![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
परम्परागत चिनियाँ पात्रोअनुसारको नयाँ वर्ष अर्थात् वसन्त चाड चिनियाँहरुको सबैभन्दा ठूलो पर्व हो। यो पर्वमा चीनमा सबैभन्दा लामो विदा पनि हुने गर्छ। नेपालमा ल्होसार मनाएजस्तै चिनियाँहरुले पनि घोडा वर्षलाई विदा गरेर यही फागुन 7 गते (फेब्रुअरी 19 तारिख) देखि भेडा वर्षसँगै चिनियाँ वर्ष 4713 भित्र्याएका छन्।
लामो समयदेखि परिवारबाट टाढा रहेका चिनियाँहरुका लागि भेट गर्ने अवसर पनि वसन्त चाड नै हो। औपचारिक रुपमा एक साताको बिदा भए पनि वसन्त चाड सुरु हुनुभन्दा केही अगाडिदेखि चालीस दिनसम्म चिनियाँहरुको यात्रा जारी रहन्छ। यो अवधिलाई चीनमा 'छुनयुन' भनिन्छ र यो अवधिमा चीनमा हवाइ टिकट र रेलको टिकट महङ्गो र प्राप्त गर्न धेरै कठिन हुन्छ। वसन्त चाडको समयमा चीनभरि यात्रा गर्ने मानवसागर चिताइ नसक्नुको हुन्छ। वसन्त चाडको चिनियाँको यात्रा नै संसारको सबैभन्दा ठूलो मानव आवतजावत हो। गत वर्षको वसन्त चाडको समयमा चीनमा विभिन्न सवारी साधन गरेर यात्रा गर्ने यात्रीको संख्या 3 अर्ब 65 करोड 20 लाख थियो। जम्मा एक अर्ब 37 करोड जनसंख्या भएको चीनमा वसन्त चाडका बेला सरदर हरेक नागरिकले तीनपटक यात्रा गर्छन्। गत वर्षको वसन्त चाडमा सडक यातायात प्रयोग गर्ने चिनियाँको संख्या 3 अर्ब 30 करोड थियो भने रेलमार्गबाट यात्रा गर्ने चिनियाँको संख्या 26 करोड 60 लाख थियो। त्यसैगरी हवाइ मार्गबाट यात्रा गर्नेहरुको संख्या 4 करोड 40 लाख र पानीजहाजबाट यात्रा गर्नेको संख्या 4 करोड 20 लाख थियो।
सन् 1984 को वसन्त चाडको अवधिमा यात्रा गर्ने चिनियाँको संख्या 50 करोड थियो। दस वर्षपछि सन् 1994 मा यो संख्या दोब्बर वृद्धि भएर एक अर्ब पुग्यो। त्यसैगरी सन् 2006 मा दुई अर्ब र सन् 2012 मा 3 अर्ब पुगेको थियो।
यो वर्षको वसन्त चाडमा यात्रा गर्ने चिनियाँको संख्या 3 अर्ब 85 करोडको हाराहारीमा पुग्ने अनुमान चीन सरकारले गरेको छ र त्यही अनुसार तयारी पनि गरेको छ। गतवर्षको तुलनामा चिनियाँ रेलवे सेवाले यसपटक दस प्रतिशत सेवा तालिका थप गरेको छ भने हवाइ सेवाहरुले पनि सोही अनुसार उडान थप गरेको घोषणा गरेका छन्।
वसन्त चाडमा सडक, गल्ली, घर, बजार, कार्यालय, विद्यालय, कलकारखाना सबैतिर लालटिन (रातो गोलाकार सजावतमा भित्रपट्टि बत्ती बालिने सामग्री) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो)ले सजाइएको हुन्छ। चिनियाँहरु यो चाडमा रातो लुगा लगाउँछन् र रातै सजावतले घर सिगाँर्छन्। हप्तादिनसम्म निरन्तर रुपमा पटका पड्काउनु र आतसवाजी गर्नु पनि चिनियाँ परम्परा हो। सरकारले वातावरण प्रदूषण हुने भनेर पटका नपड्काउन गरेको आग्रहलाई गम्भीर रुपमा नलिए पनि सरकारी तथ्याङ्कले भने विगतमाभन्दा पटका पड्काउने दर कम भएको छ। ठाउँ ठाउँमा विभिन्न मेलाहरुको आयोजना गरिएको हुन्छ। सार्वजनिक पार्कहरुमा मानिसहरुको घुइँचो छिचोल्न नसक्ने खालको हुन्छ। विभिन्न सांस्कृतिक कार्यक्रम, सर्कस, जादु, खेलहरु, एक्रोब्याटिक, प्रदर्शनी र प्रतियोगिताहरु आयोजना हुने गर्छन्। यसका साथै चिनियाँ ओपेरा, सिंह नृत्य र लौरीखुट्टी नृत्यको पनि प्रदर्शन गरिन्छ। चिनियाँहरुको वसन्त चाडको खर्च वर्षभरिको एक तिहाइ हुने भएकाले पनि यो चाड अत्यन्त खर्चिलो हुन्छ। यो अवधिमा व्यावसायिक केन्द्रदेखि कतिपय साना बजारहरु बन्द रहन्छन् भने ठूला बजारमा चाहिँ किनमेलको घुइँचो लाग्ने गर्छ।
नयाँ वर्षको अघिल्लो दिनदेखि एक साता मनाइने वसन्त चाडको परम्परागत मान्यता र अन्धविश्वास पनि घतलाग्दो छ। चिनियाँ चन्द्रमासको पात्रोअनुसार वर्षको अन्तिम दिनलाई छु सी भनिन्छ। यो रात बत्ती निभाउनुहुँदैन र चाँडै सुत्नु पनि हुँदैन। नयाँ वर्षको स्वागत गर्नका लागि घरपरिवारका सबै व्यक्तिहरु रातको 12 बजेसम्म जाग्राम बसेका हुन्छ। यो साँझ कचौरा, प्लेट, कप फुटाइयो भने त्यसलाई सबैभन्दा ठूलो अपसगुन मानिन्छ। अनि भुलेर पनि कुनै व्यक्तिलाई गाली गर्ने अथवा हप्काउने गर्नु हुँदैन। विशेष गरी बालबच्चालाई गाली गर्नु हुँदैन भन्ने विश्वास रहेको छ। यो दिन घरमा बडारकुँडार गर्ने र घरको फोहोर बाहिर फाल्ने गर्न पनि निशेध गरिएको हुन्छ। फोहोरसँगै नयाँ वर्षका लागि साँचिएको धनसम्पत्ति पनि फ्याँकिन्छ भन्ने विश्वास चिनियाँमा रहेको हुन्छ।
चिनियाँहरुको नयाँ वर्षको पहिलो दिन घर सार्नुहुँदैन। बिरामी भए पनि डाक्टरलाई देखाउनु हुँदैन। लुगाकपडा र सिरकका खोल तथा बेड कभर धुनु हुँदैन। कपाल काट्नुहुँदैन। कुराकानीका क्रममा कसैसँग पनि मृत्यु, रोग, प्रकोपका प्रसङ्ग उक्काउनु हुँदैन। यसो गरेमा वर्षभरि नै यस्तै समस्याका विषयहरु थोपरिने भएकाले राम्रा र शुभ कुराका विषयमा मात्र गफ गर्ने चिनियाँ परिपाटीमा कायम छ। अनि यो दिन रुनु पनि हुँदैन। अनि अर्को अनौठो कुरा नयाँ वर्षको पहिलो दिन विहे गरेर घर गएकी छोरी माइतिघरमा आउनु हुँदैन।
नयाँ वर्षको दोस्रो दिन वाह गरेकी छोरीले कोसेली र उपहार लिएर माइतिघर आउने चलन छ। त्यसैगरी तेस्रो दिनमा कोही पनि घरबाहिर जानुहुँदैन र आफ्ना साथीहरुलाई पनि घरमा भेट्न निमन्त्रणा गर्नुहुँदैन। चौथो दिनमा परिवारका सदस्यहरुले घरमा बसेर रमाइलो गर्छन् र पाँचौं दिनमा सबैजनाले एक हप्तादेखिको फोहोर सफा गर्ने, घर बढारकुढार गर्ने काम गर्छन्। छैटौँ दिनमा साथीहरुसँग भेटघाट गर्ने, साथीहरुकोमा जाने र आफ्नो घरमा पनि निमन्त्रणा गर्ने अनि बजार गएर किनमेल गर्ने गर्छन्। वसन्त चाडको अन्तिम दिन अथवा नयाँ वर्षको सातौँ दिन पनि सक्केसम्म घर बाहिर जानु हुँदैन भन्ने विश्वास छ।
वसन्त चाडको एक हप्ताभरि धारिलो हतियारहरु चलाउनु हुँदैन, मारकाट गर्नुहुँदैन। जनावर मार्नाले घरमा प्रकोप उत्पन्न हुने संभावना हुन्छ। तर मासु नभइ नहुने चिनियाँहरुले एक हप्ता अगाडि नै मासु किनेर फ्रिजमा राख्ने गर्छन्। उनीहरुले बजारबाट किनेर ल्याएको मासुलाई टुक्रा गर्न पनि नहुने भएकाले सबै हात हतियार लुकाएर राखेका हुन्छन्। कपाल काट्ने कैचीदेखि नङ काट्ने नेलकट पनि यो अवधिमा चलाउन पाइन्न।
वसन्त चाडका अवसरमा परिवार भेला भएर खाइने सबैभन्दा लोकप्रिय खानेकुरा 'चिआवो च' हो। यो एक प्रकारको मम हो तर पानीमा डुबाएर पकाउने गरिन्छ। वसन्त चाडमा पानीकमलको बियाँ खायो भने छोरा जन्मिन्छ भन्ने विश्वास छ। तर ताजा र सेतो तोफु खाइँदैन किनभने त्यो बेला यस्तो तोफुलाई दुर्भाग्य र मृत्युको प्रतीक मानिन्छ।
चिनियाँ भाषामा वसन्त चाडलाई 'छुन्चे' र शुभकामनालाई 'ख्वाइल' भनिन्छ। यो अवधिमा जहाँसुकै 'छुन्चे ख्वाइल' भनेको मात्र सुनिन्छ।
साभारः कान्तिपुर दैनिक। 2071 फागुन 9 गते (2015 फेब्रुअरी 21) शनिबार।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |