![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
-अजय अलौकिक
सी चिन फिङ्गले आफ्नो कार्यकालको दोस्रो वर्षमा नै आफ्ना अधिकाँश छिमेकी मुलुकको भ्रमण गरिसक्नुभएको छ। हालको भारत भ्रमण अघि श्रीलङ्का, माल्दिव्स र त्यसअघि ताजिकिस्तान र मङ्गोलियाको पनि यसै सेप्टम्बर महिनामा भ्रमण गर्नुभएको थियो। यसै महिना पाकिस्तानको भ्रमण गर्ने कार्यक्रम भने तत्कालका लागि स्थगित भएको छ। साथै चीनका लागि नेपाली राजदूतावासका काउन्सलर रामप्रसाद सुवेदीका अनुसार सम्मानीय राष्ट्रपति डा. रामवरण यादवको तर्फबाट चिनियाँ राष्ट्रध्यक्षसमक्ष नेपाल भ्रमणको निम्तो-पत्र हस्तान्तरण गरिसकेको छ।
सी चिन फिङ्गको यस दक्षिण एशियाली मुलुकहरूको भ्रमण यी मुलुकबीच दौत्य सम्बन्धको प्रवर्द्धन, सिल्क रोडको आर्थिक क्षेत्र र एक्काइसौं शताब्दी समुद्री सिल्क रोड निर्माणमा तिव्रता दिन र चीन तथा समग्र दक्षिण एशिया सहयोगको समष्टिगत प्रारुपको स्थापना गर्न नै हो। त्यस अर्थमा नेपाल पनि अछुतो रहन सक्दैन। तर त्यसको लागि नेपालले अवश्य पनि पहल गर्दै जानुपर्छ। साथै उहाँले भारत भ्रमणको क्रममा दक्षिण एशियाली मुलुकलाई फाइदा पुग्ने ठोस नीतिको घोषणा पनि गर्नुभएको छ।
भारत भ्रमणको अवसरमा चीनको दक्षिण एशिया नीतिबारे चर्चा गर्दै सी चिन फिङले दक्षिण एशियासँग मिलेर आगामी पाँच वर्षमा दुई पक्षबीचको व्यापार मात्रालाई एक खर्ब पचास अर्ब अमेरिकी डलरसम्म उकास्ने, दक्षिण एशियामाथिको लगानी रकमलाई तीस अर्ब अमेरिकी डलरसम्म पुर्याउने र दक्षिण एशियालाई बीस अर्ब अमेरिकी डलरको सुविधाजनक ऋण प्रदान गर्न चीन इच्छुक रहेको बताउनुभएको छ। आगामी पाँच वर्ष चीनले दक्षिण एशियालाई दश हजार वटा छात्रवृत्ति अवसर, पाँच हजार वटा तालिम अवसर, पाँच हजार युवा आदान-प्रदान र तालिम अवसर, पाँच हजार चिनियाँ भाषाका गुरुलाई थप तालिम दिने अवसर प्रदान गर्ने पनि सीले जानकारी दिनुभएको छ।
मेरो आशय यति हो कि हाम्रा नीति-निर्माता, उच्च कारिन्दाहरूले बेलैमा पाइला चालोस् र दुई मुलुकका दुई अर्ब 50 करोड जनतासँगसँगै बाँकी विश्वका जनता अघि पुगनपुग तीन करोड नेपालीले पनि लाभ लिनसकुन्।
हाल तिब्बती रेलमार्ग सिगाचे पुगिसकेको अवस्था छ र यस रेलमार्गलाई नेपाल र नेपाल हुँदै भारत बङ्गलादेशसम्म विस्तार गर्न पनि सकिन्छ र यस्तै योजना पनि छ। यस सन्दर्भमा केही राज्यस्तरमा छलफल पनि भएका छन्। त्यसलाई कार्यान्वयन गर्नतर्फ नेपाली पक्षले विशेष ध्यान दिनु जरुरी छ। राष्ट्राध्यक्ष सी चिन फिङ्गले सत्ता सम्हालेपछि दक्षिण एशियाबाटै सर्वप्रथम भेट गर्ने अवसर जुटेका नेता नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग मेरो सो भेटवार्तालगत्तै अन्तर्वार्ता लिने अवसर जुरेको थियो। त्यस क्रममा उहाँले लुम्बिनीसम्म रेलमार्गको निर्माणको कुरा थपेको बताउनुभएको थियो। तर त्यो कुरा शायदै पछि उठे होलान्। या भए पनि कछुवाको गतिमा सिमित हुनुपर्छ। त्यसै बेला प्रचण्डजीले भारत तथा चीनसँग मिलेर त्रिपक्षीय रुपमा अघि बढ्नु नै सबैका लागि फाइदाजनक हुने कुरा सी चिन फिङ्गबाट व्यक्त भएको पनि बताउनुभएको थियो। त्यस हिसाबले पनि अहिलेको भारत भ्रमणमा "चीन तथा भारत दुई मुलुक दुईटा शरीर एक मुटु जस्ता हुन्।"भन्ने सीको भनाइ अर्थपूर्ण छ।
हामी एक त एकजुट हुन नसक्ने त्यसमाथि सही नै हो भने पनि एक पक्षले अर्कोको विरोध गरीहाल्ने बानी अनि दक्षिणपन्थी र वामपन्थीको रुपमा विभाजित भइ देशको अग्रगामी विकासतिर नलाग्नेका लागि यो एउटा झापड हो भन्ने मलाई लागेको छ।
कुनै बेला चीनका पूर्व नेता तङ्ग स्याउ फिङ्गले चीन तथा भारतको विकास भएपछि मात्रै साँचिक्कै "एशियाली शताब्दी" सुरु हुनसक्ने भनेका थिए भने भारतीय पूर्व नेता जवाहरलाल नेहरुले पनि यस्तै विचार राखेका थिए। पक्कै पनि त्यो घडी नजिकिएको देखिन्छ र पू्र्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भनेजस्तै विशाल दुई उदीयमान मुलुकको हामी पुलमात्र बन्नसक्यौं भने पनि यसबाट लाभान्वित हुनेछौं।
तर हाम्रा उच्चस्तरीय सरकारी कर्मचारी तथा उच्च तहका नेतामा दुरदर्शिता तथा इच्छा शक्तिको कमि भारतीय नवप्रधानमन्त्रीको नेपाल भ्रमणको बेला पनि देखिसकेका छौं। ऋण सहयोग लगायतका विविध सम्झौता केही पनि हुनसकेन। यस्ता विविध सहयोग निष्पक्ष या दुवैको हितमा हुने हो जगले बुझेको छ र यो पनि थाहा छ कि एक अर्काबीचको फाइदामा केही तलमाथि हुनसक्छ र यसलाई साझा हितको विन्दुमा ल्याउने काम देशका नीति निर्माताको हो नि। तर भएन। सकेन। र फेरि हुने होला। तर यसबाट हाम्रो विकासमात्र पछि धकेलिन्छ। किनकी हामीले लिने मात्र हो र दिनलाई छैन पनि केही। तर हाम्रा युवाशक्तिहरू दिनहुँ आआफै एक्सपोर्ट भइरहेका छन् र आवश्यक परेको खण्डमा हामीले व्यवस्थित ढङ्गले यी युवाशक्ति दिनसक्छौं। हाललाई नेपालले दिने भनेको युवाशक्ति मात्रै हो।
राष्ट्राध्यक्ष सीका अनुसार दक्षिण एशियासँग अत्याधिक निहित शक्ति छ। दक्षिण एशिया, एशिया र सारा विश्वको नयाँ शक्ति बन्ने सम्भावना छ। चीनले दक्षिण एशियाका विभिन्न मुलुकसँग अर्थतन्त्र तथा व्यापार,मानवीय आदानप्रदान आदि क्षेत्रमा आपसी प्रभावकारी सहयोगलाई सबल पार्ने आशा लिएको छ। हामी नेपालीले पनि आशा राखौं कि यी दुई छिमेकीबाट धेरै भन्दा धेरै लाभ उठाउन सकौं। यो स्तम्भकार राजनीतिकर्मी या राजनीति गर्दै हिँड्ने या वैदेशिक मामिला विशेषज्ञ होइन एक साधारण नेपालीको हैसियत राख्छ र त्यसै स्तरमा देखेबुझेका कुरा कोट्याउन खोजेको हो र विश्वको जनसंख्याको 35प्रतिशत भाग ओगटेका चिनियाँ तथा भारतीयसँगै सबैभन्दा पहिला फाइदा लिने नेपाल र नेपाली बनोस् भन्ने चाहना हो। यस पटकको दक्षिण एशियाली भ्रमणमा नेपाललाई समेट्न नसकेता पनि आउँदो वर्ष सन् 2015 चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सव हो, यसै अवसरमा हामी नेपालीले मौका छोप्नु पर्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |