमा बढी हुनेछ। बढी उमेरसम्म बचाउने अर्को पक्ष भनेको चिनियाँ संस्कृतिमा रहेको नियमित कसरत पनि हो। एकातिर वृद्धवृद्धा चिनियाँहरुका लागि कसरत अपरिहार्य बनेको छ भने त्यही कसरतले चिनियाँहरुलाई दीर्घजीवी पनि बनाउँदै छ।

                    साभारः हट नेपाल मासिक पत्रिका। वर्ष 1, अङ्क 10, 2071 भदौ (अगष्ट/सेप्टेम्बर 2014)

जानकारी तथा लेखहरु
सुझाउ