फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ढुङ्गाको जङ्गल

(GMT+08:00) 2015-02-04 10:50:41

         'स्टोन फरेस्ट' अर्थात् ढुङ्गाको जङ्गल। ढुङ्गाको पनि जङ्गल हुन्छ कहीँ! ढुङ्गा र गग्य्राङ भएको ठाउँमा त जङ्गलको परिकल्पना पनि गर्न सकिन्न। तर ढुङ्गाको जङ्गल साँचो हो अनि विश्व प्रशिद्ध पनि। नामले यो जति अनौठो छ, यसको प्राकृतिक बनोट र सौन्दर्यले पनि यो त्यतिकै प्रशिद्ध छ। यसलाई विश्वको पहिलो आश्चर्य पनि भनिन्छ।

           ढुङ्गाको जङ्गल चीनको दक्षिण पूर्वमा पर्ने युन्नान प्रान्तमा रहेको छ। युन्नान प्रान्तको सदरमुकाम खुन्मिङ सहरदेखि 87 किलोमिटर पूर्वमा रहेको सिलिन यी स्वायत्त काउन्टीस्थित 3 सय 50 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्यावरणीय पार्क नै ढुङ्गाको जङ्गल हो। ढुङ्गै ढुङ्गाले 3 सय 50 वर्ग किलोमिटर क्षेत्रफल ढाकेको छ। यस क्षेत्रमा जमिनमै रहेका ढुङ्गाका साना साना विरुवादेखि 50 मिटर अग्ला ढुङ्गाका रुससम्म छरिएका छन्। ढुङ्गाहरुको आकृति पनि फरक फरक छ। कुनै धरहराजस्ता चुच्ची परेका छन् भने कुनै च्याउजस्ता माथि गएर छाता आकारका छन्। पिलरदेखि स्तम्भसम्मका आकारसँगै मान्छे र विभिन्न पशुप्राणीको आकृति झल्काउने ढुङ्गाहरु पनि यहाँ छन्।

            ठाउँ ठाउँमा रहेका साना साना पानीका तलाउ र ती तलाउमा देखिएका अग्ला ढुङ्गाका प्रतिमाले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछन्। ढुङ्गाघारीका बीचमा बनाइएका फराकिला र सफा बाटो तथा बसेर थकाइ मार्ने स्थानसँगै फोटो खिच्नका लागि विभिन्न ठाउँहरु पनि निर्धारण गरिएका छन्।

             यो विश्वकै सबैभन्दा अग्लो भूभागमा रहेको पर्यावरणीय पार्क पनि हो। सन् 2007 मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचिमा राखेको छ। यो क्षेत्र चीनका ख्यातिप्राप्त पर्यटकीय स्थल मध्येको एक हो। यहाँ वार्षिक 30 लाख सदसर पर्यटकले अवलोकन भ्रमण गर्छन्।

           आजभन्दा 27 करोड वर्ष पहिले समुन्द्रबाट यसको उत्पत्ति भएको बैज्ञानिकहरुले पुष्टि गरेका छन्। लगभग बीस लाख वर्ष अगाडि समुन्द्रको पानी सुक्दै गयो र चुनढुङ्गाहरु बिल्दै गएर अहिलेको आकृतिमा रहेको वैज्ञानिकको प्रयोगशालाबाट प्रमाणित भएको सो क्षेत्रको सूचनापाटीमा उल्लेख छ।

           यसको उत्पत्तिका बारेमा स्थानीय चिनियाँहरु भने वैज्ञानिक मान्यताको साटो हजारौँ वर्ष अगाडिको आशिमा र अहेइ नामका युवायुवतीको प्रेम वियोगान्तको कथामाथि बढी विश्वास गर्छन्। यो क्षेत्र युन्नान प्रान्तको यी जातीय स्वायत्त काउन्टीमा पर्ने भएकाले यस क्षेत्रमा यी जातिका मानिसहरु धेरै छन्।

           यी जातिभित्रको एक शाखा रहेको सानी जातिकी सुन्दरी युवती आशिमा अहेइ नामका युवालाई अत्यधिक प्रेम गर्थिन्। परिवारले आशिमालाई आफ्नो प्रेमीसँग बिबाह गर्ने अनुमति दिएन। गाउँकै धनाढ्य सामन्तिको छोराले आशिमालाई अपहरण गरेर लग्यो। अहेइ पनि धनुकाँड लिएर आफ्नी प्रेमिकालाई छुटाउन गयो। अपहरणकारी र अहेइबीच तीनदिन तीनरातसम्म गीत गाउने प्रतिस्पर्धा भयो र अन्तमा अहेइले जित्यो। अहेइले आशिमालाई लिएर घर फर्कने क्रममा दुर्भाग्यवश आशिमा पानीमा डुबिन्। त्यसपछि उनी त्यही आशिमा ढुङ्गाका रुपमा बाँचिरहेकी छन् भन्ने किम्बदन्ती चीनमा हजारौँ वर्षदेखि रहँदै आएको छ। टाउकामा रुमाल बाँधेको र ढाडमा डोको बोकेको आकृतिको ढुङ्गालाई आशिमाको प्रतीक मानिन्छ। चिनियाँ पात्रो अनुसार छैटौँ महिनाको 24 औँ दिनमा यी जाति तथा यसभित्र रहेका सानी जातिले आशिमाको सम्झनामा बत्ती बाल्ने महोत्सवको आयोजना गर्दछन्।

           अहिले पनि चिनियाँ युवायुवतीका जोडीहरु स्टोन फरेस्टभित्र जाने र आशिमाको प्रतीकका रुपमा रहेको ढुङ्गा अगाडि बसेर केटाले 'आशिमा' र केटीले 'अहेइ' भन्दै आवाज निकालेर कराउने प्रचलन छ। युवायुवतीले आशिमा र अहेइलाई आफ्नो सपनाको जोडीका रुपमा लिने गर्छन्। त्यहाँ गएर आफ्ना जोडीको नाम पुकार्‍यो भने प्रेम अमर रहन्छ भन्ने विश्वास पनि छ। यही ऐतिहासिक तथा पौराणिक कथामा आधारित 'आशिमा' नाममा चीनमा थुप्रै गीति नाटक, उपन्यास, चलचित्र र पुस्तकहरु सिर्जना भएका छन्। ती सिर्जना थुप्रै विदेशी भाषामा अनुदित पनि भएका छन्।

           ढुङ्गाको जङ्गल घुमाउने पर्यटक पथ प्रदर्शक, दोभाषे र पार्कभित्र गुडाउने साना विद्युत्तीय कार चलाउनेहरु काम यी जातीय व्यक्तिहरुले मात्र गर्न पाउँछन्। सिलिन यी स्वायत्त काउन्टीभित्रका यी जातीका व्यक्तिलाई सरकारले अंग्रेजी भाषाको राम्रो प्रशिक्षण दिएको छ र उनीहरु आफ्ना परम्परागत पोशाकमा सजिएर पर्यकटलाई ढुङ्गाको जङ्गल घुमाउँदै पर्यटकलाई आशिमा र अहेइको कथा सुनाइरहेका हुन्छन्। पर्यटकले प्रवेश टिकटमै पथप्रदर्शक र दोभाषेको पनि शुल्क तिरेकाले भ्रमण र अवलोकनमा न त पर्यटकलाई कुनै झन्झट हुन्छ न त पथ प्रदर्शकलाई नै। जसरी चीन सरकारले ढुङ्गाको जङ्गल अर्थात् 'स्टोन फरेस्ट' को संरक्षण गरेको छ उसैगरी अल्प संख्यक जातिलाई विभिन्न अधिकार र स्तरवृद्धि गरी सशक्त बनाएको छ।

            पार्कभित्र ढुङ्गै ढुङ्गाका विभिन्न आकृति हेर्दा हेर्दै घन्टौँ समय बितेको पनि पत्तो हुँदैन। ढुङ्गाका आकृतिको अवलोकनले हरेक पर्यटकको मन फूल जत्तिकै प्रफुल्ल र उमङ्गित हुन्छ।

                                    साभारः कान्तिपुर दैनिक। 2071 माघ 17 गते (जनवरी 31, 2015)शनिबार।

जानकारी तथा लेखहरु
सुझाउ